साइबर ठगीको जालो तोड्न प्रहरीको नयाँ रणनीति, ‘एन्टी स्क्याम सेन्टर’ स्थापनाको प्रस्ताव


काठमाडौं – ‘तपाईँका बच्चा धेरै राम्रा छन्। उनीहरूका लागि म ५० हजार अमेरिकी डलर उपहार पठाइदिन्छु,’ आशा पोखरेल (नाम परिवर्तित) लाई गत वर्षको असारमा ह्वाट्समा म्यासेज आयो। त्योभन्दा अघि पोखरेलसँग बेल्जियममा बस्दै आएका ग्वान जिनसँग टिकटकमार्फत पहिले पनि कुराकानी हुन्थ्यो। ‘सोही चिनजानका आधारमा आफ्ना बच्चा राम्रो लागेको भन्दै उनले म्यासेज गरे,’ उनले भनिन्।

यही एउटा सन्देश, जसले पोखरेलको जिवनभरको कमाई एकैपटक रित्याइदियो। ह्वाट्सएपमा आएको सोही म्यासेजलाई विश्वास गर्दा उनको बैंक एकाउन्टमा रहेको ४० लाख ८२ हजार रुपैयाँ गुमाउनुपर्यो र यतिबेला प्रहरीको ढोका धाइरहेकी छिन्। सुरुमा टिकटकमा भएको चिनजान विस्तारै ह्वाट्सएपसम्म आइपुगेको थियो। आफूलाई बेल्जियममा बस्ने चिकित्सककारुपमा चिनाएका ती व्यक्तिले पोखरेलको मन जित्न धेरै समय लगाएनन्। जसकारण बोल्न थालेको छोटो समयमा नै ती महिलाका सन्तानको प्रशंसा गर्दै उनीहरूका लागि ५० हजार अमेरिकी डलर उपहार पठाइदिने आश्वासन दिए।

तर, त्यो ठूलो धनराशीको उपहार कहिल्यै पोखरेलको हातमा कहिल्यै आएन। बरु ५० हजार डलरमाथि थप अरु रकम थप्दै जानुपर्यो र अन्त्यमा प्रहरी चौकी नै पुग्नुपर्यो। विदेशबाट पैसा पठाउन बैंकमा शूल्क लाग्ने भन्दै ती व्यक्तीले पोखरेलसँग धमाधम रकम माग्न थाले र सुरुमा ३४ हजार रुपैयाँ लगे। त्यसपछि पनि फेरी विभिन्न बहानामा उनीसँग पैसा माग्दै कूल ४० लाख रुपैयाँभन्दा बढी रकम कुम्ल्याए।

त्यसक्रममा हरेक पटक पैसा माग्ने नयाँ बहाना र नयाँ खाता नम्बर दिइन्थ्यो। सरकारी वकिल कार्यालयमा दायर मुद्दाअनुसार शान्ता देवी लिम्बु, भुवन कुमार श्रेष्ठ, रोशनी गन्धर्व र अनमोल श्रेष्ठका बैंक तथा डिजिटल वालेट खातामा विभिन्न चरणमा रकम गइरह्यो। यसरी जम्मा गरिएको रकम ४० लाख ८२ हजार रुपैयाँ पुगिसकेको थियो। यति ठूलो रकम बुझाइसकेपछि पनि थप रकम मागिएपछि मात्र पीडितलाई आफू ठगिएको आशंका भयो र रकम फिर्ता माग्दा सामाजिक सञ्जाल र ह्वाट्सएपमा सम्पर्क गर्ने सबै व्यक्तिले उनलाई ब्लक गरे। त्यसपछि मात्रै उनी प्रहरीको शरणमा पुगिन्।

यो त एक उदाहरण मात्रै प्रहरीको साइबर ब्युरोमा साइबर ठगीका घटनामा दैनिक १०० वटा भन्दा बढी उजुरी आउने गर्छन्। साइबर ब्युरोको तंथ्याकअनुसार, गत आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधका २० हजार ५२६ उजुरी परेको छ। आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ वटा र आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धी उजुरी परेको थियो। बढ्दै गइरहेको साइबर ठगीका घटनामा अनुसन्धान गर्न प्रहरीले ‘एन्टी साइबर स्क्याम सेन्टर’ स्थापना गर्न लागेको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की बताउँछन्।

