बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले मुलुकमै पहिलोपटक आफूसँग आबद्ध क्यूआर मर्चेन्ट लक्षित फोन लोन सुविधा सुरु गरेको छ। यो सेवामार्फत क्यूआर मर्चेन्टले नबिल स्मार्ट बैंकिङ मार्फत बिना धितो घरमै बसेर कर्जा लिन सकिने बैंकले जनाएको छ।
बैंकले युएनसिडीएफसँगको सहकार्यमा साना तथा मझौला व्यवसाय गर्दैं आएका युवा तथा महिला उद्यमीलाई लक्षित गर्दै यो सुविधा ल्याएको हो।सेवाअन्तर्गत व्यवसायीले नबिलको क्यूआर मर्चेन्टमा एकल नाम दर्ता र नबिल स्मार्ट बैकिंङ लिनुपर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार व्यवसायीले अघिल्लो महिनामा पाँचवटा क्यूआर कारोबारबाट १० हजार रुपैयाँ बराबरको कारोबार गर्नुपर्ने र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार गर्नुपर्ने शर्त राखेको छ। नबिलले ल्याएको यो सुविधा पूर्णरुपमा डिजिटल सेवा हो। हामीले कुनै धितो बिना नै क्यूआर कारोबारलाई आधार मानेर हाम्रा क्यूआर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलोपटक यो सुविधा ल्याएको बैंकले जनाएको छ ।
यो सेवामार्फत साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने विश्वास बैंकको छ। यो सेवाअन्तर्गत व्यवसायीले सुरुवाती चरणमा एक महिनालाई एक लाख रुपैयाँसम्मको बिना धितो कर्जा लिन सक्ने जनाइएको छ। यसअघि बैंकले पहिलोपटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा ‘नबिल फोन लोन' ल्याएको थियो।



About Us
प्रतिक्रिया