डिजिटल भुक्तानी बढ्दा ‘पीओएस’ र एटीएम कारोबार घट्दो, विस्थापित हुँदै कार्ड प्रणाली


काठमाडौं- नेपालमा डिजिटल बैंकिङ्ग र क्यूआर कोडमार्फत हुने भुक्तानी तीव्र रूपमा बढ्दै जाँदा परम्परागत कार्ड प्रणालीमा आधारित भुक्तानी घट्दै गएको छ। विशेषगरी कोरोना महामारीयता डिजिटल भुक्तानीमा आएको तीव्र विस्तारले प्वाइन्ट अफ सेल (पीओएस) मेसिन र एटीएमबाट हुने कारोबारमा गिरावट देखिएको हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्यूआर भुक्तानी बढेसँगै कार्डमार्फत हुने कारोबार केही वर्षयता नकारात्मक दिशामा गएको देखिन्छ। डिजिटल माध्यम सहज र छिटो भएकाले उपभोक्ताहरूले कार्डभन्दा मोबाइलमार्फत भुक्तानी गर्न रुचाउन थालेका छन्। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल खर्चिलो भएका कारण बैंकहरुले शाखा रहित सेवा बन्द गर्ने गरेको बताउँछन्। ‘मोबाइल बैंकिङ्ग लगायत डिजिटल वालेटका कारण यसको प्रभावकारिता समेत घट्दो अवस्थामा पुगेको छ,’ उनले बैंकिङ्ग समाचारसँग भने।

पीओएस मेसिन प्रयोग घट्दो
व्यापारीहरूले कार्ड स्वाइप गरेर भुक्तानी लिने पीओएस मेसिनको प्रयोग घट्दै गएको छ। कुनै समय अत्यधिक प्रयोग हुने यो प्रणाली अहिले डिजिटल भुक्तानीको विस्तारसँगै विस्थापनतर्फ उन्मुख देखिन्छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म पीओएस मेसिनमार्फत ४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत वर्ष सोही अवधिमा ४ अर्ब १४ करोड रुपैयाँ र २०८० मा ४ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

पीओएस मेसिन प्रयोग गर्दा व्यापारीले १ देखि ३ प्रतिशतसम्म कमिसन तिर्नुपर्ने व्यवस्था छ। डिजिटल भुक्तानी प्रणालीमा भने यस्तो शुल्क कम वा नहुँदा व्यापारीहरू पनि डिजिटल माध्यमतर्फ आकर्षित भएका छन्। फिनटेक विज्ञ आशिष शर्माले भने, ‘जुनसुकै ठाउँबाट मोबाइलमार्फत भुक्तानी गर्न सकिने भएकाले पीओएस मेसिनको प्रयोग घटेको हो। साथै, डिजिटल प्रणालीमा कमिसनको भार कम हुने भएकाले व्यापारीहरू पनि त्यसतर्फ गएका छन्।’

उनका अनुसार नेपालमा क्रेडिट कार्डको प्रयोग पनि सीमित छ, जसका कारण पीओएस कारोबार विस्तार हुन सकेको छैन। राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म देशभर करिब ३ लाख ३० हजार क्रेडिट कार्ड मात्रै प्रयोगमा छन्।

एटीएमबाट नगद झिक्ने प्रवृत्ति पनि घट्दै
डिजिटल भुक्तानी बढेसँगै एटीएमबाट नगद निकाल्ने प्रवृत्तिमा पनि कमी आएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म एटीएमबाट ७३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो अघिल्लो वर्ष सोही अवधिको ८६ अर्ब ४७ करोड रुपैयाँभन्दा उल्लेख्य कम हो। आर्थिक वर्ष २०८० मा पनि करिब ८६ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। कारोबार रकमसँगै एटीएम कारोबार संख्या पनि घट्दो क्रममा रहेको देखिन्छ।

कारोबार घटेपनि एटीएम संख्या बढ्दो
एटीएमबाट हुने कारोबार घटे पनि देशभर एटीएम मेसिनको संख्या भने बढिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय पहुँच विस्तार गर्न विशेषगरी ग्रामीण क्षेत्रमा एटीएम थपिरहेका छन्।

सहजता, कम लागत र पहुँचका कारण डिजिटल माध्यमले बजार कब्जा गर्दै जाँदा पीओएस मेसिन र एटीएम प्रणाली भविष्यमा अझै चुनौतीमा पर्ने संकेत देखिएको छ।

