काठमाडौं – महाकवि लक्ष्मी प्रसादको देवकोटाको कविताको हरफले भनेझैँ ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’। धेरैले आफ्नो जीवनमा यही कविताको हरफलाई प्रेरणाको रूपमा लिई लागू गर्छन् र अघि बढ्ने कोसिस गर्छन् । महाकविले कवितामार्फत ठुलो सपना र लक्ष्य लिनका लागि प्रेरित गर्न यसो भनेका थिए । यही भावलाई लक्षित गर्दै व्यक्तिले लक्ष्य राखेर नै काम गर्दै जानुपर्ने बताउँछिन् एभरेष्ट बैंक बाग्मती प्रदेश प्रमुख अन्जु शर्मा ।
सानोमा उनी हरेक कुरामा चासो राख्ने गर्थिन् । उनलाई खेलकुदमा अलिक बढी रूचि थियो । उनले आफ्नो लक्ष्य भने तय गरिसकेकी थिइनन् । तर, कुनैपनि कामको व्यवस्थापन गर्ने विषयमा उनी निकै सिपालु थिइन् । उनी सानोमा लागेको रुचि नै उद्देश्य बनेको अचेल मात्रै थाहा पाउँदैछिन् । उनको बाल्यकाल निकै सुखद बित्यो । उनका बुबा सरकारी जागिरमा आवद्ध छन्। घरमा उनीसहित एक दाइ, एक दिदी र एक भाइ गरी चार जना थिए । ‘खानपिनदेखि सबै कुराको रेखदेख आमाले गर्नुभयो । म घरमा एकदम अनुशासित वातावरण हुर्किए । परिवार र समुदायले पनि निकै सपोर्ट गर्नुहुन्थ्यो,’ उनी सम्झिन्छिन्।

जागिरे जीवनको सुरुवात एक ऊर्जा सम्बन्धी विदेशी परामर्शदाता कम्पनीबाट गरेकी शर्माले त्यसपछि एन.आई.डि.सी. क्यापिटल मार्केट्समा करिब १ वर्ष काम गरिन् । त्यहाँबाट उनी बीमा क्षेत्र प्रवेश गरिन् । उनले निर्जीवन बीमा कम्पनी द ओरियन्टल इन्स्योरेन्सको नेपाल शाखामा ३ वर्ष काम गरिन् । ‘तीन वटा कम्पनीहरूमा काम गरेको अनुभवबाट मैँले अझैँ आदर सत्कार, अनुशासित भएको अन्य क्षेत्रमा भन्दा राम्रो आम्दानी समेत भएको बैंकिङ्ग क्षेत्रलाई नजिकबाट नियाली रहेको थिए,’ उनले सम्झिइन् ।
अन्जुलाई जागिर मात्रै खानु थिएन । अनुशासित क्षेत्रमा पनि अनुभव सँगाल्नु थियो त्यसैले बैंकिङ्ग क्षेत्र प्रवेश गरेको बताउँछिन् । उनले बैंकमा जागिर गर्न पाउँदा तलबतिर खास ध्यान दिएकी थिइनन् । तलबमाभन्दा पनि आफूले चाहेको क्षेत्रमा काम गर्न पाएकोमा खुसी शर्मा । बैंक प्रवेश गर्दाको तलबलाई सम्झिँदै भनिन्, ‘कर्मचारीको लागि तलब त त्यो समयमा पनि महत्त्वपूर्ण थियो र आज पनि त्यत्तिकै महत्त्वपूर्ण छ । म आजभन्दा करिब २७ वर्ष अगाडी सहायक पदमा नियुक्ति हुँदा मेरो मासिक तलब तीन हजार मात्रै थियो ।’

