नेप्सेमा भारी गिरावट, आज ४९ अंकले घट्यो

नेप्सेमा भारी गिरावट, आज ४९ अंकले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा काराेबार भएका १३ वटै उपसमूह ओरालाे लागेका छन् । काराेबार रकम भने बुधबारकाे तुलनामा बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४९.०३ अंकले घटेर २५८४.६२ विन्दुमा झरेकाे छ । नेप्से १.८६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले घटेर ४८६.७६ विन्दुमा झरेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार एक सय २६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह घटेकाे छ ।
बिहीबार महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १२ कराेड ४३ लाख ३९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि २ कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । सामलिङ्ग पावरकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ७ रूपैयाँ ५० पैसा पुगेकाे छ । यस्तै, न्यादी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय १३ रूपैयाँ १० पैसा पुगेकाे छ ।

त्यस्तै, आज कर्पोरेट विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज १२ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।