काठमाडौं – आफू सबैतिर पुग्न नसक्ने भएकाले भगवानले आमा बनाए भन्ने ‘रूडयार्ड किप्लिङ’को भनाइले विश्वव्यापी चर्चा पाइरहेको हुन्छ । प्रायजसो बच्चा हुर्काउने जिम्मेवारी आमाको काँधमा आउने गर्छ र आफ्नो बच्चालाई टाढा राख्ने हिम्मत उनीहरूमा हुँदैन पनि । तर, ‘करिअर’ बनाउने क्रममा महिलाहरूले गर्नुपर्ने त्यागमध्येको सबैभन्दा ठुलो त्याग नै बच्चाबाट टाढिने हिम्मत हो भन्दा फरक नपर्ला ।
धेरै आमाहरूले बच्चा हुर्काउन कै लागी जागिर वा बच्चालाई दिनुपर्ने पर्याप्त समयमध्ये एक रोज्नुपर्ने भएकाले जागिर छाडेका कयाैँ उदाहरणा हामी सामू छन् । यसको ज्वलन्त उदाहरण हुन्, माछापुच्छ्रे बैंकको जोखिम व्यवस्थापन विभागकी प्रमुख इन्द्र थापा । थापाले दुई महिनाको बच्चा छाडेर जागिरमा गएकै कारण आज बैंकिङ्ग उद्योगमा छुट्टै पहिचान बनाउन सफल बनेकी छिन् ।

यसक्रममा थापालाई उनकी आमाले पर्याप्त साथ दिइन् । इन्द्रकी आमाले दुई महिनाको दुधे बच्चाको हेरचाह गरिदिने भन्दै हौसला दिएपछिको क्षण अहिले पनि सम्झिन्छिन् थापा । ‘सो समयमा आफ्नो आमाले साथ दिएकाले आज यो स्थानसम्म आइपुगेको हो,’ उनले बैंकिङ्ग समाचारसँग भनिन् । उनको घरमा ३ जना छोरीसहित ५ जना छोराछोरी थिए । परिवारमा थापाले धेरै छोरी हुँदा पनि कुनै विभेद भोग्नु परेन ।
‘छोरी भएकै कारण मैले घरमा कुनै पनि विभेद भोग्नु परेन । यही कारण आफूलाई भाग्यमानी ठान्छु,’ बाल्यकाल सम्झँदै उनी भन्छिन्, ‘आमासँग साथीको जस्तो व्यवहारले हुर्किएकाले बाल्यकाल निकै अविस्मरणीय रह्यो ।’ उनका बुबा ब्रिटिस आर्मी भएकाले बुबाको सरुवासँगै परिवार पनि सर्नुपर्थ्यो । यही कारण थापाको परिवारका सदस्यको पढाई बुबाको सरुवाअनुसार विभिन्न ठाउँमा भयो । यद्यपि, थापाले कक्षा ९ र १० को अध्ययन काठमाडौंबाटै सम्पन्न गरिन् ।
सानैदेखि मेहनत गर्नुपर्छ भन्ने स्वभावकी थापा तत्कालीन समयमा डाक्टर र इन्जिनियर बन्ने सोच राख्थिन् । सानैदेखि डाक्टर, इन्जिनियर र अनुसन्धानमा रुचि राख्ने थापालाई बाल्यकालमा बैंकर बन्नेबारे कल्पना नै थिएन ।
नबिल बैंकबाट छिरिन् बैंक
थापाले नबिल बैंकबाट बैंकरको जीवन सुरुवात गरिन् । नबिलमा उनले विभिन्न पदमा रहेर १७ वर्ष बिताइन् । नबिल बैंक प्रवेश गर्दा उनलाई बैंकिङ्ग क्षेत्र नै नयाँ क्षेत्र थियो । सुरुवाती चरणमा बैंक प्रवेश गर्दा पैसा हातैले गन्नुपर्ने भएकाले त्यति सहज थिएन । थापाले बैंकमा जागीर सुरु गर्दा मोबाइल, कम्प्युटर जस्ता साधनहरू सहजै उपलब्ध नहुने हुँदा थप नयाँ कुरा पढ्न, बुझ्न पनि असहज नै थियो । ‘प्रमोसन’को तयारीको लागि किताबी ज्ञानमा मात्र सीमित रहँदा निकै चुनौतीहरू भोग्नुपरेको उनको अनुभव छ।
नबिलमा १७ वर्ष काम गरेपछि उनी माछापुच्छ्रे बैंकतर्फ मोडिइन् । उनले माछापुच्छ्रे बैंकमा पनि विभिन्न पदमा रहेर काम गर्दै आइरहेकी छिन् । ‘बैंकिङ्ग पेशा आफैमा सहज पेशा भने होइन, यसमा थुप्रै चुनौतीहरू छन् र प्रमोसनको लागि निकै प्रतिस्पर्धा हुन्थ्यो, जसले गर्दा काम पनि राम्रो गर्ने चुनौती पनि थियो’ उनी सम्झिन्छिन् । उनलाई बैंकिङ्ग क्षेत्र प्रवेश गर्न कसैले प्रेरणा भने दिएका थिएनन् ।

