काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारको नियमन, सञ्चालन तथा प्रविधिगत पूर्वाधारलाई आधुनिक र सुरक्षित बनाउने उद्देश्यसहित ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ लागू गरेको छ। बोर्डले कात्तिक १७ गते जारी गरेको उक्त नीति कात्तिक १८ गतेदेखि लागू हुने व्यवस्था गरेको छ। नयाँ नीतिले धितोपत्र तथा वस्तु विनिमय बजारमा कृत्रिम बुद्धिमत्ता (एआई), नियामकीय प्रविधि (रेगटेक), सुपरिवेक्षकीय प्रविधि (सुपटेक) तथा साइबर सुरक्षाको प्रयोगलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ।
नीतिअनुसार पुँजी बजारमा प्रविधिको प्रयोगलाई विस्तार गर्दै बजारको पारदर्शिता, विश्वसनीयता, लगानीकर्ता संरक्षण र नियामकीय प्रभावकारिता अभिवृद्धि गरिनेछ। साथै, बजारमा हुने अस्वाभाविक कारोबारको पहिचान, जोखिमको पूर्वानुमान तथा तथ्यांकमा आधारित निर्णय प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। नयाँ नीतिसँगै बोर्डले २०७६ सालमा जारी गरेको नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति खारेज गरेको छ।
एआईमा आधारित कारोबार र एल्गोरिदमिक ट्रेडिङ
सेबोनको नयाँ नीतिले धितोपत्र कारोबार, बजार निगरानी तथा लगानीकर्ता सेवामा एआई र मेसिन लर्निङ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने व्यवस्था गरेको छ। नीतिअनुसार एल्गोरिदमिक कारोबार प्रणाली सञ्चालन गर्नुअघि सम्बन्धित धितोपत्र बजारको स्वीकृति लिनुपर्नेछ। त्यस्तो प्रणालीको विस्तृत विवरणसहितको प्रतिवेदन बोर्डमा पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। एआई तथा मेसिन लर्निङमा आधारित प्रणालीमा अनिवार्य रूपमा मानवीय निगरानी हुनुपर्ने र एआईले गर्ने निर्णयको प्रक्रिया व्याख्या गर्न सकिने हुनुपर्ने नीति रहेको छ।
साइबर सुरक्षा मापदण्ड अनिवार्य
पुँजी बजारको सूचना प्रविधि पूर्वाधारलाई सुरक्षित बनाउन बोर्डले साइबर सुरक्षा सम्बन्धी कडा व्यवस्था अघि सारेको छ। नीतिअनुसार नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) तथा क्लियरिङ हाउसजस्ता बजार पूर्वाधार संस्थाले वा बोर्डले स्वीकृत गरेको समकक्ष मापदण्डमा आधारित सूचना सुरक्षा व्यवस्थापन प्रणाली लागू गर्नुपर्नेछ।
त्यस्तै, बजार सहभागी संस्थाहरूले बोर्डले निर्धारण गरेको न्यूनतम साइबर सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ। बजार पूर्वाधार संस्थाहरूले सुरक्षा सञ्चालन केन्द्र स्थापना गर्नुपर्ने वा मान्यता प्राप्त सुरक्षा सेवा प्रदायकमार्फत चौबीसै घण्टा साइबर जोखिम निगरानीको व्यवस्था गर्नुपर्ने नीतिमा उल्लेख छ। कारोबार सञ्चालनमा प्रत्यक्ष असर पार्ने साइबर घटना भएमा सोही दिन बोर्डलाई जानकारी गराउनुपर्नेछ। अन्य महत्त्वपूर्ण साइबर घटना भएको अवस्थामा ७२ घण्टाभित्र जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।
पुँजी बजारको तथ्यांक नेपालभित्रै भण्डारण गर्नुपर्ने
नयाँ नीतिले धितोपत्र बजारसँग सम्बन्धित तथ्यांक नेपालभित्रै भण्डारण गर्नुपर्ने व्यवस्था गरेको छ। बोर्डले सार्वजनिक तथ्यांक, संवेदनशील व्यावसायिक तथ्यांक र व्यक्तिगत लगानीकर्ता तथ्यांक गरी तीन प्रकारको तथ्यांक वर्गीकरण ढाँचा जारी गर्नेछ।
त्यस्तै, बजारसम्बन्धी तथ्यांक तथा अभिलेख व्यवस्थापनका लागि केन्द्रीय तथ्यांक बैंकको विकास गरिनेछ। बजार सहभागी संस्थाहरूले विद्युतीय रूपमा सूचना प्रवाह तथा प्राप्ति गर्न सक्ने प्रणाली लागू गरिने र यसमा डिजिटल हस्ताक्षर अनिवार्य गरिने नीति रहेको छ। यही वर्ष २०८३ को भदौ महिनामा काठमाडौंमा सम्पन्न पहिलो नेपाल क्यापिटल मार्केट डिस्कोर्शमा यीनै विषयहरु समेटिएका थिए। सूचना र प्रविधिसँग सम्बन्धित छुट्टै सत्रगत छलफल नै राखेर डिस्कोर्शमा प्रविधिको विकास, प्रयोग र साइबर सुरक्षा लगायतका विषयमा छलफल भएको थियो।





About Us
प्रतिक्रिया