विशाल सिमेन्टका पूर्वसञ्चालक क्रिप्टोकरेन्सीको कारोबारमा फसे, थुनामा पठाउन अदालतको आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
जिल्ला अदालत काठमाडौंले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त कारोबार गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँबढी बिगो माग दाबीसहित मुद्दा दायर भएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एक समूहले गत असार २९ गते श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठले हुण्डीमार्फत विदेशमा रकम पठाएको पत्ता लागेको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको उल्लेख गर्दै श्रेष्ठविरुद्ध बिगोको तीन गुणासम्म जरिवाना र सात वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्णरूपमा गैरकानुनी रहेको उल्लेख गर्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो । रासस