राष्ट्र बैंकका अनुसार ०७९ माघसम्म ४ हजार ६ सय ९२ वटा एटीएम मेसिन रहेकोमा ०८२ माघसम्म बढेर ५ हजार २ सय ७३ पुगेको छ। शहरी क्षेत्रमा भने कम प्रयोग हुने एटीएमहरू समायोजन गर्ने क्रम पनि जारी छ। केन्द्रीय बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै एटीएमबाट नगद झिक्ने सीमा घटाएको छ। यसले पनि एटीएम कारोबार घटाउन थप योगदान दिएको देखिन्छ।

नेपालमा डिजिटल भुक्तानी प्रणाली तीव्र रूपमा विस्तार हुँदै जाँदा कार्ड र नगदमा आधारित परम्परागत भुक्तानी प्रणालीहरू क्रमशः कमजोर बन्दै गएका छन्। सहजता, कम लागत र पहुँचका कारण डिजिटल माध्यमले बजार कब्जा गर्दै जाँदा पीओएस मेसिन र एटीएम प्रणाली भविष्यमा अझै चुनौतीमा पर्ने संकेत देखिएको छ।

डेबिट कार्डबाट हुने कारोबारमा गिरावट
गत असोजमा नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको थियो। केन्द्रीय बैंकले डिजिटल भुक्तानीलाई जोड दिन नै डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको हो। डेबिट कार्डबाट प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइने व्यवस्था छ।

०७७ देखि हालसम्म ९ सय ८ वटा शाखा रहित बैंकिङ्ग सेवा बन्द भएका छन्। बैंक तथा वित्तीय संस्थाहरुले शाखा रहित बैंकिङ्ग सेवा खर्चिलो बन्दै गएको भन्दै यसको संख्या घटाउन थालेका हुन्।

केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएसँगै यसबाट हुने कारोबारमा समेत गिरावट आएको छ। गत असार मसान्तसम्ममा डेबिट कार्डबाट ९७ अर्ब ६३ करोड कारोबार भएकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ७५ अर्ब ५५ करोड मात्रैको कारोबार भएको हो। यही तथ्यांकले पनि चालु आर्थिक वर्षको ७ महिनामा डेबिट कार्डबाट हुने कारोबारमा उल्लेख्य गिरावट आएको देखिन्छ।

गत वर्ष २०८१ को माघ मसान्तसम्ममा ८८ अर्ब ७९ करोड बराबरको कारोबार भएको थियो। २०८० को माघ मसान्तसम्ममा ८९ अर्ब ७४ करोड बराबरको कारोबार भएको थियो। लगातार रुपमा डिजिटल बैंकिङ्गको बढ्दो प्रयोगले डेबिट कार्डबाट गरिने कारोबार घटेको देखिएको हो।

कारोबारसँगै घट्दैछ ब्रान्चलेस बैंकिङ्ग सेवा
चालु आर्थिक वर्षको माघ महिनासम्ममा १ अर्ब ६७ करोड शाखारहित बैंकिङ्गबाट कारोबार भएको छ। २०८१ माघ मसान्तसम्ममा १ अर्ब ७२ करोड बढीको कारोबार भएको थियो।खासगरी, दूरदराज र शाखा नभएका क्षेत्रमा एजेन्ट मार्फत नगद जम्मा, झिक्ने, रेमिट्यान्स, बिल भुक्तानी जस्ता कामका लागी शाखारहित सेवा प्रयोग गरिन्छ। शाखा रहित सेवाले वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । तर डिजिटलाइजेसनसँगै यसको आवश्यकता घट्दै गएको हो।

कारोबार मात्रै नभई शाखारहित बैंकिङ्ग सेवा पनि घटिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७७७ वटा रहेको छ। जबकी, २०७७ मा यस्तो संख्या १ हजार ६ सय ८५ रहेको थियो। २०७७ देखि हालसम्म ९ सय ८ वटा शाखा रहित बैंकिङ्ग सेवा बन्द भएका छन्। बैंक तथा वित्तीय संस्थाहरुले शाखा रहित बैंकिङ्ग सेवा खर्चिलो बन्दै गएको भन्दै यसको संख्या घटाउन थालेका हुन्।