काठमाडौं – मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएका मोरङको लेटाङका ३७ वर्षीय पदमबहादुर राय आठ महिनापछि जीवितै घर फर्किएका छन्। गत जेठमा मृत्यु भएको ठानी अन्त्येष्टि गरिएका राय जीवितै भेटिएपछि प्रहरीले पुरानो दुर्घटनाको फाइल पुनः खोलेर अनुसन्धान अघि बढाएको छ। रायको मृत्यु भएको ठानेर परिवारले अन्त्येष्टि गरेको र त्यसका आधारमा दुर्घटना बीमा बापत पाँच लाख रुपैयाँभन्दा बढी रकम लिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार घटना सुनसरीको बराह क्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडक खण्डमा भएको दुर्घटनामा सम्बन्धित छ। यही जेठ २६ गते मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री गम्भीर घाइते भएका थिए।उपचारकै क्रममा मृत्यु भएपछि शव कोसी अस्पतालको शव गृहमा राखिएको थियो। मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो। सूचनापछि अस्पताल पुगेकी पदमबहादुरकी आमाले आफ्नै छोराको भएको बताइन्। प्रहरीले सनाखतका आधारमा आवश्यक प्रक्रिया पूरा गरेपछि शव परिवारलाई बुझाएको थियो। त्यसपछि जेठ २७ गते नै परिवारले उनको अन्त्येष्टि गरेको थियो।
प्रवक्ता खड्काले घटनाबारे सम्बन्धित परिवारका सदस्यहरू कार्यालयमा आएको र प्रहरीले अनुसन्धान अघि बढाइरहेको जानकारी दिए। उनका अनुसार घटनासम्बन्धी पुरानो मिसिल महेन्द्रनगरबाट मगाउने प्रक्रिया अघि बढाइएको छ। ‘यो विरलै हुने नयाँ प्रकृतिको घटना हो। हामीले कानुनी परामर्श पनि गरिरहेका छौँ,’ खड्काले बैंकिङ्ग समाचारसँग भने। बीमा तथा क्रिया खर्च बापत प्राप्त रकम फिर्ता गर्नुपर्ने अवस्था आउने भएकाले प्रहरीले कानुनी परामर्श गरिरहेको उनले बताए। यद्यपि, परिवारले बीमा बापत वास्तवमा कति रकम प्राप्त गरेको थियो भन्नेबारे पुरानो मिसिल प्राप्त भएपछि मात्रै यकिन हुने उनको भनाइ छ।






About Us
प्रतिक्रिया