ब्युरोमा गत आर्थिक वर्षमा सञ्जालतर्फ फेसबुक, म्यासेन्जरको दुरूपयोगका ७ हजार १२३ वटा, टिकटकका ६ हजार ७ सय ७६ वटा, ह्वाट्सएपका ३ हजार १०५ वटा, टेलिग्रामका १ हजार ३१ वटा, इन्स्ट्राग्रामका ६ सय २८ वटा, इमेलका १ सय १४ वटा, भाइबरका २१ वटा, इमोका ३८ वटा, युट्यूबका ६४ वटा, विच्याट १४ वटा, ट्वीटरका ११ वटा, गुगलका ११ वटा, इसेवा तथा खल्ती र बैंक एकाउण्टमार्फत ठगिएको भन्दै ७ सय ४४ वटा र संस्थातर्फ ८ सय ४६ वटा उजुरी परेका छन्।

साइबर ठगी रोक्न एन्टी साइबर स्क्याम सेन्टर
महानिरीक्षक कार्कीकाअनुसार एन्टी साइबर स्क्याम सेन्टर सञ्चालनका लागि हाल करिब ३३ जना जनशक्ति आवश्यक पर्नेछ। यसमा नेपाल प्रहरी, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकसँग सम्बन्धित प्रतिनिधिको टोली रहनेछ। बैंक, प्रहरी वा दूरसञ्चार जहाँसुकै साइबर ठगीको उजुरी परे पनि तत्काल समन्वय गरी अनुसन्धान अघि बढाउने प्रणालीको उद्देश्य छ।

घटना भएको लामो समयपछि अनुसन्धान सुरु गर्दा प्रमाण संकलनमा ढिलाइ हुने भएकाले रियल टाइममा नै अनुसन्धान अघि बढाइने उनी बताउँछन्। प्रणाली सञ्चालनमा आएपछि हाल साइबर ठगीबाट पीडित भएका धेरैले समेत शीघ्र राहत पाउने अपेक्षा गरिएको उनले बताए। केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार साइबर ठगीका घटना नियन्त्रण तथा पीडितलाई तत्काल राहत दिलाउन प्रहरीले ‘एन्टी साइबर स्क्याम सेन्टर’ स्थापना गर्ने तयारी गरिरहेको छ।

त्यसका लागि अवधारणा तयार गरी गृह मन्त्रालयमा पठाइसकिएको उनले जानकारी दिए। प्रस्तावित संयन्त्रमा बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली तथा अन्य सम्बन्धित निकायलाई जोडेर साइबर ठगीसम्बन्धी उजुरी प्राप्त भएको पहिलो एक घण्टाभित्रै आवश्यक अनुसन्धान र सूचना आदानप्रदान गर्ने व्यवस्था मिलाउने लक्ष्य रहेको उनले बताए।

त्यसबाट ठगी भएको रकम अर्को खातामा स्थानान्तरण हुनुअघि नै रोक्न तथा पीडितलाई शीघ्र न्याय दिलाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा रहेको उनले बताए। प्रहरीले साइबर सचेतना कार्यक्रम विस्तार गर्नुका साथै साइबर ब्युरो तथा साइबर अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम दिने र नयाँ प्रविधिको प्रयोग बढाउने कामसमेत गरिरहेको काफ्लेले बताए।

साइबर अपराधमा संलग्न व्यक्तिमाथि कडा कारबाहीका लागि अनुसन्धान तथा अन्य कानुनी प्रक्रिया अघि बढाउने र पीडितमैत्री सेवा प्रदान गर्ने कार्यलाई पनि प्रहरीले प्राथमिकता दिएको उनले बताए। साथै, साइबर ब्युरोको नयाँ भवन निर्माणको काम अघि बढिरहेको र त्यसबाट साइबर अपराध अनुसन्धान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको उनले बताए।

प्रहरीका अनुसार घटना भएको लामो समयपछि अनुसन्धान सुरु गर्दा डिजिटल प्रमाण संकलन तथा कारोबारको ट्रेसिङमा थप समय लाग्ने गरेको छ। त्यसैले घटना भएको समयमा नै सम्बन्धित निकायबीच सूचना आदानप्रदान गरी अनुसन्धान अघि बढाउने उद्देश्यले रियल टाइममा नै अनुसन्धान गरी ठगीको रकम फिर्ता गराउने प्रयास गर्ने खोजिएको प्रहरी अधिकृत बताउँछन्।