काठमाडौं – भक्तपुरको खरिपाटीस्थित सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण गर्न सरकारका पाँच मन्त्री पुगेका छन्। कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरूलाई खरिपाटी सारिएको थियो।
होल्डिङ सेन्टरको अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादवलगायत मन्त्रीहरूको टोली खरिपाटी पुगेको हो। मन्त्रीहरूले त्यहाँ रहेका परिवारसँग भेटघाट गर्दै उनीहरूको बसोबास, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत सेवासम्बन्धी अवस्थाबारे जानकारी लिएका छन्।
हालैको वर्षापछि कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीहरूलाई अस्थायी रूपमा खरिपाटी सारिएको थियो। तर नयाँ स्थानमा पनि पर्याप्त पूर्वाधार, खानेपानी, सरसफाइ तथा अन्य आवश्यक सेवाको अभाव रहेको भन्दै प्रभावितहरूले गुनासो गर्दै आएका छन्।
सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने दायित्व सरकारको भए पनि अस्थायी स्थानान्तरण र अव्यवस्थित बसोबासका कारण उनीहरू झन् समस्यामा परेको भन्दै सरकारको आलोचना भइरहेको छ। विभिन्न सुकुम्बासी अधिकारकर्मी तथा सरोकारवालाहरूले उचित आवास र सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
मन्त्रीहरूको निरीक्षणपछि सरकारले होल्डिङ सेन्टरमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने अपेक्षा गरिएको छ।






About Us
प्रतिक्रिया