सकियो मितेरी सहकारी अपचलनको अनुसन्धान, क्रिप्टो र हुण्डी कारोबारसहितको मुद्दा दर्ता गर्ने तयारी


काठमाडौं –मितेरी बचत तथा सहकारीको रकम अपचलनको अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी)ले ललितपुरको महालक्ष्मीस्थान सञ्चालित सहकारी अपचलनसम्बन्धी अनुसन्धान अन्तिमचरणमा पुर्याएको हो ।

अनुसन्धानबाट सहकारीको १४ करोड रुपैयाँ अपचलन भएको खुल्न आएको थियो । केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता युवराज खड्काका अनुसार यस सहकारीको रकम अपचलनमा ब्युरोले तीन जना मुख्य योजनाकारलाई पक्राउ गरी अनुसन्धान गरिसकेको छ ।

सहकारीको रकम अपचलनमा सीआइबीले सुरुमा ज्योति बहादुर भण्डारीलाई पक्राउ गरेको थियो । उनलाई प्रहरीले कम्बोडियाबाट उनलाई इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल ल्याइएको थियो । सीआइबीले भण्डारीकै बयानका आधारमा सुरेश अधिकारी र सुवास खत्रीलाई पक्राउ गरेको थियो ।

उनीहरू विरुद्ध प्रहरीले ठगी, हुण्डी, अभौतिक मुद्रा र संगठित अपराधमा अभियोजन गर्नुपर्ने राय दिनेगरी अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ । भण्डारीले क्रिप्टो करेन्सीको पनि कारोबार गरेको भेटिएको छ । भण्डारीले नागरिकता र पासपोर्ट किर्ते गरेको हुनाले किर्ते मुद्दामा पनि अभियोजन गर्नुपर्ने देखिएका सीआईबीले जनाएको छ ।

नागरिकता र पासपोर्ट नै किर्ते समेत गरेका भण्डारी पक्राउ गरेपछि अनुसन्धानकाक्रममा नाम जोडिएपछि पक्राउ गर्न जाँदा खत्रीले मोबाइल नै फुटाएका थिए । अनुसन्धानका क्रममा भण्डारीले बोक्ने राहदानीको नम्बर १०५४८६८८ रहेको जसमा १५८८३ नम्बरको नागरिकतामा जन्मस्थान कास्की रहेको र अर्को राहदानीको नम्बर ११३६४६९१ रहेको त्यसमा १४८०३ नागरिकता नम्बर भेटिएको थियो ।

सो घटनापछि प्रहरीले खत्रीमाथीको निगरानी झनै कडा गर्यो । ‘अनुसन्धानबाट भेटिएका विषयहरुमाथि आज गहन छलफल भइरहेको छ,’ अनुसन्धानमा सहभागी एक प्रहरीले बैंकिङ्ग समाचारसँग भने, ‘कसले कति रकम अपचलन गरेको विषय समेत छलफल भइरहेको छ ।’

अनुसन्धान अन्तिम चरणमा रहेकाले प्रहरीले यही साताभित्र सरकारी वकिलको कार्यालयमा मुद्धा दायर गर्ने तयारी अघि बढाइसकेको छ । यही प्रकरणमा भण्डारीलाई भियतनामबाट पक्राउ गरेर ल्याएको ५६ दिन पुरा भइसकेको छ । ‘लामो समयदेखि हामिले अनुसन्धान गरिरहेका छौं,’ ती प्रहरीले भने, ‘यसक्रममा हामिले दिनहुँ नयाँ तथ्य भेट्टाइरहेका छौं ।’

यता प्रहरीले उजुरीको समय समेत बन्द गरेको छैन । सुरुवातमा तोकिएकोमध्ये अझै ४ दिन समय उजुरीका लागि बाँकी छ । यसक्रममा थप उजुरी आएमा त्यसलाई समेत प्रमाणकारुपमा कार्यालयमा बुझाउने तयारी प्रहरीको छ ।

