कुमारी बैंकको नाफा ७ अर्ब नाघ्यो, वितरणयोग्य नाफा कति ?


काठमाडौं – कुमारी बैंकले गत वर्षकाे वित्तीय विवरणमा उल्लेखनीय सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणले बैंकको सूचकमा सुधार आएको देखिएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब बढी नाफा आर्जन गरेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब नाफा कमाएको थियो । कुमारीले गत वर्ष ७ अर्ब ३८ करोड ७१ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकले १ अर्ब ८१ करोड ९६ लाख खुद नाफा कमाएको थियो ।

बैंकको ब्याज आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ६२ करोड खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष १२ अर्ब १ करोड बराबर खुद ब्याज आम्दानी गरेको हो ।

गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ४ करोड ८८ लाख, कुल सञ्चालन आम्दानी १६ अर्ब ३५ करोड ८४ लाख र सञ्चालन नाफा ११ अर्ब २३ करोड ५५ लाख रहेको छ । गत वर्षको अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८४ करोडले ऋणात्मक थियो ।

हाल बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख रहेको छ भने बैंकको जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख सञ्चित छ । असार मसान्तसम्ममा बैंकले ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफा बढ्दा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ १७ पैसा पुगेको छ ।