हरेक क्षेत्र प्रवेश गर्दा चुनौतीको सामना गर्नुपर्छ र यो अन्जुले पनि गरिन् । चुनौतीको सामना गर्दै अघि बढेमा सफलता हात पार्न सकिने उनको भनाइ छ । बैंकिङ्ग क्षेत्र प्रवेश गर्दा सुरुवाती चरणमा आफूलाई दिइएको कार्यभार सम्हाल्ने, ग्राहकका अपेक्षा तथा समस्याहरूलाई नजिकबाट बुझ्ने र नयाँ प्रणालीसँग कसरी अभ्यस्त हुने जस्ता चुनौतीहरू थिए । ‘चुनौती जहाँ पनि हुन्छ । तर, नआत्तिईकन आफ्नो कर्मलाई समयसँग आबद्ध गरेर अगाडी बढ्यो भने बिस्तारै समस्याहरूको समाधान हुँदै जान्छन् र पुनः आउने समस्याहरूको समाधान गर्ने साहस बढ्दै जान्छ’ अन्जु भन्छिन् ।
हाल उनले एभरेष्ट बैंकको ४६ शाखाको जिम्मेवारी सम्हालिरहेकी छिन् । आफ्नो कामप्रति निकै सन्तुष्ट रहेकी अन्जु नयाँ-नयाँ कामहरू सिक्ने अवसरहरू प्राप्त गर्न रुचाउछिन् । नेतृत्वदायी भूमिकामा रहेर काम गर्दा आफ्ना अनुभवहरू साथीहरूसँग आदानप्रदान गर्न पाउँदा गर्व लाग्ने उनी बताउँछिन् । अन्जुले महिला भएर बैंकमा काम गर्दै जाँदा विभिन्न चुनौती सामना गर्दै आएकी छिन् । ‘महिला भएर पेसागत जीवनमा चुनौतीहरू नआएका र नआउने पनि होइनन्, तर आफ्नो आत्मविश्वास, निरन्तर मिहिनेत र संस्थाप्रतिको समर्थन भावले ती चुनौतीहरूलाई सहजै पार गर्न सकिने रहेछ’ उनी भन्छिन् ।
अन्जुको कामलाई परिवारले पनि साथ दिँदै आइरहेका छन् । उनी आफ्नो करिअरको मेरुदण्ड नै परिवार रहेको बताउँछिन् । उनले परिवारको सहयोग नहुने हो भने महिलाले मात्रै चाहेर करिअर सफलताकाे सम्भव नरहेको बताइन् । उनका श्रीमान् एक निर्जीवन बीमा कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । श्रीमानले बैंकिङ्ग क्षेत्र बुझेका कारण पनि सहयोग सहजै पाएको बताउँछिन् । ‘मम्मी र सासु आमाप्रति एकदमै आभारी छु, उहाँहरू नभएको भए म यो ठाउँमा हुने थिइन्,’ उनले थपिन् ।

बैंकिङ्ग क्षेत्र महिलामैत्री
उनको बुझाइमा बैंकिङ्ग क्षेत्र महिलाहरूको लागि सबैभन्दा उत्कृष्ट क्षेत्र हो । यो क्षेत्रमा आत्मसम्मान, सुरक्षा र सेवा सुविधाको दृष्टिकोणले महिला कर्मचारीमैत्री छ । महिला भएको हिसाबले हाम्रो जागिरे जीवनसँगै पारिवारिक जिम्मेवारी पनि अलि बढी नै हुने उनी बताउँछिन् । महिलाहरूले आफ्नो जिम्मेवारी निभाउन प्रयत्न गरिरहेको उनको भनाइ छ । महिलामा आत्मविश्वास बढी रहेकाले पनि यो क्षेत्र सहज रहेको छ । उनका परिवारमा श्रीमान्, सासु, ससुरासहित एक छोरा र एक छोरी छन् ।
महिलासँग परिवार र व्यावसायिक जीवनको सन्तुलन मिलाएर अगाडि बढ्नु कला हुन्छ । यद्यपि, महिलाहरूले आफ्नो बालबच्चा कस्तो वातावरणमा खुसी हुन्छन् भन्ने कुरालाई विशेष प्राथमिकतामा राख्नुपर्ने हुन्छ । समाजले महिलालाई हेर्ने दृष्टिकोण पनि राम्रोसँग बुझेर अघि बढ्न सकेमा ‘करियर’मा सफलता हात पार्न सकिने उनको भनाई छ । महिलालाई समाजलाई हेर्ने दृष्टिकोणमा अलमलिएर बस्न नहुने धारणा व्यक्त गर्छिन् उनी । ‘महिला भएकै कारण मैले अहिलेसम्म कुनै चुनौती झेल्नुपरेको छैन,’ उनले भनिन्, ‘अन्जु सफलता प्राप्त गर्न असहज क्षेत्रमा काम गर्नुपर्छ ।’
‘आगोमा तातेपछि मात्र सुनले आकार पाउँछ, त्यसैले हामीले महिलाहरूमा के कमजोरी छ र पुरुषभन्दा कम छैनौँ नि भनेर सोचेर काम गर्नुपर्छ, कुनै काम गाह्रो साह्रो हुन्छ भन्ने मान्यता राख्नु हुँदैन’ उनले भनिन् ।
(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)
प्रतिक्रिया