काठमाडौं – समाजको उन्नती र प्रगति जाँच्नलाई महिलाको प्रगति नापे पुग्छ भन्ने एउटा कथन चर्चित छ। सन् २००९ तर्फसम्म गार्मेन्ट उत्पादन र निर्यातमा नेपालको प्रतिस्पर्धी रहेको बंगलादेशको प्रगतीले पनि यस्तै बताउँछ । बंगलादेशले प्रतिवर्ष ४० बिलियन डलरभन्दा बढीको गार्मेन्ट निर्यात गर्दा उद्योगका आधाभन्दा बढी श्रमिक महिला थिए ।
आर्थिक उत्पादनमा महिलाको संलग्नता बढेपछि बंगलादेशले गार्मेन्ट उद्योगसँगै सिंगो अर्थतन्त्र बढ्यो । यस्तै, एक जना महिला शिक्षित बन्दा कयौं व्यक्ती शिक्षित बन्छन् भन्ने विश्वास समेत छ । पछिल्लो चरण नारीहरुले विभिन्न क्षेत्रमा अवसरहरु प्राप्त गरेका कारण केही परिवर्तन समेत भएका छन् ।
अहिलेपनि कतिपय क्षेत्रमा छोरी बुहारीले रोजगारी गरेको चित्त नबुझाउने जमात कायमै छ । तर, यसका बाबजुत कतिपय समाजमा भने यसको छुट्टै महत्व र पहिचान समेत छ । ग्लोबल आईएमई बैंक कुमारीपाटी शाखाकी शाखा प्रबन्धक एलिना घिमिरेले घरपरिवारको समस्या झेल्नुपरेन ।

ललितपुरको पाटनमा जन्मिएकी उनी घरकी जेठी छोरी हुन् । एक भाई र एक बहिनी भएकी घिमिरेका बुबा नेपाल राष्ट्र बैंकका जागिरे थिए भने आमा पनि एक निजी कम्पनीमा रोजगारी गर्थिन् । आमाबुबा नै जागिरे भएकाले हेरचाहको समय नपुगेपछि घिमिरे डेढ वर्षको उमेरमा नै मामाघर गइन् । मामाघरमा डेढ वर्ष बिताएपछि काठमाडौं आएर पढाई सुरु गरिन् ।
‘विद्यालय गएको केहीदिनसम्म पनि किताबको नाम समेत नआउँदा एक जना म्यामले पिट्नुभएको थियो’ बाल्यकाल सम्झिदै एलिनाले भनिन् । पढाईका क्रममा घिमिरेले भीएस निकेतन हुँदै जेम्स कलेजबाट ए लेभल्स उर्तिण गरिन् र तत्कालिन समयमा ‘गोल्ड मेडलिस्ट’ समेत बनिन् ।
बाल्यकालमा भविष्यको पेशाबारे कुनै धारणा नबनाएकी घिमिरे विज्ञानप्रति रुचि राख्थिन्। तर, आफ्ना बुबाको इच्छा व्यवस्थापन विषयतर्फ भएकाले यसैतर्फ जोडिएको बताउँछिन् घिमिरे । चार्टड एकाउन्टेन्ट्स समेत रहेकी एलिना ‘ए लेभल्स’ उर्तिण गरेपछि विदेशीने सोचमा समेत पुगेकी थिइन् । तर, घरपरिवारको चाहना विपरित विदेशीने हिम्मत उनमा आएन र नेपालमा बस्ने निधो गरिन्। घिमिरे मिसेस नेपाल वर्ल्ड २०२४ को फर्स्ट रनर अप समेत बनेकी थिइन् ।
सुरुमा घिमिरेले एउटा अडिट फर्मबाट ३ वर्षसम्म ‘आर्टिकलसिप’ गरिन् र त्यसपछि ‘असिस्टेन अडिट म्यानेजर’बाट रोजगारी सुरु गरिन् । त्यसपछि उनले तत्कालिन जनता बैंकबाट बैंकिङ्ग करिअर अघि बढाइन् । सीए गरेपछि विकल्पका धेरै ढोकाहरु खुलेको बताउँछिन् उनी। उनलाई सो समयमा आफ्नै अडिट फर्म सञ्चालन गर्ने, प्राइभेट कम्पनीमा काम गर्ने वा बैंकमा काम गर्ने भन्ने विकल्पहरु आए । त्यतिबेला उनकी आमा पनि बैंकर बनिसकेकी थिइन् । आमा र बुबा नै बैंकर भएपछि उनलाई पनि बैंकिङ्ग क्षेत्र नयाँ जस्तो अनुभव भएन । अन्य क्षेत्रमा विभिन्न चुनौती देखेर बैंकिङ्ग क्षेत्र लामो समयको करिअरलाई सहज हुने भएकाले बैंकिङ्ग क्षेत्र नै रोजेको उनी बताउँछिन् ।
‘अफिसर’ असिस्टेन हुँदै ब्रान्च मेनेजरसम्म‘
एलिनाले जनता बैंकमा बैंकिङ्ग करिअर सुरुवात गर्दा अफिसर लेभलबाट यो क्षेत्र प्रवेश गरेकी हुन् । उनले जनता बैंकमा कर्पोरेट रिलेशनसिप म्यानेजरको रुपमा सेवा प्रवेश गरिन् । उनले ६ वर्ष कर्पोरेट रिलेशनसिप म्यानेजरको रुपमा नै काम गरिन्। त्यसपछि जनता बैंक ग्लोबल आईएमई बैंकमा मर्ज भयो । मर्जको केही समयमा पनि उनी कर्पोरेट बैंकिङ्ग हबमा नै रहिन् । केही समय अघिसम्म उनले ग्लोबलको शंखमुल ब्रान्चमा सिनियर रिलेशनसिप म्यानेजरको रुपमा काम गरिन् । हाल भने उनी कुमारीपाटी ब्रान्च सम्हाल्दै आएकी छिन् ।
एलिनाले बिहे पनि बुबाले खोजेको व्यक्तिसँग नै गरेकी हुन् । उनी सानैदेखि बुबाले भनेको हरेक कुरालाई सहमति गर्दै आउँदा विवाह पनि मागी भएको हो । उनका श्रीमान भने डाक्टर हुन् । विवाहित महिला भएका कारण आउने विभिन्न किसिमका जिम्मेवारीलाई वहन गर्दै आइरहेकी छिन् । उनलाई घरपरिवारले निकै साथ दिइरहेका छन् । परिवारबाट कामसँग सम्बन्धित कुरामा रोकतोक गरेका छैनन् । त्रैमासको अन्त्यमा ढिला घर पुग्ने गरेकी हुन्छिन् । उनलाई कामसँग सम्बन्धित जुनसुकै ठाउँमा जान पनि सहज छ ।

