चार महिनामै उठ्यो ३९ करोड जरिवाना, साढे ४ लाखभन्दा बढी सवारी चालक कारबाहीमा


काठमाडौं – पछिल्लो समय देशभर ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूको संख्यासँगै उनीहरूबाट संकलन हुने जरिवाना रकम संकलन पनि ह्वात्तै बढेको छ। नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार गत फागुनदेखि जेठसम्मको चार महिनामा मात्रै देशभर ४ लाख ५२ हजार ४८९ जना सवारी चालक कारबाहीमा परेका छन्। उनीहरूबाट राज्यकोषमा ३९ करोड ६ लाख ८१ हजार रुपैयाँ गैरकर राजस्व संकलन भएको छ।

ट्राफिक प्रहरीले उठाएको यो जरिवाना रकम नेपालका कतिपय गाउँपालिकाले वर्षभरिका लागि ल्याउने कुल बजेट बराबर हो। उदाहरणका लागि विष्णुपुर, देवताल, माडी र लिखु लगायतका गाउँपालिकाहरूले आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३९ करोड रुपैयाँकै बजेट ल्याएका छन्।

गाउँपालिकाले वर्षभरि खर्च गर्ने त्यति ठुलो रकम ट्राफिक प्रहरीले नियम मिच्नेहरूबाट चार महिनामै उठाएको देखिन्छ। सडक दुर्घटना न्यूनीकरण गर्न र चालकहरूलाई अनुशासनमा राख्न ट्राफिक प्रहरीले गत चैत महिनादेखि विशेष अभियान नै सुरु गरेको थियो। अभियान सुरु भएपछि कारबाही र राजस्व दुवै निरन्तर उकालो लागेको छ। तथ्यांक अनुसार गत फागुन महिनामा देशभर ६९ हजार ३५५ जना चालक कारबाहीमा पर्दा ६ करोड ७ लाख रुपैयाँ राजस्व उठेको थियो।

चैतमा कारबाहीमा पर्नेको सङ्ख्या १ लाख ४ हजार ९५२ पुग्यो भने राजस्व ३ करोड बढेर ९ करोड ७ लाख रुपैयाँ संकलन भयो। यो क्रम वैशाखमा झनै बढ्यो। वैशाखमा १ लाख ३७ हजार ९४ जना चालक कारबाहीमा परे र ११ करोड ८२ लाख रुपैयाँ राजस्व उठ्यो। जेठ महिनामा त झन् कारबाही र राजस्व दुवैले रेकर्ड राखेको छ। जेठमा मात्रै १ लाख ४१ हजार ८८ जना चालक कारबाहीमा पर्दा १२ करोड ९ लाख रुपैयाँ जरिवाना उठ्यो। यो फागुन महिनाको तुलनामा झन्डै दोब्बर हो।

काठमाडौं उपत्यकामा मात्रै साढे १३ करोडभन्दा बढी
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार उपत्यकामा अभियान सुरु भएको तीन महिना (चैत, वैशाख र जेठ) मा मात्रै १ लाख ७८ हजार ४ सय ६५ जना चालक कारबाहीमा परेका छन्। उनीहरूबाट १३ करोड ८५ लाख रुपैयाँ राजस्व उठेको छ। उपत्यकाको तीन महिनाको विवरण हेर्दा चैतमा ४१ हजार ४ सय ४४ जनाबाट ३ करोड ४५ लाख ३० हजार रुपैयाँ, वैशाखमा ६८ हजार ५ सय ४४ जनाबाट ५ करोड २४ लाख रुपैयाँ र जेठमा ६८ हजार ४ सय ७७ जनाबाट ५ करोड १५ लाख ७३ हजार रुपैयाँ जरिवाना संकलन भएको छ।

उपत्यकामा ट्राफिक प्रहरीले हप्तामा मात्रै १ करोडभन्दा बढी जरिवाना उठाउने गरेको छ। गत जेठ २५ देखि ३१ गतेसम्मको एक सातामा १६ हजार २२७ जनाबाट १ करोड ७ लाख रुपैयाँ संकलन भएको थियो। त्यस्तै, असार १ गतेदेखि ७ गतेसम्मको अर्को एक सातामा १५ हजार ४७७ जना चालक कारबाहीमा पर्दा राज्यकोषमा १ करोड ९ लाख ५२ हजार रुपैयाँ दाखिला भएको छ।

ट्राफिक प्रहरीले विशेष गरी मादक पदार्थ सेवन (मापेसे) गरेर सवारी चलाउने, नियम विपरीत राइड सेयरिङ गर्ने, ट्राफिक लाइट पालना नगर्ने र तीव्र गतिमा सवारीसाधन हुइँक्याउनेहरूलाई समातेर जरिवाना तिराउने गरेको छ। यसका साथै लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने र यान्त्रिक अवस्था ठिक नभएका गाडी चलाउने चालकहरूमाथि पनि ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ।