डिजिटल कारोबारको विस्तारसँगै अनलाइन बैंकिङ्ग ठगी बढ्दो, चालु आवमै करिब ३ करोडको ठगी


काठमाडौं – केही वर्ष अघिसम्म बैंकिङ्ग सेवा लिन बैंकको शाखामा पुग्नुपर्ने बाध्यता थियो। तर, यो बाध्यतालाई मोबाइल बैंकिङ्गको प्रयोगले सहज बनाइदिएको छ। तर, यसको प्रयोगसँगै साइबर सुरक्षा, अनलाइन ठगी र व्यक्तिगत विवरणको दुरुपयोगको चुनौती पनि बढ्दै गएका छन्। प्रविधिको विकाससँगै साइबर अपराधीहरूले पनि आफ्नो कार्यशैली परिवर्तन गर्दै सर्वसाधारणलाई निशाना बनाइरहेका छन्। डिजिटल बैंकिङ्ग सेवाको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा अनलाइन बैंकिङ्ग ठगीका घटनाहरू बढ्दै गइरहेका छन्। मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र डिजिटल वालेटको सहज पहुँचसँगै साइबर अपराधीहरूले विभिन्न प्रलोभन, फिसिङ लिंक, नक्कली वेबसाइट र ओटिपि माग्ने जस्ता उपाय अपनाएर सर्वसाधारणलाई ठगी गर्ने क्रम बढिरहेको छ।

ठगहरूले विभिन्न माध्यमहरूको प्रयोग गरी मोबाइल बैंकिङ्ग र वालेट एपहरू ह्याक गरी ठग्ने गरेको प्रहरी बताउँछन्। चालु आर्थिक वर्ष २०८२/८३ को जेठसम्ममा ४९ करोड ८४ लाख रुपैयाँ बराबरको अनलाइन ठगी भएको प्रहरीले बताएको छ। जसमा अनलाइन बैंकिङ्गबाट मात्रै २ करोड ९३ लाख ६६ हजार ठगी भएको प्रहरीको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म अनलाइन बैंकिङ्ग ठगीसँग सम्बन्धित २९ वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरिएको छ।

साथै, प्रहरीको तथ्यांकले पछिल्ला वर्षमा अनलाइन बैंकिङ्ग ठगीका घटना बढ्दै गएको देखाउँछ। गत आर्थिक वर्ष २०८१/८२ मा अनलाइन बैंकिङ्ग ठगीका २७ वटा मुद्दा दर्ता भएका थिए। ती घटनामा ६६ जना पक्राउ परेका थिए भने १० करोड ६३ लाख ६२ हजार रुपैयाँ बराबरको ठगी भएको तथ्यांक छ। साथै, आर्थिक वर्ष २०८०/८१ मा १७ वटा मुद्दा दर्ता हुँदा १९ जना पक्राउ परेका थिए। सो अवधिमा १ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको ठगी भएको थियो।

प्रहरीका अनुसार ठगी गर्ने समूहले बैंक, वालेट कम्पनी वा सरकारी निकायका कर्मचारी भएको भन्दै फोन, एसएमएस, इमेल तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने, आकर्षक अफर, पुरस्कार वा खातामा समस्या आएको बहाना बनाएर गोप्य विवरण माग्ने जस्ता उपाय अपनाइरहेका छन् । प्रयोगकर्ताले ओटीपी, पासवर्ड, पिन नम्बर वा अन्य गोप्य जानकारी उपलब्ध गराएपछि खाताबाट रकम निकाल्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । यस्ता ठगहरूले विभिन्न बैंक तथा डिजिटल वालेटहरूका प्रयोगकर्ताहरूलाई झुक्याई बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्दै निजहरूको ओटीपी र पिन माग गरी अनधिकृत रूपमा बैंक तथा डिजिटल वालेटमा पहुँच पु¥याई रकम ठगी गर्छन् । ठगी गरेको रकम विभिन्न व्यक्तिहरूको बैंक तथा डिजिटल वालेटहरूमा ट्रान्सफर गर्ने, विभिन्न माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी उनीहरूको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटहरूमा खाता खोल्न लगाई उक्त खाता आफूले प्रयोग गर्ने र प्रयोग गरेबापत निश्चित रकम दिने गरेको साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी बताउँछन्।

त्यसैले गर्दा प्रहरीलाई ठग सम्म पुग्न कठिन हुने उनले बताए। अनलाइन बैंकिङ्ग वा वालेटबाट ठगी गरी आर्जित रकम जम्मा गर्ने, क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने तथा हुन्डी कारोबार गर्न समेत प्रयोग गर्ने उनले बताए। जसले अनुसन्धान गर्न कठिन हुने उनी बताउँछन् । यसैगरी, वालेटहरूबाट ठग्नेहरू पनि बढी रहेका छन्। प्रहरीका अनुसार वालेटहरूबाट चालु आर्थिक वर्ष २३ करोड ९७ लाख २० हजार ठगी भएको छ। डिजिटल बैंकिङ्गका सुविधाको सुरक्षित रूपमा उपयोग गर्न प्रयोगकर्ताले बलियो पासवर्ड प्रयोग गर्ने, ओटीपी वा गोप्य जानकारी कसैसँग साझेदारी नगर्ने तथा आधिकारिक बैंकिङ्ग एप र वेबसाइट मात्र प्रयोग नगर्दा यस्ता ठगको सिकार बन्ने गरेको प्रहरी बताउँछन् । क डिजिटल बैंकिङ्ग सुरक्षित रूपमा प्रयोग गर्न बलियो पासवर्ड राख्ने, दुई तहको प्रमाणीकरण (टु–फ्याक्टर अथेन्टिकेसन) प्रयोग गर्ने, ओटीपी, पिन वा पासवर्ड कसैसँग पनि साझेदारी नगर्ने र आधिकारिक बैंकिङ्ग एप प्रयोग गर्न प्रहरी अधिकृतहरूले आग्रह गर्दै आइरहेका छन्। अपरिचित लिंकमा क्लिक नगर्ने, सामाजिक सञ्जाल वा फोनमार्फत आएका सन्देशको सत्यता सम्बन्धित बैंक वा सेवा प्रदायकसँग पुष्टि गर्ने बानीले पनि ठगीबाट जोगिन सकिने गिरी बताउँछन्।

कतिपयले सामाजिक सञ्जालमा परिचित व्यक्तिको फोटो प्रयोग गरेर नक्कली खाता खोली साथी बनेर आफू यात्रामा रहेको, बैंक कार्ड नचलेको वा आकस्मिक समस्या परेको भन्दै १०–१५ हजार रुपैयाँ रकम माग्ने गर्छन्। भने केहीले विदेशबाट आएको भन्दै करोडौँ डलर वा ठुलो सम्पत्ति हस्तान्तरण गरिदिने आश्वासन दिएर बैंक खाताका विवरण र व्यक्तिगत विवरण माग्ने समेत गर्छन् ।पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध गाँस्ने, विश्वास जित्ने र विवाह वा सम्बन्धको प्रस्तावसमेत राख्ने, महँगा उपहार, मोबाइल, गहना वा नगद पठाएको भन्दै पार्सलको तस्बिर र ट्र्याकिङ नम्बर पठाएर भन्सार कार्यालय वा कुरियर कम्पनीको कर्मचारी बताउँदै सामान छुटाउन शुल्क तिर्नुपर्ने भन्दै नेपाली बैंक खातामा रकम जम्मा गर्न लगाउनेहरू पनि पछिल्लो समयमा बढेको प्रवक्ता गिरी बताउँछन्।

त्यस्तै, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्तालाई लक्षित गरी बैंक कर्मचारी बनेर फोन गर्ने पनि पछिल्लो समयमा बढेका छन्। खातामा समस्या आएको, सेवा अद्यावधिक गर्नुपर्ने वा सुरक्षा परीक्षण भइरहेको भन्दै मोबाइलमा आएको ओटिपि वा भेरिफिकेसन कोड माग्ने गरेको घटना प्रहरीमा आउने गरेको प्रहरीले अधिकृतहरू बताउँछन्। एकपटक ओटिपि उपलब्ध गराएपछि ठगी गर्ने व्यक्तिले मोबाइल बैंकिङ्गको नियन्त्रण लिएर खातामा रहेको रकम अन्यत्र सार्ने गर्दछ। साथै, उक्त सारेको रकम पनि ठगको नभई सामान्य व्यक्तिको हुने गर्छ। जसलाई आफ्नो खातामा कुनै ठगीको रकम आएको थाहा नै हुँदैन। जसले गर्दा ठग सम्म पुग्न जटिल हुने गिरीले बताए। उनले भने, ‘ठगी गरेको रकम पछिल्लो समयमा क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको छ। प्रहरीसँगको सीमित प्रविधिका कारण, सीमित जनशक्तिका कारणले गर्दा मुख्य ठग सम्म पुग्न असहज हुन्छ।’