ई–जीपी प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राउ


काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जीपी (ई–गभर्नेन्स प्रोक्योरमेन्ट सिस्टम) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

साइबर ब्यूरोका अनुसार, पक्राउ परेका व्यक्तिहरूमाथि ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेको आरोप छ। ब्यूरोमा प्राप्त निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट संलग्नता खुलेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूलाई  विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।