अहिलेसम्मको अनुसन्धानले भण्डारीले सहकारीका सबै पदाधिकारीहरुको रकम ठगेका छन् । अध्यक्ष, उपध्यक्ष, सचिव, कोषाधक्ष र सदस्य सबैबाट रकम उठाएर ठगेको अनुसन्धाका क्रममा खुलेको छ । यसबोहक उनले कर्मचारीहरुको रकम पनि ठगेका थिए । उनले बचतकर्ताको रकम फिर्ता गर्ने योजना सुनाउँदै कर्मचारीबाट रकम उठाएर देश नै छाडेका थिए ।

पक्राउ परेका ३ जनाहरुले सहकारीको रकम अपचलन गरेर हुण्डीमार्फत थाइल्याड र कम्बोडीया रकम पठाएको समेत खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेका सुवास खत्री नेपालमै सबैभन्दा धेरै हुण्डी कारोबार गर्नेमध्ये हुन् । खत्रीले नै सहकारीबाट ठगेको रकम ती देशहरुमा पठाउँदै आएको अनुसन्धानले देखाएको छ ।

त्यस्तै, भण्डारी लगायत अन्य व्यक्तिहरुको क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको अनुसन्धाले देखाएको छ । उनीहरुले व्यक्तिगत खाता नै खोलेर क्रिप्टोमा लगानी गर्दै आइरहेका थिए ।

यसरी भएको थियो ‘कनेक्सन’

ज्योती गुरुङ र ज्योती भण्डारीको सुरुदेखि नै चिनजान भने थिएन । गरुङलाई भण्डारीले फेसबुकमा रिक्वेस्ट पठाएपछि जोडिएसँगै दुवैजनाको संलग्नतामा सहकारी ठग्न सफल भएको अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार भण्डारीले पठाएको फ्रेन्ड रिक्वेस्ट गुरुङले स्वीकार गरेपछि उनीहरूबीच नियमित कुराकानी सुरु भएको थियो ।

सुरुसुरुमा थानकोटमा भेटघाट गर्ने उनीहरु पछि पोखरा पुगेर भेट्घाट गर्न थाले । गुरुङले सहकारीका पदाधिकारीसँग सम्पर्क गराइदिएपछि ठगी प्रक्रिया अघि बढेको थियो । त्यसपछि सहकारीका सचिव कृष्ण रानाले सञ्चालन गरेको ग्लोबल आइएमई बैंकको न्यूरोड शाखामा ३१ करोड रुपैयाँ पठाएको दाबी गर्दै भण्डारीले ह्वाट्स एपमार्फत टोकन पठाएका थिए ।

उक्त रकम फिर्ता ल्याउने प्रयासमा सहकारीको अपचलन रोक्न सहकारीका सदस्य कुम्भराजले आफ्ना दुईवटा घर बेच्नुपरेको समेत खुलेको छ । प्रहरीले यस प्रकरणमा थप अनुसन्धान जारी राखेको छ । यस सहकारीको महाप्रबन्धकमा रहेकी गुरुङ अहिले पनि प्रहरीको सम्पर्कमा आईसकेकी छैनन् ।

उनी काँग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङको श्रीमती समेत हुन् । उनी २०७० सालमा सहकारीमा लेखा प्रबन्धक हुँदै महाप्रबन्धक बनेकी थिइन् । ज्योतिले २०७६ मा बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ अपचलन गरेकी थिइन् । सहकारीबाट बचतकर्ताको पैसा अपचलन भएपछि समिति नै बनाएर उनको छानबिन गरिएको थियो ।

‘मितेरी सहकारीमा प्रस्तुत रकम हिनामिना छानबिन समिति’ले २०७९ फागुन पहिलो साता बुझाएको प्रतिवेदनमा गुरुङले १२ करोड ५० लाख ठगेको उल्लेख भएको थियो । २०७६ माघबाट नै फरार रहेकी गुरुङ हालसम्म पनि सम्पर्कमा आएकी छैनन् ।

यद्यपी, पक्राउ परेका भण्डारीविरुद्ध भने प्रहरीले यस अघि नै मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४१ ठगी सम्बन्धी कसुर र परिच्छेद २५ को दफा २७३ कीत्र्ते गर्न नहुने कसुर लागेको थियो । साथै, उनीविरुद्ध जिल्ला परिसर काठमाडौंमा विभिन्न मितिमा दर्ता भएका तीन वटा ठगी मुद्दा समेत रहेको थियो ।