‘फिनटेक इनोभेसनलाई प्रवर्द्धन गर्न फिनटेक इनोभेसन शोकेश इभेन्ट’


काठमाडौं – नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रलाई प्रवर्द्धन गर्न ‘एनआरबी फिनटेक इनोभेसन शोकेस इभेन्ट २०२६’ आयोजना गर्ने भएको छ। ‘आइडियाज् फर लास्टिङ इम्प्याक्ट’ अर्थात् दिगो प्रभावका लागि नवीन सोच भन्ने मूल नाराका आगामी नोभेम्बर २, २०२६ मा काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको परिसरमा कार्यक्रम आयोजना गर्न लागेको छ। केन्द्रीय बैंकले पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रमको लक्ष्य र उद्देश्य के कस्ता छन् भन्ने विषयमा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीसँग गरिएकाे कुराकानीको सम्पादित अंश:

राष्ट्र बैंकको आयोजनामा हुन लागेको ‘फिनटेक इनोभेसन शोकेश इभेन्ट’ के हो ?
२०८३ साल कात्तिक १६ गते नेपाल राष्ट्र बैंकको आयोजनामा राष्ट्र बैंकको बालुवाटार परिसरमा फिनटेक शोकेश इभेन्ट आइडियाज् फर लास्टिङ इम्प्याक्ट भन्ने थिमका साथ आयोजना गर्न गइरहेका छौँ। यसको मुख्य उद्देश्य फिनटेक इकोसिस्टमा रहेका सहभागीहरूसँग अन्तरक्रिया गर्ने, फिनटेक इनोभेसनलाई प्रवर्द्धन गर्ने हो। राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागमा रेगुलेटरी स्यान्डबक्स स्थापना गरेका छ। त्यसको कोर्ट पहिचान गर्न यस कार्यक्रम आयोजना गरिएको हो।

यस कार्यक्रममा कस्ता फिनटेक इनोभेशनलाई कसरी शो गर्न सकिन्छ ?
यसको लागि सहभागी हुन चाहनेले सर्वप्रथम नेपाल राष्ट्र बैंकमा आएर आफ्नो प्रदर्शनको लागि रहेको आइडियाको बारेमा जारकारी दिनुहुन्छ। जसबाट हामीले सीमित कम्पनीलाई छनौट गर्ने गर्दछौँ। आवेदन दिने अथवा प्रदर्शनमा राख्न चाहने सबैलाई ठाउँ दिन सक्ने अवस्था रहँदैन। नेपाल राष्ट्र बैंकले पहिलो पटक यस्तो कार्यक्रम गरेको हुँदा पनि छनौटमा परेकाहरूलाई मात्रै स्टल राख्न दिइन्छ। यहाँ बिना कुनै शुल्क कम्पनीहरूले आफ्नो स्टल राख्न सक्नेछन्।

कम्पनीहरूलाई हामी स्थान उपलब्ध गराउँछौँ। त्यो स्थानसँगै त्यहाँ छलफलका कार्यक्रमहरू पनि हुन सक्छन्। कम्पनीहरूले आफ्नो हिसाबले विभिन्न किसिमका इभेन्टहरु पनि गर्न सक्नेछन्। सहभागी हुन चाहने संस्थाहरूको आइडिया सबैतिर लैजानको लागि तथा प्रदर्शन गर्नको लागि हामीले फोरम दिने हो।

यो आयोजनाको मुख्य लक्ष्य के हो ?
हामी नियामक निकाय र बजारमा रहेका इकोसिस्टममा रहेका खेलाडी अथवा सहभागीहरूसँग अन्तरक्रिया बढाउने, बजारमा रहेका कम्पनीले कुनै वस्तु तथा सेवा विकास गरेका छन् भने त्यसलाई प्रदर्शन गर्न दिइन्छ। कुनै आईडिया तथा फिन्टेक सम्बन्धी कुनै सेवा वा प्लेटफर्महरूलाई प्रदर्शनमा राख्न सकिन्छ। भविष्यमा सफल हुनसक्ने फिन्टेक सम्बन्धी अथवा प्लेटफर्महरू अथवा ‘आइडिया’लाई राष्ट्र बैंक समक्ष लिएर आएर प्रदर्शन गर्न सकिन्छ। यस कार्यक्रममा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, मिडिया सरकारकारी निकायका पदाधिकारी, नियामक निकायका व्यक्तिहरूको पनि सहभागिता रहनेछ। सबै सरोकारवाला उपस्थित भएको ठाउँमा आफ्नो सेवालाई प्रस्तुत गर्ने एउटा मञ्च हो।

