सन्दर्भः नारी दिवस

‘करिअर ग्रोथका लागि महिलाहरु कम्फर्ट जोनबाट बाहिर आउनुपर्छ’

‘करिअर ग्रोथका लागि महिलाहरु कम्फर्ट जोनबाट बाहिर आउनुपर्छ’

'समाजले महिलामाथि थोपरेकाे जिम्मेवारी परिवर्तन गर्न जरुरी छ'


काठमाडौं – सफलता प्राप्त गर्नलाई त्याग, परिश्रम र मेहनेत गर्न तत्पर हुनुपर्छ भन्ने कथन नै छ । सफलता प्राप्तिका लागि त्याग र संघर्षको भूमिका महत्वपूर्ण रहन्छ नै । जब हामी आफ्नो लक्ष्यमा पुग्न चाहेका हुन्छौं, तब कुनै चाहनालाई त्याग्न पनि सक्नुपर्दछ। त्यागले हाम्रो प्रतिबद्धता र ईच्छाशक्ति दर्शाउँछ । महिलाले आफ्नो करिअर ग्रोथका लागि आफ्नो ज्ञान,सीप अभिवृद्धि बढाउन पहल गर्नु पर्ने र कम्फर्ट जोनबाट बाहिर आउनुपर्ने बताउँछिन् नेपाल राष्ट्र बैंककी निर्देशक निभा श्रेष्ठ ।

निम्न मध्यम वर्गीय परिवारमा जन्मे हुर्केकी निभा घरकी तीन छोरीमधयेकी जेठी छोरी हुन् । ठुली छोरी भएका कारण घरको परिवारमा बुबा आमापछि उनको थाप्लोमा समेत जिम्मेवारी हुनु स्वभाविक नै थियो । ‘बुबा सरकारी कर्मचारी र आमा शिक्षिका हुँदा घरमा छोरी हुनुको पीडा कहिल्यै भोग्नुपरेन,’ श्रेष्ठले भनिन् ।

निभाकी आमाबुबाले छोरीहरुलाई सक्षम बनाउनुपर्छ भन्नेमा दृढ थिए । सोहीक्रममा निभालाई उनकी आमाले एक निजी विद्यालयमा भर्ना गरिदिइन् र त्यहिबाट निभाले कखरा बुझ्न थालिन् । ‘ममिले बच्चाहरुको ‘स्कुलिङ्ग’मा राम्रो इन्भेष्ट गर्नुपर्छ भनेर त्यतिबेला आर्थिकरुपमा समस्यापूर्ण स्थितीमा हुँदा समेत तत्कालिन समयको राम्रो विद्यालयमा नै पढाउनुभयो,’ उनी सम्झिन्छिन् । त्यसपछि, विद्यालय तह हुँदै आइएसी गरिन् ।

१९ वर्षमै प्रतिस्पर्धाबाट बैंकको जागिरे

उच्च तहको पढाई सकेपछि १९ वर्षको उमेरमा नबिल बैंकमा ‘जुनियर असिस्टेन्ट’बाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेको बताउँछिन् निभा । तत्कालिन समयमा खुला आवेदनतर्फको प्रतिस्पर्धाबाट सो बैंक जोडिएकी थिइन् । नबिल बैंकमा जागीर सुरु गरेपछि डिल्ली बजारको कन्या क्याम्पसबाट बीबीएस गरिन् । ७ वर्ष नबिलमा विताउनेक्रममा ‘मास्टर्स’ पनि सकियो र लगत्तै नेपाल राष्ट्र बैंकमा आवेदन खुलेपछि सहायक निर्देशकबाट प्रवेश गरिन् । राष्ट्र बैंकमा कार्यरत रहँदा उनले अष्टेलियन सरकारको छात्रवृतिमा अष्ट्रेलियाको मोनास विश्वविद्यालयबाट एप्लाइड फाइनान्समा मास्टर अध्ययन गरिन् । त्यसपछि खुला प्रतियोगितात्मक परीक्षामार्फत उप निर्देशक हुँदै निर्देशक तहमा राष्ट्र बैंकमा विभिन्न विभागमा रहेर काम गरिरहेकी छिन् ।

