डेढ वर्षपछि बीमा प्राधिकरणले पायो नेतृत्व, थापामाथि के–के छन् चुनौती ?


काठमाडौं – सरकारले नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी राजन बिक्रम थापालाई सुम्पिएको छ। हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकको भूमिकामा रहेका थापालाई सरकारले बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो। गत फागुनमा भएको निर्वाचनपछि बालेन शाहको नेतृत्वमा बनेको सरकारले आधा वर्ष लगाएर बीमा प्राधिकरणको अध्यक्षमा थापालाई नियुक्त गरेको हो।

सरकारले गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो। बीमा प्राधिकरणको अध्यक्ष छनोट समितिमा अर्थ सचिव डा. घनश्याम उपाध्याय सदस्य थिए भने विज्ञ सदस्यमा डा. फत्त बहादुर केसी थिए। उनीहरूले योग्य उम्मेदवारमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गरेकाथिए। जसबाट मन्त्रिपरिषद्ले थापालाई अध्यक्षको जिम्मेवारी दिएको हो।

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन्। शपथपछि अर्थमन्त्रीले विशेष निर्देशन दिँदै नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन समेत दिएका छन्। थापाले आज अर्थात् बिहीबारदेखि पदभार ग्रहण गरेका छन्।

डेढ वर्षदेखिको अस्थिर प्राधिकरण
बीमा प्राधिकरणको नेतृत्वमा करिब डेढ वर्ष यता भए निकै अस्थिरता देखिएको थियो। प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए। त्यसपछि प्राधिकरण स्थायी नेतृत्वबाट वञ्चित हुँदै आएको छ। सिलवालपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले कायम मुकायम रूपमा जिम्मेवारी सम्हाले । उनी करिब दुई महिना मात्र रहे। त्यसपछि तत्कालीन एमाले–काँग्रेस गठबन्धन सरकारले शरद ओझालाई चार वर्षका लागि अध्यक्ष नियुक्त गर्याे। तर, नियुक्तिदेखि नै विवादमा तानिएका ओझा पनि छ महिनाभन्दा बढी टिक्न सकेनन्।

ओझा हटेपछि सहसचिव सेवन्तक पोखरेललाई जिम्मेवारी दिइयो। तर, उनी पनि दुई महिनामै जिम्मेवारीबाट बाहिरिए। त्यसपछि सहसचिव जनकराज शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो। शर्मामाथि पनि पुनर्बीमा सम्बन्धी निर्णयमा विवाद उठेपछि दबाब बढेको थियो। हिमालयन रिको दायित्व अन्तर्गतको हिल्टन होटल पुनर्बीमा प्रकरणमा नियामकीय भूमिकाबारे प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए। त्यसपछि सचिव पौडेलले जिम्मेवारी सम्हालिरहेकी थिइन्। यसैबिचमा सरकारले लामो समय लगाएर प्राधिकरणको अध्यक्षमा थापालाई नियुक्त गरेको छ।

को हुन् नवनियुक्त अध्यक्ष थापा ?
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक पदमा कार्यरत थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो। थापासँग वित्तीय क्षेत्रमा तीनदशक लामो अनुभव छ। सन् १९९७ मा राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट अधिकृत तहमा प्रवेश गरेका हुन्। गोरखाको नरेश्वरमा जन्मिएका थापा राष्ट्र बैंक प्रवेश गरेको २९ वर्षपछि कार्यकारी निर्देशकसम्म बनेका थिए। यही चैतमा उनी अनिवार्य अवकाशमा जानेमा थिए। थापाले तीन दशम राष्ट्र बैंकमा बिताउँदा सहायक निर्देशक, उपनिर्देशक, निर्देशक हुँदै कार्यकारी निर्देशकसम्मको जिम्मेवारी सम्हालेका छन्।

