काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा पुगेसँगै राष्ट्र बैंकका दुई पूर्वअधिकारीबीचको प्रतिस्पर्धाले विशेष चर्चा पाएको छ। एकातिर पुँजी बजारमाथि विद्यावारिधि गरेका अनुसन्धानमुखी विज्ञ डा. गोपाल प्रसाद भट्ट छन् भने अर्कोतिर सेबोन र नेप्से दुवैको सञ्चालक समितिमा बसेर प्रत्यक्ष काम गरिसकेका मुकुन्दकुमार क्षेत्री।
दुवै जना नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। दुवैले बैंकिङ्ग नियमन, वित्तीय व्यवस्थापन र सुपरिवेक्षण क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बटुलेका छन्। तर उनीहरूको व्यावसायिक परिचय, कार्यशैली र पुँजीबजारसँगको सम्बन्ध फरक प्रकृतिको देखिन्छ। सेबोन अध्यक्षका लागि आवेदन दिएका ४७ जनामध्ये छनोट समितिले अन्तिम चार जनाको सूची सार्वजनिक गर्दा यी दुई नाम सबैभन्दा बलिया दाबेदारका रूपमा अगाडि आएका हुन्। मैदानमा सेबोनकै दुई क्याडरहरू पनि प्रतिस्पर्धामा छन्। यद्यपि राष्ट्र बैंककै पृष्ठभूमिबाट आएका यी दुई प्रतिस्पर्धीहरूको हामीले तुलनात्मक विश्लेषण गरेका छौं।
पुँजी बजार अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ । लगानीकर्ता संरक्षण, इनसाइडर ट्रेडिङ नियन्त्रण, ब्रोकर प्रणालीको आधुनिकीकरण, वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा ल्याउने नीति, नयाँ वित्तीय उपकरणको विकास र नियामकीय विश्वसनीयता पुनः स्थापना प्रमुख चुनौती हुन्। यही सन्दर्भमा डा. भट्टको अनुसन्धानमुखी र नीतिगत सुधारमा केन्द्रित पृष्ठभूमिलाई एक थरीले उपयुक्त मानिरहेका छन्। अर्कोतर्फ सेबोन र नेप्सेको आन्तरिक संरचना बुझ्ने क्षेत्रीको प्रत्यक्ष अनुभवले कार्यान्वयन क्षमतामा बल पुर्याउन सक्ने तर्क पनि छ।
पुँजी बजारमै पिएचडी गरेका डा.भट्ट
डा. गोपाल प्रसाद भट्टको परिचय राष्ट्र बैंकका अनुभवी नियामक मात्र होइन, पुँजी बजारका अनुसन्धानकर्ताका रूपमा पनि छ। राष्ट्र बैंकमा कार्यरत रहँदा उनले बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग र मानव संसाधन व्यवस्थापन विभागजस्ता महत्त्वपूर्ण विभागको नेतृत्व सम्हालेका थिए। उनको सबैभन्दा ठुलो विशेषता भनेको पुँजी बजारसँग सम्बन्धित शैक्षिक अध्ययन हो। उनले ‘नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ विषयमा विद्यावारिधि गरेका छन्। साथै, शेयर बजार र आर्थिक वृद्धिबीचको सम्बन्धबारे उनको अनुसन्धान सेबोनको जर्नलमा प्रकाशित भइसकेको छ।
भट्टको अध्ययनले नेपालको पुँजी बजार आर्थिक वृद्धिसँग जोडिए पनि अझै कमजोर र संरचनागत समस्याबाट ग्रसित रहेको निष्कर्ष निकालेको थियो। यही कारण उनी पुँजी बजारलाई दीर्घकालीन संस्थागत सुधार, लगानीकर्ता संरक्षण र वास्तविक क्षेत्रका कम्पनीहरूको सहभागितासँग जोडेर हेर्ने विज्ञका रूपमा चिनिन्छन्। हाल उनी विभिन्न विश्वविद्यालय र कलेजमा लगानी व्यवस्थापन, सुरक्षा विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर तथा एक्विजिसन र कर्पोरेट पुनर्संरचनाजस्ता विषय अध्यापन गरिरहेका छन्।

क्षेत्रीसँग सेबोन र नेप्सेमा सञ्चालकको अनुभव
मुकुन्दकुमार क्षेत्रीको बलियो पक्ष भनेको पुँजी बजारका नियामक निकायहरूसँगको प्रत्यक्ष संलग्नता हो। चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत रहेका क्षेत्रीले राष्ट्र बैंकमा वित्तीय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग र सूचना प्रविधि विभागको नेतृत्व गरेका थिए। ३० वर्ष सेवा पूरा गरेर उनी २०८१ चैतमा अवकाश भएका हुन् । तर, उनलाई अन्य उम्मेदवारभन्दा फरक बनाउने पक्ष भनेको सेबोन र नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुवै संस्थामा सञ्चालकका रूपमा काम गरेको अनुभव हो।
रमेश हमाल अध्यक्ष रहेका बेला क्षेत्री राष्ट्र बैंकको प्रतिनिधिका रूपमा सेबोनको बोर्ड सदस्य थिए । त्यस्तै, उनले नेप्सेको सञ्चालक समितिमा समेत बसेर दोस्रो बजारको सञ्चालन, नीतिगत चुनौती र बजार संरचनालाई नजिकबाट नियालेका छन्। यस अर्थमा क्षेत्रीलाई पुँजी बजारको सिद्धान्तभन्दा बढी यसको संस्थागत र सञ्चालन पक्षको प्रत्यक्ष अनुभव भएको व्यक्तिका रूपमा हेरिन्छ।






About Us
प्रतिक्रिया