हाल पनि बुहारीलाई काम नगर घरमै बस भन्ने समाज कायमै रहेपनि आफुलाई यस्तो विषय मन नपर्ने उनी बताउँछिन् । समाज निकै अगाडी आएको भन्दै पढाउने समयमा छोरा र छोरीलाईसँगै पढाउने र काम गर्ने समयमा रोकरोत गर्नु उचित नहुने उनको भनाई छ । उनी शहरमा नै हुर्केको शहरमा नै विवाह भएकाले यस्तो समस्यासँग झेल्नु नपरेको बताउँछिन् ।
उनले पिछडिएको सोच लिएर बस्न नहुँने समेत बताइन् । उनले महिलाहरुमा पनि भर पर्ने भन्दै कोही महिलाहरु घरको काममा नै रुचि राख्ने गरेको बताउँछिन् । उनले करिअरमा महिला भएका कारण नै भने त्यस्तो कुनै चुनौतीको सामना गर्नुपरेको छैन । उनले शैक्षिक योग्यता पनि पूरा गरेर काम सुरु गर्दा महिला भएका कारण कसैले पनि कुनैपनि चुनौती सामना गर्नुपर्ने अवस्था सिर्जना नहुने बताउँछिन् । पारिवारिक बोझ महिलालाई भन्दा पुरुषलाई कम हुने भन्दै महिलाहरुको जिम्मेवारी बढी हुने गरेको उनको भनाई छ ।

एलिना आफुपनि आमा हुन् । उनलाई कहिलेकाँही अरु महिला झै आफुपनि आफ्नो बच्चासँग समय बिताउन मन लाग्छ । तर, आफ्नो प्रोफेसनलाई पनि उत्तिकै महत्वका साथ हेर्नुपर्ने भएकाले यसो सहजै सम्भव भने हुँदैन । उनी सन्तान प्राप्तीको समयमा ३ महिनाको छुट्टि पश्चात कार्यालय फर्किदा बसमा पनि रुँदै कार्यलय गएकी थिइन् । उनलाई बैंकिङ्ग क्षेत्रमा अझै केही समय काम गर्ने इच्छा जागेको छ । एलिनाले छोरीले पनि गर्न सक्छिन् भन्ने उदाहरण समाजमा दिएकी छिन् । यस्तै अहिले पनि कतिपय स्थानमा महिलाले बिहान बेलुका भान्सा सम्हाल्नुपर्ने बाध्यता रहेको र यसलाई हटाउनुपर्नेमा जोड दिन्छिन् घिमिरे ।
(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री स.)
प्रतिक्रिया