बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ। जसअनुसार पुनर्कर्जाको कुल सीमा २ खर्ब १२ अर्ब ८८ करोड पुगेको छ। पुनर्कर्जा पाइने व्यवसायिक दायरा पनि बढाइएको छ।
अब ब्रोडबेण्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्याउने गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरु, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरु तथा नेपाल सरकारबाट महामारी जन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न पनि पुनर्कर्जा रकम पाइनेछ। यसलाई विशेष पुनर्कर्जाका रुपमा वर्गीकरण गरिएको छ।
विद्युतीय सवारी साधनको लागि आवश्यक चार्जिङ्ग स्टेशन स्थापनाको लागि पनि पुनर्कर्जा पाइनेछ। यो बुँदालाई साधारण पुनर्कर्जामा राखिएको छ।
ऋणीले तिर्ने ब्याजदर भने यथावत राखिएको छ। लघु, घरेलु तथा साना उद्यमको लागि पुनर्कर्जाको ब्याजदर ५ प्रतिशत, विशेष पुनर्कर्जाको ३ र साधारण पुनर्कर्जाको ५ प्रतिशत तोकिएको छ।
अब पुनर्कर्जाको लागि आवेदन दिन ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरू तथा पूर्वाधार विकास बैंक योग्य हुनेछन्। यीबाहेक अरु व्यवस्था भने पुरानै राखिएको छ।
विशेष पुनर्कर्जाका लागि योग्य व्यवसाय
-सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जा।
-न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जा।
-रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जा।
-वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जा।
-कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जा।
-दश मेगावाट भन्दा साना जलबिद्युत्आयोजनाहरूमा प्रदान गरिएका कर्जा।
-ब्रोडवेण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्याउने गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरुमा प्रवाह भएका कर्जा।
-विद्युतीय भुक्तानी प्रणालीको समग्र इकोसिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरुमा प्रवाह भएका कर्जा।
-नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि प्रवाह भएका कर्जा।
साधारण पुनर्कर्जाका लागि योग्य व्यवसाय
– जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय।
-उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात,औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्यशिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जा।
-पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जा।
-कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरू अनुसूची–४ मा तोकिएका उद्योगलाई प्रवाहित कर्जा।
विद्युतीय सवारी साधनको लागि आवश्यक चार्जिङ्ग स्टेशन स्थापनाको लागि प्रवाह भएका कर्जा।
प्रतिक्रिया