बैंकका कर्मचारीको क्षमता विकासमा लगानी गर्न आवश्यक छ ?

बैंकका कर्मचारीको क्षमता विकासमा लगानी गर्न आवश्यक छ ?


काठमाडौं – बैंक तथा वित्तीय संस्था अब्बल बन्न कर्मचारी सक्षम हुनु निकै आवश्यक छ । बैंक तथा वित्तीय संस्थाको वित्तीय पक्ष सबल बन्नुमा पनि कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । बैंक तथा वित्तीय संस्थामा कर्मचारीको जति महत्त्व रहन्छ त्यति नै कर्मचारी क्षमतावान् बन्न पनि आवश्यक छ । बैंकका कर्मचारीले विभिन्न परिस्थिति बुझेर कारोबार गर्नुपर्ने हुँदा क्षमतावान् बन्न आवश्यक हुन्छ ।

कर्मचारीको क्षमता विकासमा लगानी गर्नुपर्ने विभिन्न कारणहरू रहेको छन् । कर्मचारीको क्षमतामा वृद्धि हुँदा संस्थाले राम्रो प्रतिफल प्राप्त गर्न सक्दछ । साथै, कर्मचारीको क्षमता विकासले सीप, ज्ञान र दक्षता वृद्धि हुँदा उनीहरूलाई आफ्नो काममा प्रभावकारी र दक्ष बनाउन सहयोग पुग्दछ । त्यसैगरी, क्षमतावान् कर्मचारीहरूले आफ्नो कामलाई बढी दक्षतासाथ सम्पन्न गर्दा कम्पनीको उत्पादन क्षमता र कामको गुणस्तर पनि सुधार हुने हुँदा कर्मचारीको क्षमता विकासमा लगानी गर्न आवश्यक रहेको कतिपयको भनाइ छ ।

बैंक तथा वित्तीय क्षेत्र संवेदनशील क्षेत्र हुने हुँदा नयाँ नयाँ प्रविधिहरू भित्रिरहेका रहेका हुन्छन् । बैंकिङ्ग क्षेत्रमा प्रविधि भित्रिँदै जाँदा सोही प्रविधिमा केन्द्रित रहेर काम गर्न सक्ने गरी कर्मचारीको क्षमता विकास गर्नुपर्ने हुन्छ । क्षमता विकासले कर्मचारीलाई प्रविधिमा आएका परिवर्तनहरूमा समायोजित हुन सहयोग गर्दछ ।

कर्मचारीको क्षमता विकासमा लगानी गरेर संस्थाहरूले आफ्नो कर्मचारीहरूको पूर्ण क्षमता उपयोग गर्न सक्ने विज्ञको बुझाइ छ। बैंकका कर्मचारीहरूको क्षमता विकासमा लगानी गर्नु निकै आवश्यक विषयका रूपमा लिइन्छ । कर्मचारीको क्षमतामा लगानी गर्नाले बैंकहरुले गुणस्तर सेवा प्रदान गर्नुका साथै कर्मचारीले ग्राहकको आवश्यकताहरूलाई सहजै बुझ्न सक्छन् ।जसकारण ग्राहक सन्तुष्टि र विश्वासमा वृद्धि गर्दछ र बैंकको ब्रान्ड सुधार गर्न सहयोग पुग्दछ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा प्रविधिहरू भित्रिने क्रम जारी रहेको समयमा कर्मचारी क्षमतामा लगानी गर्नु निकै आवश्यक हुन्छ । बैंकहरूले डिजिटल प्लेटफर्म, मोबाइल बैंकिङ्ग र आर्टिफिशियल इन्टेलिजेन्स जस्ता प्रविधिहरू अपनाएर काम कारबाही अगाडी बढाईरहेका छन् । यस्तो समयमा कर्मचारीहरूलाई प्रविधिहरूमा सहजै काम गर्न सक्ने बनाउँदा बैंकको सेवाहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने हुन्छन् ।

नेपाल राष्ट्र बैंकले नै केही समयअघि सीएसआरको पैसाबाट १ प्रतिशत कर्मचारीको क्षमताका लागि खर्चिनु पर्ने नीति लिएको थियो । तत्कालिन गभर्नर चिरञ्जीवी नेपालले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको पैसाबाट १ प्रतिशत कर्मचारीको क्षमताका लागि खर्चिनु पर्ने नीति लिएका थिए । सो समयमा नेपालले बैंकहरु मर्जरमा जाँदा पनि विभिन्न तहमा कार्यरत कर्मचारीहरुको तह फरक हुने भएका हुनाले उनीहरूलाई एउटै खालको तालिम दिएर एकै लेभलमा पुर्‍याउन पनि बैंक प्रशासनको ३ प्रतिशत लगानी कर्मचारीको क्षमतामा छुटाउनुपर्ने व्यवस्था गरेका थिए ।

केन्द्रीय बैंकले हालसम्म पनि सो नियमलाई नै लागू गर्दै आएको छ । पूर्व गभर्नर नेपालले बैंकिङ्ग क्षेत्रमा छोटो समयमा धेरै प्रविधि भित्रिएको बताए । ‘प्रविधिले सबैभन्दा छिटो प्रभाव पार्ने क्षेत्र वित्तीय क्षेत्र हो’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘ वित्तीय क्षेत्रमा पहिले प्रभाव पार्ने भएकाले कर्मचारीहरूमा ट्रेनिङ्गको अत्यन्त आवश्यकता हुन्छ ।’ कर्मचारीहरूको क्षमता विकासमा लगानी गर्दा बैंकको लागि पनि निकै फाइदा पुग्ने विज्ञहरु बताउँछन् । कर्मचारीको क्षमता विकासमा लगानी गर्दा बैंकको नाफामा पनि वृद्धि हुने उनीहरूको बुझाइ छ ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बैंकहरुले केन्द्रीय बैंकको नीतिमा रहेर काम गर्दै आएको बताउँछन् । ‘नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार पनि सिएसआरको ३ प्रतिशत त खर्च गर्नैपर्छ ’ उनले भने, ‘ दक्ष कर्मचारी कुनैपनि संस्थामा हुन्छ भने उसले आफ्नो कार्य सम्पादन राम्रोसँग गर्न सक्छ । जसको रिजल्ट पनि राम्रो आउँछ ।’ उनले बैंकमा दक्ष कर्मचारी हुँदा बैंकसहित बैंकका ग्राहकलाई समेत प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने बताए ।