काठमाडौं – नेपालको पुँजी बजारको विकास, विस्तार र सुधारका विषयमा छलफल गर्दै ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ सम्पन्न भएको छ। डिस्कोर्समा नियामक, सरकारी अधिकारी, उद्योगी–व्यवसायी, ब्रोकर तथा मर्चेन्ट बैंकरहरूले बजारलाई आधुनिक, पारदर्शी र वास्तविक अर्थतन्त्रसँग जोड्ने गरी सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले बजार निगरानीलाई प्रभावकारी बनाउन एआईमा आधारित सुपरभिजन प्रणालीमा जाने तयारी भइरहेको बताए। उनले शेयर कारोबारमा मात्र सीमित नभई बण्ड, ऋणपत्र, स्टार्टअप तथा एसएमईलाई समेत पूँजी जुटाउने माध्यमका रूपमा बजार विकास गरिने जानकारी दिए। प्राथमिक बजारमा वास्तविक मूल्य पहिचानको प्रणाली विकास, आईपीओ प्रक्रिया सुधार र नयाँ ब्रोकर नियमावली ल्याउने तयारी भइरहेको पनि उनले बताए।
कार्यक्रममा बजार पुँजीकरणमा आएको गिरावट, प्रभावकारी सर्भिलेन्स, जोखिम व्यवस्थापन र हेजिङका उपकरण आवश्यक रहेको विषय उठाइएको थियो। साथै, सेबोनको स्वायत्तता तथा संस्थागत सुधार, ब्रोकरलाई इन्भेस्टमेन्ट बैंकिङ्गको दायरामा विस्तार र बजारमा सही मूल्य पहिचानको व्यवस्था गर्नुपर्नेमा वक्ताहरूले जोड दिए।
नेपालमा ७५–८० लाखको हाराहारीमा डिम्याट खाता रहे पनि सक्रिय लगानीकर्ता संख्या करिब १७ लाख मात्र रहेको भन्दै वित्तीय साक्षरता विस्तारलाई प्राथमिकता दिनुपर्ने बताइएको छ। ग्रामीण तहसम्म लगानीकर्ता शिक्षा पुर्याउनुपर्ने र लगानीकर्तालाई वित्तीय विवरण तथा ब्यालेन्ससिट बुझ्न सक्षम बनाउनुपर्नेमा पनि जोड दिइएको छ।
सेबीका कार्यकारी निर्देशक गोबिन्दायापाली राम मोहन रावले नेपाल ‘पुँजी बजार २.०’ मा प्रवेश गर्न लागेको बताउँदै आगामी १० वर्षका लागि स्पष्ट सुधार योजना आवश्यक रहेको बताए। समग्रमा, डिस्कोर्सले पुँजी बजारलाई उत्पादन, रोजगारी, उद्यमशीलता, विदेशी लगानी र आर्थिक वृद्धिसँग जोड्ने गरी नीतिगत तथा संस्थागत सुधार अघि बढाउनुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ।
डिस्कोर्सकाे उद्घाटन सत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल र मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष रामेन्द्र रायमाझीलगायतले पुँजी बजारको दीर्घकालीन विकास, लगानी विस्तार र वास्तविक अर्थतन्त्रसँगको सम्बन्धका विषयमा धारणा राखेका थिए। भारतीय पूँजी बजार नियामक सेक्युरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी)का कार्यकारी निर्देशक गोबिन्दायापाली राम मोहन रावले नेपालको पुँजी बजार सुधारका लागि दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका थिए।
डिस्कोर्सको पहिलो सत्र ‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशन : द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’ मा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य, सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्य, एफएनसीसीआई क्यापिटल मार्केट कमिटीका अध्यक्ष प्रिय राज रेग्मी, भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना र नेसनल क्यापिटलका संस्थापक तथा सीईओ अर्पण खनाल सहभागी हुँदै नयाँ वित्तीय उत्पादन, नीतिगत तथा कानुनी सुधार, सेबोनको स्वायत्तता, ब्रोकरको भूमिका र बजारमा मूल्य पहिचानको विषयमा छलफल गरेका थिए।
दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजार : सचेतना र साक्षरताको भूमिका’ मा सेबोनका कार्यकारी निर्देशक रुपेश केसी, इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष तुलसीराम ढकाल, नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्याल, अध्यन्ता फन्ड म्यानेजमेन्टका संस्थापक मनोज पौडेल र हिमालयन क्यापिटलका सीईओ परमेश्वर पन्तले लगानीकर्ता शिक्षा, वित्तीय साक्षरता, लगानीकर्ता संरक्षण तथा सक्रिय लगानीकर्ता विस्तारका विषयमा छलफल गरेका थिए।
त्यस्तै, तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तन : नेपालको पुँजी बजारको भविष्य’ मा नेपाल राष्ट्र बैंकका नायब कार्यकारी निर्देशक नारायण प्रसाद शर्मा, सीडीएस एण्ड क्लियरिङ लिमिटेडकी कामु सीईओ कञ्चन सपकोटा, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुली, सिटिजन्स शेयर ब्रोकरका सीईओ मनीष अर्याल र एनएमबी क्यापिटलका सीईओ दीपेश कुमार वैद्यले पुँजी बजारमा प्रविधिको प्रयोग, डिजिटल पूर्वाधार, कारोबार प्रणाली तथा नवप्रवर्तनको सम्भावनाबारे छलफल गरेका थिए। डिस्कोर्समा दुईवटा विशेष ‘डुओलग’ सत्रसमेत आयोजना गरिएको थियो। डिस्कोर्शमा सेबोन अध्यक्ष डा. भट्ट र सेबीका कार्यकारी निर्देशक गोबिन्दायापाली राम मोहन रावसँग डुओलग विशेष छलफल गरिएकाे थियाे।





















About Us
प्रतिक्रिया