‘अरू क्षेत्रमा भन्दा बैंकिङ्ग क्षेत्रमा महिलाको लागि सम्मान बढी रहेको छ,’ बैंकिङ्ग समाचारसँग उनले भनिन्, ‘यो क्षेत्रमा आफूमा आएको काम जिम्मेवारपूर्वक सम्पन्न गर्नुपर्नेमा पनि सचेत बन्नुपर्छ ।’ हाल बैंकिङ्ग क्षेत्रमा पहिलेको तुलनामा महिलाको उपस्थिति बढ्दो छ । महिलाले आफ्नो ‘कन्फिडेन्स’ पनि बढाउनुपर्ने उनी बताउँछिन् ।
‘अघि बढ्न परिवारको साथ अनिवार्य’
उनका हाल दुई सन्तान छन् । जसमध्ये छोरा बेलायतमा छन् भने छोरी नेपालमै छिन् । थापाका श्रीमान् हाइड्रोपावर कसल्ट्यान्ट हुन् । विवाह पूर्व र पश्चात् पनि कुनै पनि कुराको अभाव महसुस नभएको उनी बताउँछिन् । उनका श्रीमानले पनि उनलाई उत्तिकै साथ दिँदै आएका छन् । उनका अनुभवअनुसार विवाह पूर्व माइती र विवाह पश्चात् घरका परिवारले साथ दिए मात्रै महिला अगाडी बढ्न सक्छन् । परिवारमा सबै सदस्यले आफ्नो जिम्मेवारी आफैले निभाउने भएकाले पनि घरको कामले उनको बैंकिङ्ग करिअरलाई खासै असर नपु¥याएको बताइन् ।

घरपरिवारको सपोर्ट पाएपछि समय व्यवस्थापन गर्न सकिने थापाको अनुभव छ । कतिपय महिलाहरूले आफूलाई समर्थन गर्ने परिवार नपाएकै कारणले आफ्नो सपनाहरू मार्नुपर्छ । आफ्नो कामप्रति निकै सन्तुष्ट रहेको बताउने थापा सबै कुरा सहज नहुने हुँदा भएका कुरालाई सहज रुपले लिन सकेमा अघि बढ्न सक्ने र आफू खुसी हुनसक्ने बताउँछिन् । पैसाका लागि र आर्थिकरुपमा सबल बन्न मात्रै जागिर खान नहुँने भन्दै पछिल्लो पीढीको ‘करिअर’ अर्थात् पहिचान सुधार गर्न पनि जागिर खानुपर्ने बताउँछिन् ।
(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)
प्रतिक्रिया