उनले बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण, नियमन, संस्थागत योजना निर्माण र वित्तीय नीतिको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। नेपालमा सन् २००८ मा बासेल दोस्रो पुँजी पर्याप्तता ढाँचा लागू भएपछि त्यसको कार्यान्वयन तथा अनुगमनमा समेत उनले भूमिका निर्वाह गरेका थिए। नेपाल राष्ट्र बैंकमा रहँदा उनले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, संस्थागत योजना विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग तथा वीरगन्ज कार्यालयमा काम गरेका छन्।

यतिमात्र नभई थापाले निक्षेप तथा कर्जा सुरक्षण कोष र राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक समितिमा सदस्यका रूपमा समेत अनुभव सँगालिसकेका छन्। उनको अनुभव बीमा, वित्तीय सुरक्षा र संस्थागत लगानी व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यस्तै, थापाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा एमफिल गरेका छन्। त्यस्तै, पाटन बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर र शङ्करदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् भने उनले वाणिज्य शास्त्रमा स्नातकसमेत गरेका छन्। साथै, उनले भारतको सिंघानिया विश्वविद्यालयबाट नेपालका बैंकहरूमा संस्थागत सुशासनले जोखिम व्यवस्थापनमा पार्ने प्रभाव विषयमा विद्यावारिधि हासिल गरेका छन्। थापासँग बैंकिङ्ग १० वर्षभन्दा बढी अध्यापनको अनुभव छ। वित्तीय क्षेत्रको नियामकीय क्षमता, संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा उनको अनुभव छ।

यी हुन् थापामाथि रहेका चुनौती
लामो प्रक्रियापछि प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हालेका उनीमाथि विभिन्न चुनौतीहरू छन्। थापाको विभिन्न चुनौतीकाबिच बीमा क्षेत्रको साख जोगाउने प्रमुख चुनौती छ। अध्यक्ष थापाका सामु बीमा कम्पनीहरूमा संस्थागत सुशासन तथा नियामकीय अनुशासन सुदृढ बनाउने प्रमुख चुनौती देखिएको छ। यस्तै, बीमितको हित संरक्षण, दाबी भुक्तानी प्रक्रियाको प्रभावकारी अनुगमन, न्यूनतम पुँजी सम्बन्धी नीतिलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेछ।

बीमा विज्ञ रविन्द्र घिमिरे नयाँ अध्यक्षले सरोकारवालाको सुझावलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउँछन्। उनकाअनुसार बीमा बजार बिस्तार भएर झन्डै दुई खर्बको प्रिमियम उठ्ने भइसकेको अवस्थामा क्वान्टिटीमा नभएर सर्भिस क्वालिटीमा ध्यान दिनुपर्ने आजको आवश्यकता छ। ‘बीमा क्षेत्रका लागि एकेडेमिक कोर्सहरू चलाउने, लङ टर्म कोर्सहरू, सर्ट टर्म कोर्सहरू, ट्रेनिङ कोर्सहरू चलाएर इन्स्योरेन्स कम्पनीमा काम गर्ने कर्मचारी, प्राधिकरणमा काम गर्ने कर्मचारी, एजेन्टहरू, सर्भेयरहरूलाई सशक्त र क्वालिफाइड बनाउनुपर्ने आवश्यकता देखिन्छ’ उनले भने।

बीमा प्राधिकरणको मुख्य काम तथा जिम्मेवारी बीमा बजारलाई सुरक्षित, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउनु हो। तर, अहिले विभिन्न घोटला तथा अनियमिततामा प्राधिकरणकै नेतृत्व पनि मुछिँदै जाँदा गम्भीर प्रश्न उठ्दै आएका छन्। यस्तो अवस्थामा नयाँ अध्यक्षले प्राधिकरणको गरिमालाई ध्यानमा राख्नुपर्ने देखिएको छ। यता, बीमाका विषयमा विभिन्न विषयहरू बाहिरिएको समयमा प्राधिकरणका नेतृत्वले नियमित रूपमा बीमा कम्पनीहरूको वित्तीय अवस्था, लगानी, दाबी भुक्तानी, पुनर्बीमा व्यवस्था तथा संस्थागत सुशासनको मुल्यांकन गर्नुपर्ने बीमा क्षेत्रका विज्ञहरूको भनाई छ।