कार्यक्रमको थिम ‘आइडियाज् फर लास्टिङ इम्प्याक्ट’ राखिएको छ, किन ? कार्यक्रमको लक्षित समूह को हुन् ?
कुनै आइडियाहरु सानो देखिन्छन्। त्यसले नेपालको इकोसिस्टम फिनटेक इकोसिस्टमलाई भविष्यमा पनि दुर्गामी प्रभाव पार्ने गर्दछ। सानो आइडियाले कहिलेकाँही इकोसिस्सटमलाई नै परिवर्तन गर्ने हुन्छ। त्यस्तो प्रदर्शन गर्नको लागि कम्पनीहरुलाई प्रमोट गरेको हुनाले यस कार्यक्रमको थिम आइडियाज् फर लास्टिङ इम्प्याक्ट राखिएको हो।

यस कार्यक्रम फिनटेक कम्पनी तथा संस्थाहरुलाई लक्षित गरेर आयोजना गरिएको हो। यसमा फिनटेक सम्बन्धी सोलुसनहरु बनाउने कम्पनीहरु, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, राष्ट्र बैंकको नियमनभन्दा बाहिर रहेका इनोभेटर पनि हुन सक्छन्। उदाहरणको लागि हामीले फिनटेक एलायन्स भन्ने छ। फिन्टेक एलाइन्समा रहेकाहरु पनि सहभागी हुन सक्नेछन्।

यो कार्यक्रमले नेपालको वित्तीय तथा बैंकिङ्ग क्षेत्र अथवा फिनटेक कम्पनीहरुमा कस्तो प्रभाव पर्छ ?
राष्ट्र बैंकको काम फिनटेक भन्दा पनि पेटेक हो। भुक्तानीलाई हामीले नियमन गर्छौ। तर, भुक्तानी सँगसँगै ठुलो फिनटेक इकोसिस्टमको विकास गर्नुपर्छ भनेर हामीले एउटा फिनटेक स्ट्राटेजी पनि जारी गरेका छौँ। त्यो इकोसिस्टम डेभलपमेन्ट गर्नको लागि हामीले बजारमा के भइरहेको छ। नियामक पनि भएको हिसाबले बजारमा के कस्तो अब सेवा तथा प्लेटफर्म विकास भइरहेको छ भन्ने जान्नुपर्ने हुन्छ।

बजारमा रहेका कम्पनीहरूले पनि नियामक निकायसँग खुलेर आफ्ना आइडियाहरू प्रदर्शन गर्न सकेमा यो सिस्टमको विकास हुन्छ। जसकारण नै हामीले यो कार्यक्रम आयोजना गर्न गइरहेका छौँ। यो हाम्रो पहिलो अनुभव हो। नियामकले बजारका सहभागीहरूसँग अन्तरक्रिया गर्ने फोरम दियो भने फिनटेक इकोसिस्टममा एउटा कोसेढुंगा हुन्छ भन्ने लागिरहेको छ।

नेपालमा फिनटेक इनोभेशनको वर्तमान अवस्था कस्तो छ ?
फिनटेक इनोभेसनको वर्तमान अवस्था सन्तोषजनक छ। हामी अहिले कुन अवस्थामा छौँ भनेर हेर्न सक्ने स्केल छैन। कुन चरणमा छौँ भनेर हेर्न सक्ने टुल्स छैन । तर, अहिले भुक्तानीको पाटोमा धेरै विकास भइसकेको छ। भुक्तानी बाहेकको अरू सिस्टम पनि अब सन्तोषजनक नै देखिन्छ। तर, अब गर्ने काम धेरै बाँकी छ। हामीसँग जस्तै समान विकास भएका देशको तुलनामा हामी धेरै पछाडि पनि छैनौँ। तर, अझै पनि अब क्वालिटीको हिसाबमा चाहिँ धेरै काम गर्न पर्ने नै छ। फिनटेक इनोभेसनमा हामी धेरै पछाडि छैनौँ। तर, सुधारका ठाउँ अझै छ।

नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित, सहज र समावेशी बनाउन राष्ट्र बैंकले कस्तो भूमिका रहन्छ ?
नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित बनाउनको लागि राष्ट्र बैंकले निर्देशनहरू जारी गरिरहेको छ। सुरक्षाको लागि भनेर हामीले निर्देशनहरू जारी गरेका छौँ। हामी आफैले काम गर्ने भन्दापनि बजारमा रहेका सहभागीहरूलाई यस्तो गर्नु भन्ने किसिमले इकोसिस्टमको सुरक्षाको लागि भनेर हामी निर्देशनहरू जारी गरेका छौँ। हामीले जारी गरेका निर्देशन भित्र रहेर काम गर्ने कम्पनीहरूको जिम्मेवारी हो। हामीले राष्ट्र बैंक, नेपाल प्रहरी र अन्य नियासँग सहकार्य गरेर फिनटेक अथवा प्रविधिलाई सुरक्षित बनाउन काम गरिरहेका छौँ।

फिनटेक इनोभेसनलाई प्रोत्साहन गर्दा साइबर सुरक्षा, डिजिटल ठगी र उपभोक्ता संरक्षणका चुनौतीहरू पनि छन्। यसलाई कसरी समाधान गर्न सकिन्छ अथवा गरिरहनुभएको छ ?
साइबर सुरक्षा नेपालको मात्रै नभई संसारकै समस्या हो। यसलाई पूर्ण रुपमा अन्त्य गर्न सकिदैन केही नियन्त्रण गर्ने मात्रै हो। पछिल्लो समय संस्थाहरुलाई साइबर सुरक्षाको सन्दर्भमा निर्देशन जारी गरेका छौँ। धेरै सुधार पनि भएको छ। तर, डिजिटल इन्टेक बढ्दा साइबर ठगीका घटनाहपनि बढ्ने गर्दछ। यसको लागि राष्ट्र बैंकले निर्देशन जारी गर्ने, सर्वसाधरणमा चेतना फैलाउने, नेपाल प्रहरीसँगको सहकार्यमा एकीकृत साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारी गरिरहेका छौँ। यो केन्द्रको काम अन्तिम चरणमा छ। यसको नतिजा केही समयपछि बजारमा देखिन्छ। साइबर सुरक्षाका जुन घटना छन्। त्यो विस्तारै कम हुन्छ।

नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म डिजिटल वित्तीय सेवा पुर्‍याउन फिनटेकले कसरी सहयोग गर्न सक्छ ?
फिनटेकले वित्तीय सेवा नपुगेको ठाउँमा सरल र सुरक्षित हिसाबमा वित्तीय सेवा लैजाने हो। अहिलेको इकोसिस्टमको विकास हेर्ने हो भने सहर र गाउँ सबैतिर यो सेवा पुगेको छ। माग नभएमा सेवा पनि जाँदैन। अहिलेको फिनटेकको विकासले बैंक तथा वित्तीय संस्थाको शाखा संख्या पनि घटाउनुपर्ने देखिएको छ। यसले वित्तीय सेवा नपुगेको क्षेत्रलाई पनि समेट्छ।

नेपालमा डिजिटल भुक्तानी तथा वित्तीय प्रविधिको प्रयोग गर्दाको अहिलेको मुख्य चुनौतीहरू के–के हुन् ?
डिजिटल भुक्तानीको चुनौती भनेको सेवाको गुणस्तर हो। अर्को भनेको साइबर सुरक्षा नै हो। यस्तै, डिजिटल वित्तीय शिक्षाको पनि केही कमी देखिएको छ। यसबाहेक, प्रविधि पनि नेपालका सबै समुदायले चलाउने गरी विकास हुन सकेको छैन।