बजेट भाषणअनुसार बढाउँदा पनि पुग्दैन प्रहरीको न्यूनतम तलब ४० हजार


काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत राष्ट्र सेवक कर्मचारीहरूको तलबको स्केलमा १० प्रतिशत र थप अतिरिक्त प्रोत्साहन भत्तामा गरेर कुल २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गर्याे। साथै कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ बनाउने समेत उल्लेख गर्याे। तर, प्रहरी जवानको सोही दरमा वृद्धि हुँदा पनि न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ नपुग्ने देखिएको छ। 

बजेटमार्फत साउनदेखि राष्ट्रसेवक कर्मचारीहरूको तलब २१ प्रतिशतले बढ्दैछ। बढ्दो महँगी, उपभोक्ता मूल्य सूचकाङ्कमा आएको वृद्धि र कर्मचारीको जीवनयापन खर्चलाई आधार मान्दै सरकारले बजेटमार्फत बढाउने घोषणा गरिएको थियो।  बजेटमा न्यूनतम पारिश्रमिक करिब ४० हजार रुपैयाँ पुग्ने बताइए पनि प्रहरी जवानको आधारभूत तलब ३९ हजार २०७ रुपैयाँ मात्र पुग्ने देखिन्छ। जसअनुसार, प्रहरी जवानको तलब अझै ४० हजार रुपैयाँको सीमाभन्दा तल नै रहने भएका छन्। प्रहरीको सबैभन्दा माथिल्लो तह महानिरीक्षकको तलब ९२ हजार ५०५ रुपैयाँ पुग्ने भएको छ। 

यद्यपि तलब वृद्धिको व्यवस्थालाई प्रहरीले सकारात्मक रूपमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार लामो समयदेखि तलब वृद्धि नभएको अवस्थामा सरकारले गरेको यो निर्णयले प्रहरी कर्मचारीमा नयाँ उत्साह र ऊर्जा थप्नेछ। काफ्लेले बढ्दो महँगी र जीवनयापन खर्चलाई मध्यनजर गर्दै तलब वृद्धि गर्नु सकारात्मक कदम भएको बताए। उनले तलब वृद्धिले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

‘महँगी जुन रूपमा बढिरहेको छ, त्यसअनुरूप तलब वृद्धि गर्नु राम्रो पक्ष हो,’ उनले भने, ‘यसबाट प्रहरी संगठनका कर्मचारीमा थप ऊर्जा र उत्साह बढेको छ। नागरिक सुरक्षाप्रति अझ बफादार, इमानदार र जिम्मेवार भएर काम गर्ने वातावरण सिर्जना हुन्छ।’ उनका अनुसार तलब वृद्धिले राष्ट्रको सुरक्षा, नागरिकको सुरक्षा तथा अपराध नियन्त्रणका क्षेत्रमा खटिने प्रहरी कर्मचारीलाई थप प्रेरणा मिल्नेछ। 

साथै, प्रहरी संगठन सेवा र जिम्मेवारीप्रति समर्पित संस्था भएकाले तलबकै आधारमा काम नगर्ने उनले बताए। उनले भने, ‘नेपाल प्रहरी सेवामुखी भावनाले नागरिकलाई केन्द्रमा राखेर काम गर्ने संगठन हो, प्रहरीले तलब मात्र हेर्दैन, नागरिकको सुरक्षा आफ्नो कर्म र कर्तव्य ठान्छ।’

कुन दर्जाका प्रहरीको कति बढ्यो तलब ?
प्रहरीको महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको तलब बराबरी रहेको छ। हाल सम्ममा महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको तलब ७२ हजार रहेको छ। उनीहरूको दुई ग्रेड हुन्छ। एक ग्रेड बराबर २ हजार ४०३ रुपैयाँ छ। ग्रेडबापतको ४ हजार ८०६ रुपैयाँ गर्दा उनीहरूको तलब ७६ हजार ८ सय रहेको छ। अब साउनदेखि आईजीपी र एआईजीको तलब ७२ सयले बढेर ९२ हजार ५ सय पुग्नेछ। 

प्रहरी नायव महानिरीक्षक (डीआईजी) को हालको आधारभूत तलब ६० हजार ९ सय रुपैयाँ छ। तीन ग्रेडबापत ६ हजार ९३ रुपैयाँ थपिँदा उनीहरूले ६७ हजार रुपैयाँ तलब बुझ्दै आएका छन्। नयाँ तलबमान लागू भएपछि डीआईजीको तलब ८० हजार ४ सय रुपैयाँ पुग्नेछ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को हालको तलब ५६ हजार ७ सय रुपैयाँ रहेको छ। चार ग्रेडबापत करिब ७ हजार ५ सय रुपैयाँ थपिँदा उनीहरूको कुल तलब ६४ हजार ४ सय रुपैयाँ पुगेको छ। साउनदेखि एसएसपीको तलब ७७ हजार रुपैयाँ पुग्नेछ।

