काठमाडौं – बैंकिङ्ग क्षेत्रमा हुने रकम हिनामिना तथा घोटाला प्रकरणमा कर्मचारीकै संलग्नता देखिन थालेको छ। पछिल्ला अनुसन्धानहरूले उच्च तहका पदाधिकारीहरू नै संलग्न भएर बैंकको रकम दुरुपयोग गरेको तथ्य खुल्न थालेको छ। गत चैत २ गते जिल्ला प्रहरी कार्यालय मोरङमा सिटिजन्स बैंकले जाहेरी दिएको थियो। बैंकभित्र झन्डै ५ करोड रुपैयाँ हिनामिना भएको भन्दै अनुसन्धान र कारबाहीका लागि बैंकले उजुरी दिएको हो।
प्रहरीले उजुरी आउने बित्तिकै प्रारम्भिक अनुसन्धान गर्दा विराटनगरको कञ्चनबारीस्थित सिटिजन्स बैंक शाखामा झन्डै ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको तथ्य फेला पारेको थियो। प्रहरीले उजुरी आएको दिनदेखि नै घटनालाई गम्भीरतापूर्वक लिएर बैंकबाट आवश्यक कागजातहरू समेत सोही दिन संकलन गरेको थियो। बैंकले रकम घोटाला भएको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मोरङले सक्रिय रूपमा घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालले बैंकिङ्ग समाचारलाई बताए।
यस रकम हिनामिना प्रकरणमा बैंककै कर्मचारीको संलग्नताले घटनाले थप मोड लिएको छ। बैंकको शाखा सञ्चालनको सम्पूर्ण अधिकार प्राप्त गरेकी अपरेसन इन्चार्ज रोजी कँडेलको प्रमुख भूमिका देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कँडेलले आफ्नो अधिकार र पदको दुरुपयोग गर्दै नभएको कारोबार देखाएर फेक ट्रान्जेक्सन गरेको बैंकका सूचना अधिकारी नारायण राज अधिकारीले बताए। उनका अनुसार बैंकले शाखाको सञ्चालनसम्बन्धी अधिकांश अधिकार रोजीलाई दिएको थियो र सोही अधिकारको दुरुपयोग भएको हो।
बैंकको लेखा परीक्षणका क्रममा हिसाब नमिलेपछि बैंकले पैसा फिर्ता गराएर आन्तरिक रूपमा नै प्रकरण मिलाउन खोजेको थियो। तर, बैंकले दिएको समयभित्र रकम फिर्ता नभएपछि बैंकले प्रहरीमा उजुरी दिएको हो। बैंकका सूचना अधिकारी अधिकारीका अनुसार उनलाई जागिरबाट पनि बर्खास्त गरिसकिएको छ। घोटाला प्रकरणकी मुख्य योजनाकार कँडेललाई उच्च अदालत विराटनगरले पक्राउ आदेश दिएको छ।
बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङले अनुमति मागेपछि उच्च अदालतले पक्राउ आदेश दिएको अदालतका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए। उनकाअनुसार बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा पक्राउ अनुमति उच्च अदालतबाट लिनुपर्ने व्यवस्था भएकाले प्रहरीले अनुमति मागेको थियो। बैंकले नै सम्पूर्ण अधिकार दिएको कर्मचारीबाट यति ठूलो नोक्सानी ब्यहोर्नुपर्ने अवस्थाले सिटिजन्स बैंक मात्रै नभई अन्य बैंकहरू पनि चनाखो बनेका छन्। बैंकजस्तो संवेदनशील क्षेत्रमा आफ्नै कर्मचारीबाट ठूलो रकम घोटाला भएपछि कर्मचारीमाथिको विश्वाससमेत कमजोर हुने बैंकिङ्ग क्षेत्रका विज्ञहरू बताउँछन्।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भूवन दाहाल बैंकमा कर्मचारी नियुक्तिमा पर्याप्त सावधानी नअपनाउँदा केही कर्मचारीहरूको संलग्नतामा बारम्बार पैसा अपचलन हुने गरेको बताउँछन्। उनका अनुसार बैंकहरूले विशेष नीति लागू गरेर समय–समयमा कर्मचारीको आम्दानी र खर्चको विवरण मूल्यांकन गर्नुपर्ने, जिम्मेवारी हेरफेर र सरुवा नियमित गर्नुपर्ने हुन्छ। ‘बैंकका शाखाका सबै कर्मचारी मिलेर रकम अपचलन गर्ने अवस्था आएमा एउटा शाखामा कम्तीमा एक जना बाहिरी व्यक्ति (स्वतन्त्र कर्मचारी) राख्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने।
बैंकिङ्ग अपराधमा बैंककै कर्मचारी मुछिएका प्रकरण
बैंकका कर्मचारीले नै बैंकको पैसा घोटाला गरेको विषय नयाँ भने पक्कै होइन। वाणिज्य बैंकदेखि विकास बैंकसम्मका विभिन्न घोटाला प्रकरणमा बैंककै कर्मचारीहरूको संलग्नता रहने गरेको पाइएको छ। विभिन्न सरकारी प्रतिवेदनहरूले समेत बैंकिङ्ग कसुरसम्बन्धी अपराधमा बैंकका कर्मचारीकै बढी संलग्नता हुने गरेको तथ्य देखाउँदै आएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अध्ययनले पनि धेरैजसो बैंकिङ्ग कसुरका अपराधमा बैंक कर्मचारीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहने गरेको देखाएको छ।
सीआईबीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८० सम्मका २० वटा प्रमुख बैंकिङ्ग कसुर मुद्दामा ५० जना बैंक कर्मचारी र १० जना सञ्चालक संलग्न थिए। यस्ता मुद्दामा कुल १०४ जना पक्राउ परेका थिए, जसमध्ये आधाभन्दा बढी बैंककै कर्मचारी थिए। सीआईबीको यस तथ्यांकले पनि आफूले काम गर्ने संस्थामा आफ्नो पदको दुरुपयोग गर्ने कर्मचारीहरू प्रशस्त रहेको पुष्टि गर्छ।
महालक्ष्मी विकास बैंकको २ करोड ८४ लाख अपचलन
गत साउनमा महालक्ष्मी विकास बैंकका कर्मचारीले बैंकको भल्टमै राखिएको २ करोड ८४ लाख रुपैयाँ अपचलन गरेको तथ्य बाहिरिएको थियो। दार्चुलास्थित शाखाको भल्टमा राखिएको उक्त रकम हिनामिना भएको पाइएको थियो। ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंक शाखाका चार कर्मचारी पक्राउ परेका थिए। बैंकको उजुरीका आधारमा शाखा प्रबन्धक सागर शाहीसहित निर्मला साउद, धनञ्जय पन्त र अम्बादत्त पन्तलाई प्रहरीले पक्राउ गरेको थियो।
बैंकको प्रारम्भिक अनुसन्धानबाट कर्मचारीहरूले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म ‘वान एक्स बेट’ मा बैंकको पैसा लगाएको खुलेको थियो। चारै जनाको मिलेमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरूलाई निलम्बन समेत गरेको थियो। उनीहरूले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले रकम हिनामिना गरेको पाइएको थियो। बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पुष्टि भएपछि बैंकिङ्ग कसुरमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
यतिमात्रै नभई २०७७ सालमा पनि बैंकिङ्ग कसुर मुद्दामा महालक्ष्मी विकास बैंकका तीन जना शाखा प्रबन्धक तथा पूर्वप्रबन्धक पक्राउ परेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकका विभिन्न शाखाका प्रबन्धक र पूर्वप्रबन्धकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक स्मृति राना, शाखा प्रबन्धक पिङ्कु पालिखे र शाखा प्रबन्धक अनिशसिंह सिँजापति रहेका थिए। उनीहरूले ऋणीसँग मिलेमतो गरी कम तौलका सुनका गरगहना बढी तौलको देखाई अत्यधिक मूल्याङ्कन गरेर बढी ऋण लिएको र हालसम्म साँवा–ब्याज नतिरेको खुल्न आएको थियो। यसबाट बैंकलाई ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ नोक्सानी पुगेको थियो।
नेपाल बैंकका दुई घोटाला प्रकरण
सरकारी स्वामित्वको नेपाल बैंकका तत्कालीन अध्यक्ष डा। चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारका अनुसार रुपन्देहीको सिद्धार्थनगर–१ बेलहियास्थित भुसाल हस्पिटालिटी अन्तर्गतको रेडिसन होटल परियोजनाका लागि नेपाल बैंकबाट १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७ सय ६६ रुपैयाँ ऋण सहजीकरण गरिदिने भन्दै उनले नगद १९ लाख रुपैयाँ घुस लिएका थिए । आयोगले गत जेठ २६ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।
सोही प्रकरणमा अधिकारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। जसमा खुस नसिब अन्सारी (लक्की), अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसाल रहेका थिए।यतिमात्र नभई २०७७ सालमा नेपाल बैंककै डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालाविरुद्ध ५४ लाख ८४ हजार ४५ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। कोइरालाले बैंकको टेलर आईडी र सिस्टम सुपर युजरको प्रयोग गरी उक्त रकम आफ्नो खातामा ट्रान्सफर गरेको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको थियो। अख्तियारले भ्रष्टाचारजन्य कसुर गरेको भन्दै ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा विगो भराउन विशेष अदालतलाई आग्रह गरेको थियो।
कृषि विकास बैंकको ४ करोड घोटाला प्रकरण
अर्को सरकारी स्वामित्वको कृषि विकास बैंकका कर्मचारीले पनि ४ करोडभन्दा बढी रकम हिनामिना गरेको प्रकरण सार्वजनिक भएको थियो। २०७४ सालमा बैंकको न्यूरोड शाखाका कर्मचारीहरूले ४ करोड ९१ लाखभन्दा बढी रकम हिनामिना गरेका थिए। शाखाको सम्पूर्ण जिम्मेवारी पाएका शाखा प्रबन्धकको संलग्नतामै उक्त रकम हिनामिना भएको अनुसन्धानबाट खुलेको थियो।बैंकको न्यूरोड शाखामा कार्यरत शाखा प्रमुख गोपाल गिरी, कर्जा विभाग प्रमुख महेश्वर मरहठ्ठा, सहायक टेलर दीपिका रेग्मी, रमेश विष्ट, शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, सलिल रेग्मी, तारानाथ पाण्डे र प्रकाश घतानीविरुद्ध रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको थियो।
भ्रष्टाचार गरी रकम हिनामिना गरेको कसुरमा विशेष अदालतले टेलर दीपिका रेग्मीलाई ८ वर्ष कैद सजाय सुनाएको थियो भने ३ करोड ९२ लाख ४४ हजार ७ सय ४७ रुपैयाँ जरिवाना तोकेको थियो । रमेश विष्टलाई ४ वर्ष कैद र ३१ लाख ६८ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। घोटाला अनुसन्धानका क्रममा सीआईबीको टोलीले सहायक टेलर रेग्मी र थापालाई पक्राउ गरेको थियो।
राष्ट्रिय वाणिज्य बैंकको १ करोड घोटाला प्रकरण
सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले २०७७ सालमा सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरण पनि सार्वजनिक भएको थियो। सो प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको थियो। उनले १ करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धानका क्रममा कागजात किर्ते प्रकरण खुल्दै गएपछि प्रबन्धक शाही पक्राउ परेका थिए।
एभरेष्ट बैंकको १ करोड ५० लाख चोरी प्रकरणमा कर्मचारीकै संलग्नता
इटहरीस्थित एभरेष्ट बैंक शाखाबाट २०८० सालमा १ करोड ५० लाख रुपैयाँ चोरी भएको प्रकरणमा पनि बैंककै कर्मचारीको संलग्नता देखिएको थियो। ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको थियो। प्रहरी अनुसन्धानबाट बैंकका कर्मचारीहरूले ग्राहकहरूको कनेक्ट आईपीएसको आईडी र पासवर्ड प्रयोग गरेर रकम स्थानान्तरण गर्ने गरेको खुलेको थियो।
चोरीमा संलग्न भएको आरोपमा प्रहरीले इटहरी शाखा प्रबन्धक विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इन्चार्ज निरज प्रधान, इटहरी शाखाका सुपरभाइजर धावा लामा, कनिष्ठ सहायक मनोज घिमिरे, देवराज शर्मा, रञ्जित पण्डित, टेलर पवित्रा कटुवाल, शंकर भुजेल र अजय खिउजूलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार प्रधानको योजनामा पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत १ करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको थियो भने नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको थियो।
सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला
सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन सीईओको संलग्नतामा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन भएको प्रकरण पनि सार्वजनिक भएको थियो। सो प्रकरणमा तत्कालीन सीईओ नविन सुवेदी, लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी)प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरी कारागार चलान गरिएको थियो। बैंकका अपरेसन प्रमुख अमित थापा मगर पनि पक्राउ परेका थिए। सुवेदीको योजनामा बैंकबाट उक्त रकम अपचलन भएको आरोपमा बैंकका ९ जना कर्मचारी र ३ जना खातावाला गरी १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालतमा बैंकिङ्ग कसुर मुद्दा दर्ता गरिएको थियो।



About Us
प्रतिक्रिया