चार वर्षमा ३२१ वटा सहकारी ठगीका उजुरी, छुट्टै शाखा स्थापना गरेर हेर्दै सीआईबी


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम ठगी गरेको उजुरी दिने ‘पीडित’ भनिएका कृष्णप्रसाद जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा गत वर्षको चैतमा पक्राउ परे। धनुष सहकारीको ऋण उपसमितिमा बसेर कृत्रिम खातामार्फत ८२ लाख रुपैयाँ हिनामिनामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए। 

उनीमाथि अनुसन्धान सकेर प्रहरीले यही वर्षको वैशाखमा सरकारी वकिल कार्यालयमा अभियोग पत्र बुझाएको थियो। त्यस घटनामा प्रहरीले अनुसन्धान गरी ६६ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा मुद्दा दायर गरेको छ। कास्कीको पोखरा महानगरपालिका–९ स्थित धनुष बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा १२ करोड ५६ लाख ४५ हजार ७७१ रुपैयाँभन्दा बढी रकम हिनामिना तथा अपचलन भएको प्रहरीको निष्कर्ष छ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, पोखराले मिति २०८२ चैत ८ गते दिएको जाहेरीअनुसार सहकारीका विभिन्न कालखण्डका सञ्चालक समिति, व्यवस्थापक तथा जिम्मेवार पदाधिकारीसँग सम्बन्धित वित्तीय विश्लेषण र अनुगमनबाट ठुलो रकम हिनामिना भएको भन्दै प्रहरीलाई अनुसन्धान गर्न प्रतिवेदन पठाएको थियो। यो त एउटा उदाहरण मात्रै हो।

पछिल्लो समयमा सहकारी ठगीमा हाई प्रोफाइल व्यक्तिहरू समेत कानुनी दायरामा धमाधम पर्न थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्य दर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको आरोपमा पक्राउ परेका थिए। नेपाल प्रहरीका पूर्व डीआईजी तथा गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशी पनि सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका थिए। 

त्यस्तै, बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवं बागलुङ नगरपालिकाका बहालवाला मेयर देवकुमार नेपाली लामो समय फरार रहेपछि विदेशबाट पक्राउ गरी नेपाल ल्याइएका थिए। पशुपति सेभिङ एन्ड क्रेडिट तथा कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारीका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेसका नेता चन्द्रबहादुर ‘सीबी’ लामा पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका चर्चित व्यक्ति हुन्।

लामामाथि ठुलो रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको थियो। फरार रहेको अवस्थामा उनलाई मकवानपुरबाट पक्राउ गरिएको थियो। साथै, सहकारी ठगी प्रकरणका चर्चित अभियुक्तमध्ये गितेन्द्रबाबु (जीबी) राई पनि एक हुन्। तर, उनीमाथि रेड नोटिस जारी भई सक्दा पनि अझैँ पक्राउ भने परेका छैनन्। प्रहरीका अनुसार, पछिल्लो समयमा सहकारी ठगीका उजुरी नरोकिएपछि अनुसन्धान गर्न सीआईबीमा छुट्टै शाखाको व्यवस्था गरिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार सहकारीले प्रतिबद्धता तथा तोकिएको समयअनुसार बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले न्याय माग्दै प्रहरीमा उजुरी दिने गरेका छन्। त्यसैले गर्दा कतिपय घटनामा केही समय पछि पनि उजुरी दिने गर्छन्। सहकारीले तोकिएका सर्त तथा सम्झौताअनुसार पीडित पक्षलाई सहयोग गर्न नसक्दा समस्या उत्पन्न हुने र त्यसपछि पीडितले उजुरी गर्ने गरेको उनले बताए।

उजुरी प्राप्त भएपछि प्रहरीले आफ्नो क्षेत्राधिकार भित्र रहेर अनुसन्धान गर्ने गरेको उनले जानकारी दिए। आवश्यकताअनुसार कानुनी प्रक्रिया पूरा गरी अदालतबाट अनुमति लिएर पक्राउ गर्ने तथा अनुसन्धानका आधारमा दोषी देखिए कानुनी कारबाही अघि बढाउने प्रहरीको प्रक्रिया रहेको काफ्लेले बताए। सहकारी ठगीका घटना पछिल्लो समय सार्वजनिक रूपमा कम सुनिए पनि प्रहरीले आफ्नो जिम्मेवारीअनुसार अनुसन्धान र कारबाहीलाई निरन्तरता दिइरहेको उनको भनाइ छ।

काफ्लेका अनुसार गम्भीर प्रकृतिका, ठुला तथा सङ्गठित अपराधसँग जोडिएका सहकारीसम्बन्धी घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान गरिरहेको छ। 

छुट्टै शाखामार्फत हेर्दै सीआईबी
सहकारी ठगीका घटनाहरु उजुरीहरु बढेसगैँ सीआईबीमा ठगी शाखा स्थापना गरी छुट्टै अनुसन्धान गर्ने गरिएको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखाका प्रमुख ऋषिराम कँडेल बताउँछन्। सहकारी ठगीका घटनामा गत आर्थिक वर्ष २०८२/८३ मा ७५ वटा उजुरी परेको छ। ६ अर्ब ८४ करोड ९० लाख ६३ हजार बराबरको उजुरी गत एक वर्षमा परेको प्रहरीको तथ्यांकले देखाएको छ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ८३ वटा उजुरी परेको थियो। ६ अर्ब ३० करोड ४८ लाख बराबरको उजुरी परेको थियो। जसमा ४४ जना पक्राउ परेका थिए। साथै, आर्थिक वर्ष २०८०/८१ मा ११० वटा उजुरी दर्ता भएका थिए। उक्त वर्ष २८ अर्ब ५१ कराेड ३३ रुपैयाँ बराबरको उजुरी परेको थियो भने ३०७ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०७९/८० मा ५३ वटा उजुरी परेको थियो। त्यस आर्थिक वर्षमा १८ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ बराबरको उजुरी परेको थियो। सो वर्ष ६४ जना पक्राउ परेका थिए।