त्यसैगरी, प्रहरी उपरीक्षक (एसपी) को आधारभूत तलब ५२ हजार २ सय रुपैयाँ रहेको छ भने प्रहरी नायव उपरीक्षक (डीएसपी) को तलब ४८ हजार ७ सय रुपैयाँ छ। पाँच ग्रेडका आधारमा एसपीले ६० हजार रुपैयाँ र डीएसपीले ५६ हजार रुपैयाँ तलब पाउँदै आएका छन्। नयाँ व्यवस्थाअनुसार एसपीको तलब ७२ हजार ८ सय रुपैयाँ र डीएसपीको तलब ६७ हजार ९ सय रुपैयाँ पुग्नेछ।

साथै,प्रहरी निरीक्षक (इन्स्पेक्टर) को हालको आधारभूत तलब ४३ हजार रुपैयाँ छ। आठ ग्रेडबापत ११ हजार ६ सय रुपैयाँ थपिँदा उनीहरूको कुल तलब ५५ हजार ३ सय रुपैयाँ छ। साउनदेखि इन्स्पेक्टरको तलब ६५ हजार ६ सय रुपैयाँ पुग्नेछ। प्रहरी वरिष्ठ नायव निरीक्षक (सिनियर एसआई) ले हाल ४० हजार रुपैयाँ आधारभूत तलब पाउँदै आएका छन्। पाँच ग्रेडबापत ६ हजार ८ सय रुपैयाँ थपिँदा उनीहरूको कुल तलब ४७ हजार ८ सय रुपैयाँ रहेको छ। आगामी आर्थिक वर्षदेखि उनीहरूको तलब ५७ हजार रुपैयाँ पुग्नेछ।  

प्रहरी नायव निरीक्षक (एसआई) को आधारभूत तलब ३४ हजार रुपैयाँ रहेको छ। आठ ग्रेडका आधारमा उनीहरूले हाल ४३ हजार ९ सय रुपैयाँ तलब बुझ्दै आएका छन्। नयाँ तलबमान लागू भएपछि उनीहरूको तलब ५२ हजार रुपैयाँ पुग्नेछ। त्यस्तै, प्रहरी सहायक निरीक्षक (एएसआई) ले हाल ३२ हजार ८ सय रुपैयाँ आधारभूत तलब पाउँदै आएका छन्। सात ग्रेडसहित उनीहरूको कुल तलब ४० हजार ५ सय रुपैयाँ रहेको छ। साउनदेखि एएसआईको तलब ४५ हजार रुपैयाँ पुग्नेछ।

प्रहरी वरिष्ठ हवलदारले हाल २८ हजार ५ सय तलब लिँदै आइरहेका छन्। उनीहरूको ग्रेड ६ अनुसार ५७ सयसहित ३४ हजार लिँदै आइरहेका छन्। अब अर्को आवदेखि उनीहरूको तलब बढेर ४० हजार ७ सय पुग्ने भएको छ। प्रहरी हवलदारले हाल २७ हजार ६ सय तलब लिँदै आइरहेका छन्। उनीहरूको ग्रेड ७ अनुसार ६४ सयसहित ३४ हजार लिँदै आइरहेका छन्। अब अर्को आवदेखि उनीहरूको तलब बढेर ४० हजार ४ सय पुग्ने भएको छ। 

साथै, प्रहरी सहायक हवलदारले हाल २६ हजार ५ सय तलब लिँदै आइरहेका छन्।उनीहरूको ग्रेड ८ अनुसार ३३ हजार ६ सयसहित ३३ हजार ६ सय लिँदै आइरहेका छन्। अब अर्को आवदेखि उनीहरूको तलब बढेर ३९ हजार ९ सय पुग्ने भएको छ। प्रहरी जवानले हाल २७ हजार ६ सय तलब लिँदै आइरहेका छन्। उनीहरूको ग्रेड ८ अनुसार ६ हजार ९ सयसहित ३३ हजार बुझ्दै आइरहेका छन्। अब साउनदेखि प्रहरी जवानको तलब  ३९ हजार २ सय पुग्ने भएको छ।