जागिरकै सिलसिलामा उनले बैंकको प्रदेशस्थित कार्यालय नेपालगंजका प्रमुखको रुपमा पनि करिब १४ महिना कार्य गरिन् ।बैंकिङ्ग क्षेत्र प्रवेश गर्नुअघि एक ‘ट्राभल एजेन्सी’मा समेत रोजगारीको अनुभव बटुलेकी निभा आफ्ना फुपुहरुलाई देखेर बैंकमा आकर्षित बनेकी थिइन् । बैंकिङ्ग क्षेत्रमा ‘करिअर ग्रोथ’को संभावना तथा आर्थिक रुपमा पनि राम्रो क्षेत्र भन्ने देखिएकोेले यस क्षेत्रमा प्रवेशका लागि पहल गरेकी उनी बताउँछिन् ।

नबिल बैंकमा ६ हजार तलबबाट करिअर सुरु गरेकी हुन् । पछिल्लो चरण हरेक क्षेत्रमा महिलाको सहभागीता बढ्दो छ । बैंकिङ्गमा पनि महिलाहरुको सहभागिता बढिरहेको छ । एक दशक अघिसम्म पुरुषमय देखिने बैंकिङ्ग क्षेत्रमा हाल महिलाहरुको सहभागिता बाक्लै बन्न थालेको छ । निभा बैंकिङ्ग क्षेत्रमा महिलाको सहभागिता पनि बढ्दो रहेको बताउँछिन् ।

उनका परिवारमा सासु, ससुरा श्रीमान र २ छोरी रहेका छन् । रोजगारी गर्ने महिलाहरुलाई समय व्यवस्थापन निकै चुनौतिपूर्ण रहेको उनी बताउँछिन् । उनी परिवारलाई महिलाले बढी समय दिनुपर्ने र बढी समयको अपेक्षा राख्ने भएकाले पनि समय व्यवस्थापन निकै चुनौतीपूर्ण रहने बताइन् । तर, उनलाई उनका परिवारले निकै साथ दिइरहेका छन् । यद्यपी, आँफैलाई भने कहिलेकाँही परिवारलाई पर्याप्त समय दिन नपाएको अवसोच हुन्छ उनलाई । उनले प्राइभेट क्षेत्रमा कार्यरत रहँदा भन्दा राष्ट्र बैंकमा आएपछि परिवारलाई तुलनात्मक रुपमा बढी समय दिन सकेको बताइन् । प्राइभेट बैंकतिरभन्दा सरकारीका समयको हिसाबले सहज भएको उनको भोगाई छ ।

वित्तीय क्षेत्रमा सहज छ ‘करिअर ग्रोथ’

निभा आफ्नो कामप्रति सन्तुष्ट छिन् । सामान्य जीवन जिउन बैंकको जागीर राम्रो रहेको उनको बुझाई छ । बैंकिङ्ग क्षेत्रका विभिन्न कार्यक्रममा जाँदा महिलाको उपस्थिती कम हुँदा असहज हुने गरेको बताउँछिन् । महिला र पुरुषले बराबररुपमा अवसर पाउनुपर्ने उनको भनाई छ भने समाजले महिलालाई थोपरेका जिम्मेवारी परिवर्तन गर्न जरुरी समेत देख्छिन्। महिलाहरुलाई शिक्षासँग जोड्नुपर्ने, महिलाको सीप एवं वृद्धि विकासमा लगानी गर्नुपर्ने, स्थानीयस्तरमा महिलालाई अघि बढाउनुपर्ने लगायत उनको भनाइ छ । वित्तीय क्षेत्रको दायरा फराकिलो भएको हुँदा समय सान्दर्भिक सम्बन्धित क्षेत्रको ज्ञान, सीप हासिल गरि लगनशीलतापूर्वक कार्य गर्नेहरुका यस क्षेत्रमा ‘करिअर ग्रोथ’ का सम्भावना हरु रहेको उनको बुझाइ छ ।

(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री स.)