जलवायु जोखिम व्यवस्थापनमा तथ्याङ्क र निर्णयबीचको अन्तर हटाउनुपर्ने अर्थमन्त्री वाग्लेको जोड


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम व्यवस्थापनका लागि वैज्ञानिक तथ्याङ्कलाई वित्तीय निर्णयसँग जोड्नुपर्ने बताएका छन्। उनले मौसम तथा जलवायु तथ्याङ्कको उपलब्धता मात्रै पर्याप्त नहुने भन्दै त्यसका आधारमा वित्तीय उपकरण परिचालन गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन्।

टर्कियेको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नोभेम्बर १० (२०८३ कात्तिक २४) मा आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।

युएनएफसीसीसी प्याभिलियनमा आयोजित सिस्टम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ फ्यासिलिटी सम्बन्धी कार्यक्रममा बोल्दै उनले जलवायु जोखिम न्यूनीकरणका लागि मौसमसम्बन्धी अवलोकन तथा तथ्याङ्क प्रणालीको आधारभूत संरचनामा लगानी बढाउनुपर्ने बताए।

सम्बोधनका क्रममा उनले गत अगस्ट २६ मा नेपालको उच्च हिमाली क्षेत्रमा भोटेकोशी–त्रिशूली करिडोरमाथि चट्टानी भित्तो भत्किएर लेदोसहितको बाढी आएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे।

उक्त घटनाबाट पाठ सिकाउँदै उनले नेपालसँग उपलब्ध पूर्वसूचना प्रणाली, बीमा तथा ऋण सुविधाका लागि प्रयोग हुने सूचकहरूले मुख्यतः वर्षा र नदीको सतहको तथ्याङ्क मात्र मापन गर्ने गरेको बताए। तर, उक्त विपद्मा वर्षाको तथ्याङ्कले जोखिमको पूर्वसंकेत दिन नसकेको उनको भनाइ थियो।

‘नेपाल तथ्याङ्क नभएको देश होइन। मैले औँल्याउन चाहेको अन्तर देश र उसको तथ्याङ्कबीचको होइन, तथ्याङ्क र निर्णयबीचको हो,’ उनले भने।

अर्थमन्त्री वाग्लेले जलवायु तथा मौसमसम्बन्धी अवलोकनलाई वित्तीय उपकरण परिचालनको आधारका रूपमा व्याख्या गरे। उनका अनुसार भरपर्दो तथ्याङ्क नहुँदा वित्तीय सहायता परिचालनका लागि आवश्यक ट्रिगर निर्धारण गर्न सकिँदैन। त्यसले प्यारामेट्रिक बीमाको सम्भावना कमजोर बनाउनुका साथै पूर्वव्यवस्थित वित्तीय स्रोत परिचालनमा समेत अवरोध सिर्जना गर्छ।

‘तथ्याङ्क छैन भने ट्रिगर छैन। ट्रिगर छैन भने प्यारामेट्रिक बीमा छैन। बीमा छैन भने पूर्वव्यवस्थित वित्त छैन। छ त केवल ऋणका रूपमा आउने वित्त। महँगो ऋण,’ उनले सम्बोधनमा भने।

उनले जलवायुजन्य विपद् व्यवस्थापनका लागि ऋणमा निर्भर रहने अवस्थाको अन्त्य गर्न पूर्वतयारीमा आधारित वित्तीय प्रणाली आवश्यक रहेको औँल्याए। विशेषगरी जलवायु जोखिमको उच्च मारमा पर्ने तर त्यसलाई थेग्ने क्षमता न्यून भएका मुलुकका लागि वैज्ञानिक अवलोकन प्रणाली र पूर्वसूचना संरचनामा लगानी अपरिहार्य रहेको उनको भनाइ थियो।

नेपाल जलवायुजन्य जोखिम व्यवस्थापनका लागि सिकाइ र परीक्षणको महत्वपूर्ण आधार बनिसकेको उल्लेख गर्दै उनले नेपालले यस्ता घटनाबाट वैज्ञानिक ज्ञान र क्षमता विकास गर्नुपर्ने बताए।

‘यस प्रकारको जोखिमका लागि नेपाल पहिले नै प्रयोगशाला भइसकेको छ। प्रश्न यो हो कि नेपाल वैज्ञानिक पनि बन्नेछ कि छैन,’ उनले भने।

अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनको बढ्दो जोखिमलाई प्रभावकारी रूपमा सम्बोधन गर्न मौसमको अवस्था मात्र नभई पहाडी भूगोल तथा त्यससँग जोडिएका जोखिमसमेत पहिचान गर्न सक्ने अवलोकन प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

उनले आधारभूत वैज्ञानिक अवलोकन प्रणालीमा लगानी गरी त्यसकै आधारमा वित्तीय सुरक्षा र जोखिम व्यवस्थापनका संयन्त्र निर्माण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

नेपालले सन् २०२६ मा भोगेका घटनाबाट प्राप्त सिकाइलाई विश्वव्यापी जलवायु जोखिम व्यवस्थापनमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै उनले आगामी दिनमा कुनै पनि देशले यस्ता विपद्बाट उस्तै क्षति बेहोरेर पुनः पाठ सिक्नुपर्ने अवस्था आउन नहुने धारणा राखे।

Skip This