बैंकहरुले कर्मचारीलाई बढी काममा लगाउन नपाउने, बढी काम लगाए ‘ओभर टाइम’


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरुलाई कार्यलय समय भन्दा बढी काममा लगाउन नपाइने बताएको छ। केन्द्रीय बैंकले सर्कुलर नै जारी गरेर अतिरिक्त कार्यालय समय सम्बन्धमा नयाँ व्यवस्था गरेको हो।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले बढी समय काम गर्नुपरेको गुनासो गर्दै आएका थिए। केन्द्रीय बैंकले बैंकका कर्मचारीको गुनासोलाई सम्बोधन गर्दै बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी काममा लगाउनु पर्ने बताएको हो।

यस्तै, केन्द्रीय बैंकले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त परिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने बताएको हो। अबदेखि बैंकका कर्मचारीले बढी समय काम गरे ‘ओभर टाइम’ पाउने छन्।

यस्तै, बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने समेत उल्लेख छ।