काठमाडौं – ५० हजार रुपैयाँ कमाउने लोभमा कसैले आफ्नो बैंक खाता र सिम कार्ड अरूको हातमा सुम्पिन सक्छ ? काठमाडौंको गौशाला क्षेत्रमा भएको एउटा घटनाले यो प्रश्नलाई फेरी एक पटक उठाएको छ। भदौ ६ गते साँझ गौशाला क्षेत्रबाट प्रहरीले सागर साह र आनन्द आचार्यलाई पक्राउ गर्यो। उनीहरूमाथि सर्वसाधारणलाई रकमको प्रलोभन देखाएर सिम कार्ड खरिद गर्न लगाउँदै विभिन्न बैंकमा खाता खोल्न लगाउने गरेको आरोप छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका पवक्ता दान बहादुर थापाका अनुसार उनीहरूले विभिन्न व्यक्तिलाई ५० हजार रुपैयाँ दिने प्रलोभन देखाएर एनसेललगायत दूरसञ्चार कम्पनीका सिम कार्ड खरिद गर्न लगाउँथे। त्यसपछि ती व्यक्तिका नाममा विभिन्न बैंकमा ई–बैंकिङ्ग र एटिएम सुविधासहितका खाता खोल्न लगाइन्थ्यो। ती खाता र सिम कार्डमार्फत हुन्डी, अनलाइन बेटिङ, अनलाइन गेम तथा अनलाइन ठगीलगायत गैर कानुनी गतिविधिबाट आएको रकमको कारोबार गर्ने गरेको थापा बताउँछन्।

प्रारम्भिक अनुसन्धानका क्रममा बैंक खाता, एटिएम तथा सिम कार्ड उपलब्ध गराएबापत ५० हजार रुपैयाँसम्म दिने प्रलोभन देखाएर एउटै व्यक्तिलाई विभिन्न बैंकमा २१ वटासम्म खाता खोल्न लगाएको खुलेको प्रहरीले जनाएको छ। उनीहरूले विभिन्न व्यक्तिका नाममा २६० भन्दा बढी बैंक खाता खोल्न लगाएको र ती खातासँग सम्बन्धित सिम कार्ड, मोबाइल बैंकिङ्ग तथा एटिएम कार्डसमेत आफ्नो नियन्त्रणमा लिएको अनुसन्धानबाट खुलेको छ।
प्रलोभनमा पारेर खाता तथा सिम कार्ड उपलब्ध गराएका व्यक्तिहरूलाई प्रतिबद्धता गरिएको रकम नदिएपछि उनीहरू शंकित भएका थिए। त्यसपछि केही व्यक्ति प्रहरीसमक्ष पुगेर उजुरी दिएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि बैंकिङ्ग कसरसम्बन्धी मुद्दामा पाटन उच्च अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यसैगरी, सोही प्रकारको घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुनसरीका ज्योति शाहीलाई पक्राउ गरेको छ। उनले कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा बैंक खाता खोलेर ती खाताहरूबाट करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ बराबरको रकम कारोबार गरेको पाइएको छ।
अनुसन्धानका क्रममा उनले शाही मनि ट्रान्सफरको नाममा ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेको पाइएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबरा बताउँछन्। प्रहरीले दुई दिनमा नै मनी म्युल खाता प्रयोग गरेर अवैध कारोबार गर्ने ३ जनालाई पक्राउ गरिसकेको छ। दुई वटा घटनामा प्रहरीले कूल ३ जना पक्राउ गरेको हो।
उनीहरूले सामाजिक सञ्जालमा आकर्षक अनलाइन रोजगारी तथा सजिलो कमाइका विज्ञापनका आधारमा सर्वसाधारणलाई प्रलोभनमा पार्ने र उनीहरूको नाममा बैंक खाता सञ्चालनमा ल्याउने गरेको पाइएको छ। प्रलोभनमा पर्ने सर्वसाधारणले सीमित कमाइको लोभमा आफ्नो नाममा बैंक खाता खोल्न अनुमति दिने तथा सिम कार्ड निकाल्न दिन तयार भइरहेका छन्।
एसएसपी ऋषिराम कँडेलका अनुसार केही व्यक्तिले सामान्य रकमको लोभमा आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न दिने गरेका छन्। तर, पछि उक्त खातामार्फत गैर कानुनी कारोबार भएको अवस्थामा खातावालालाई त्यसबारे जानकारी नभए पनि अनुसन्धानका क्रममा अभियुक्तका रूपमा जोडिनुपर्छ। खाता प्रयोग गर्न दिएको व्यक्तिले गरेको कारोबारका कारण वास्तविक रूपमा पीडित भएका खातावालासमेत अनुसन्धान र कानुनी प्रक्रियामा तानिन सक्ने जोखिम रहेको कँडेलले बताए। उनका अनुसार आर्थिक लाभको सामान्य प्रलोभनमा बैंक खाता, मोबाइल बैंकिङ्ग वा अन्य वित्तीय माध्यम अरूलाई प्रयोग गर्न दिनु जोखिमपूर्ण हुन सक्छ।

