काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले करिब ६ महिनाको रस्साकस्सीपछि उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मानिने सुनिल देवकोटालाई सिफारिस गर्न दबाब परेको विषयले विवादमा परेको नियुक्ति प्रक्रिया अन्ततः अघि बढेको हो ।
सरकारले २०८३ वैशाख ८ गते प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र प्रधानमन्त्री सचिवालयबिचको मतभेदका कारण समितिले लामो समयसम्म नियुक्ति प्रक्रिया अघि बढाउन सकेको थिएन । स्रोतका अनुसार देवकोटाको नाम सिफारिस गर्न चर्को दबाब परेपछि अध्यक्ष नियुक्तिको प्रक्रिया नै अन्योलमा परेको थियो ।
देवकोटा यसअघि तत्कालीन गुराँस लाइफ इन्स्योरेन्स (हाल हिमालयन लाइफ इन्स्योरेन्स) को प्रमुख कार्यकारी अधिकृत तथा युनाइटेड इन्स्योरेन्स कम्पनीमा जनरल म्यानेजरका रूपमा कार्यरत थिए । तर, अर्थ मन्त्रालय स्रोतका अनुसार प्राधिकरणको अध्यक्ष हुन आवश्यक पाँच वर्षको उच्चस्तरीय व्यवस्थापकीय नेतृत्वको अनुभवसम्बन्धी योग्यता नपुग्ने देखिएपछि उनको नाम सिफारिसमा अघि बढ्न सकेन । त्यसपछि समितिले देवकोटाको नामबाहेकका उम्मेदवार समेटेर सूची तयार गरेको स्रोतको दाबी छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठित समितिमा अर्थसचिव डा. घनश्याम उपाध्याय सदस्य र बीमा विज्ञ डा. फत्तबहादुर केसी विज्ञ सदस्य छन् ।
समितिले अध्यक्ष नियुक्तिका लागि २०८३ जेठ १३ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो। उक्त पदका लागि कुल ५१ जनाले आवेदन दिएका थिए । समितिले प्राप्त आवेदनमध्येबाट कम्तीमा पाँच जनाको संक्षिप्त सूची (सर्टलिस्ट) तयार गर्नुपर्नेछ । त्यसपछि उनीहरूको कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने कानुनी व्यवस्था छ । अन्तिम तीनमध्येबाट मन्त्रिपरिषद्ले प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ ।






About Us
प्रतिक्रिया