जेनजी आन्दोलनका ३,७९५ कैदीबन्दी अझै फरार: पर्खाल नाघ्नेदेखि सुरुङ खनेर पनि भाग्छन् अपराधी

एकाध घटनाकै भरमा कारागारको समग्र सुरक्षा व्यवस्थापनलाई कमजोर भन्न हतारो हुन्छ: कारागार प्रशासन


काठमाडौं – नेपालमा कैद सजाय भुक्तानी गरिरहेका कैदी बन्दीहरू बेलाबेलामा कारागारबाटै भाग्ने गरेका छन्। कारागार प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै आएको दाबी गरेपनि विभिन्न समयमा कैदी बन्दीहरू भाग्न सफल भएका घटनाले भने सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। 

नेपालका कारागारबाट सबैभन्दा बढी कैदीबन्दी एकै पटक फरार भएको घटना ०८२ भदौ २४ गते भएको थियो। उक्त घटनाले देशभरका कारागारको सुरक्षा प्रणालीमाथि व्यापक बहस सिर्जना गरेको थियो। जेनजी आन्दोलनको समयमा मात्र होइन, अन्य समयमा पनि कैदी बन्दी फरार हुने घटनाहरू दोहोरिँदै आएका छन्। कतिपय कैदी उपचारका लागि अस्पताल लगिएका बेला सुरक्षाकर्मीको निगरानी छलेर भागेका घटना छन्, केही कारागारको पर्खाल नाघेर नै फरार भएका छन् भने केहीले कारागारभित्र सुरुङ खनेर फिल्मी शैलीमा फरार भएका छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार देशभरमा ७५ वटा कारागारहरू रहेका छन्। ती कारागारमा लगभग २७ देखि २८ हजार कैदी बन्दीहरू रहेका छन्। त्यसबाट कसुरदार ठहर भएका एक–दुई जनाबाट कारागारबाटै भाग्ने कसुर हुने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘सोही एक–दुई वटा घटनाका आधारमा नै कारागारको आम व्यवस्थापनमा कमजोरी छ कि भन्नु अलि हतारो नै गरेको हुन्छ।’

यसै क्रममा जेठ १ गते केन्द्रीय कारागारबाट पर्खाल नाघेर सपना तामाङ भागेकी थिइन्। कैद सजाय कटाइरहेकी उनी जेठ १ गते राति साढे १ बजे कारागारबाट भागेकी थिइन्। उनी अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान लगायतका कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भई जन्मकैद भुक्तान गर्दै थिइन्। प्रहरीको तीव्र खोजीबाट उनी जेठ ४ गते पुनः पक्राउ परिन्। यस घटनाले केन्द्रीय कारागारको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ र केन्द्रीय कारागारबाटै कैदी भागेपछि प्रहरी र कारागार प्रशासनले आन्तरिक रूपमा छानबिन समेत गर्याे।

यसैगरी, प्रहरीले कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बेला दुई फरक–फरक कारागारबाट दुई पटकसम्म भाग्न सफल भएका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। कपिलवस्तुका राम जैस मौर्यको अपराध र कारागारबाट भाग्ने शृङ्खला लामो समयदेखि चल्दै आएको थियो। कर्तव्य ज्यान मुद्दामा कपिलवस्तु जिल्ला अदालतको २०६३ माघ २२ गतेको फैसलाले उनलाई ५ वर्ष कैद र ०६५ माघ ६ गतेको फैसलाले २० वर्ष जन्मकैदको सजाय सुनाएको थियो। उक्त फैसलापछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि जिल्ला कारागार कपिलवस्तु पठाइएको थियो । तर, मौर्यसहित आठ जनाको समूहले ०६६ माघ १ गते राति १ बजे कारागारमा सुरुङ खनेर फिल्मी शैलीमा फरार भएका थिए।

कारागारबाट थुनुवा भागे–भगाएको उक्त मुद्दामा अदालतले सुनुवाइ गर्दै ०६८ जेठ १० गते मौर्यलाई थप २५ वर्ष ३ महिना ३ दिन कैद सजाय तोकेको थियो। यसैबिच, तत्कालीन पुनरावेदन अदालत बुटवलको ०६९ असोज १५ गतेको फैसलाले उनको कैद लगत संशोधन गर्दै कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद हुने गरी फैसला गरेको थियो। सुरुङ खनेर भागेका मौर्यलाई प्रहरीले मिति ०६८ असार १३ गते पुनः पक्राउ गर्न सफल भएको थियो। त्यसपछि उनलाई कैद भुक्तानका लागि ललितपुरको नख्खु कारागार कार्यालय पठाइएको थियो। लामो समय नख्खु कारागारमा रहेका मौर्य जेनजी आन्दोलनको फाइदा उठाउँदै पुनः त्यहाँबाट भाग्न सफल भएका थिए।

यस्तै, जिल्ला कारागार मोरङका कैदी मोहम्मद अहमद पनि उपचारका लागि अस्पतालमा लगिएको अवस्थामा भागेका थिए। जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय ठहर भई अहमद जिल्ला कारागार मोरङमा ०७९ फागुन २९ गतेबाट कैद भुक्तान गरिरहेका छन्। पेट दुख्ने बिरामी भई कोसी अस्पताल विराटनगरमा उपचार गराइरहेका उनी ०८० साउन १७ मा बिहान शौचालय जाने क्रममा भागी फरार भएका थिए। उनी अस्पतालबाट भागेको एक वर्षपछि पुनः पक्राउ परेका थिए।

साथै, जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका राजेश तिरुवाले पनि आफूलाई प्यारालाइसिस भएको भन्ने बहाना बनाई वीर अस्पतालमा भर्ना भई उपचाररत रहेको अवस्थामा ०७८ चैत २९ गते अस्पतालबाट भागी फरार भएका थिए। उनलाई प्रहरीले ०७९ वैशाख ६ मा पुनः पक्राउ गर्याे।

कारागारबाट भाग्ने घटना आन्दोलनका बेला मात्र सीमित छैनन्। कतिपय कैदी बन्दी उपचारका लागि अस्पताल लगिएका बेला सुरक्षाकर्मीको निगरानी छलेर फरार हुने गरेका छन् भने केहीले कारागारको सुरक्षा घेरा नै तोडेर भाग्ने प्रयास गरेका छन्। जेनजी आन्दोलनमा देशभरका विभिन्न कारागारहरूबाट १३ हजार ८ सय ८५ जना फरार भएका थिए। कारागार व्यवस्थापन विभागका प्रवक्ता शिव कुमार अधिकारीका अनुसार जेनजी आन्दोलन र त्यसपछि अझै ३ हजार ७ सय ९५ जना कैदी बन्दीहरू फरार नै छन्। यसअघि २०६६ साल माघ १ मा पनि आठ जना कैदीहरूले कारागारबाट सुरुङ खनेर फरार भएका थिए भने अन्य समयमा पनि कैदीहरू सजाय भुक्तान गर्दागर्दै फरार भएका छन्।

निर्देशक न्यौपानेका अनुसार, कारागार ऐन २०७९ को दफा ४९ मा कैद भुक्तानी गरिरहेको व्यक्ति कारागारबाट भाग्ने र भगाउने कार्यलाई कसुरदार मानेको छ। कारागारबाट भाग्ने र भगाउनेलाई उक्त ऐन अनुसार २ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको कानुनी व्यवस्था गरिएको छ।