त्यसैले आफ्नो बैंक खाता तथा वित्तीय विवरणको सुरक्षा र प्रयोगप्रति सर्वसाधारण स्वयं सचेत हुन आवश्यक छ। यस्ता जोखिम न्यूनीकरणका लागि वित्तीय साक्षरता तथा जनचेतना विस्तारलाई प्राथमिकता दिनुपर्ने उनले बताए। अनलाइन रोजगारी र डिजिटल कारोबारको विस्तारसँगै आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न दिने, खातामा रकम जम्मा गर्न दिने, पैसा निकालेर अर्को खातामा पठाइदिने वा कमिसन लिएर कारोबार गरिदिने प्रवृत्ति बढ्दै गएको देखिन्छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रविण धितालका अनुसार धेरैजसो व्यक्तिलाई आफ्नो बैंक खाताबाट भइरहेको अवैध कारोबारबारे जानकारीसमेत नहुन सक्छ। तर, कानुनले आफ्नो नाममा खोलिएको बैंक खाता अरूलाई प्रयोग गर्न दिनुलाई गैर कानुनी मानेकाले ‘थाहा थिएन’ भन्ने बहानाले उन्मुक्ति नपाइने उनी बताउँछन्। कुनै पनि खातामा शङ्कास्पद कारोबार देखिएमा सबैभन्दा पहिले खाता धनी नै अनुसन्धानको दायरामा पर्छन्। कारोबारको मुख्य योजनाकार पत्ता लागे पनि प्रारम्भिक अनुसन्धान खातावालामाथि केन्द्रित हुने गर्छ।
‘मनी म्युल’मार्फत ठगी, साइबर अपराध वा अन्य गैर कानुनी गतिविधिबाट प्राप्त रकम विभिन्न बैंक खातामा सारेर त्यसको वास्तविक स्रोत लुकाउने प्रयास हुन सक्छ। विशेष गरी सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका व्यक्तिले आकर्षक कमिसनको प्रलोभन देखाएर अरूको बैंक खाता प्रयोग गर्न लगाउने जोखिम रहन्छ। कतिपय व्यक्ति आफू आपराधिक कारोबारमा संलग्न भइरहेको जानकारी नै नपाई यस्तो गतिविधिमा फस्न गरेका छन्। विशेष गरी फेसबुक, टिकटक, ह्वाट्सएप वा अन्य सामाजिक सञ्जालमा ‘खाता प्रयोग गर्न दिनुस्, सजिलै कमाइ हुन्छ’, ‘कमिसन पाइन्छ’ वा ‘पैसा पठाइदिए मात्र हुन्छ’ जस्ता प्रस्ताव आएमा विशेष सावधानी अपनाउन आवश्यक छ।






About Us
प्रतिक्रिया