काठमाडौं – अविरल वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा पहिरो, सडक भासिने तथा नदीको बहाव बढ्दा सडक तथा पुलहरू अवरुद्ध भएका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारस्थित बेँसीसहर–मनाङ सडक सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, स्याङ्जाको गल्याङ नगरपालिका–३ चिन्नेपानीस्थित सिद्धार्थ राजमार्ग पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको छ। कास्कीको पोखरा महानगरपालिका–३१ चौर क्षेत्रमा पहिरो खसेपछि बेगनास–भोर्लेटार सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी र वडा नम्बर ८ पुल्चोक जोड्ने सहायक पुल क्षेत्रमा सेती नदीको बहाव बढेर पानी सडकतर्फ बगेपछि सडक अवरुद्ध भएको छ। नवलपुरको बुलिङटार गाउँपालिका–२ भाँङबारी क्षेत्रमा कालीगण्डकी नदीको बहाव बढेर सडकको सतहसम्म पुगेपछि कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया