काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदिमा आएको बाढी प्रभावित नुवाकोट जिल्लाको विभिन्न ठाउँका करीव ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ। गत भाद्र १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको दक्ष चिकित्सकसहितको टोलीले नुवाकोटको आयुर्वेद चिकित्सालय, क्रीयापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय, नुवाकोट स्वास्थ्य चौकी लगायतका ठाउँहरुमा हेल्थ क्याम्प खडा गरी स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको हो।
सो क्षेत्रको समग्र कमाण्ड प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा.शैलेन्द्र कुमार दुवाल श्रेष्ठले सम्हाँल्दै आईरहेका छन्, भने स्वास्थ्य उपचारमा प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुली, प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा.गंगाराम खत्री खटिएकाे थिए। हाल प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा.शोभा डंगोल अझै पनि सो क्षेत्रमा निरन्तर खटिदै आइरहेका छन्। त्यस्तै, सो टोलीले नुवाकोटको विदुर नगरपालिका, बेलकोट गढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा रहेका २५ वटा होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितहरुको समेत स्वास्थ्य परिक्षण गरेको हो।
यसका साथै नुवाकोटस्थित केन्द्रीय कारागार भित्र फैलनसक्ने सम्भावित सरुवा रोग तथा स्वास्थ्य समस्यालाई ध्यानमा राखी सशस्त्र प्रहरी बल नेपालको चिकित्सकसहितको टोलीले विशेष स्वास्थ्य परीक्षण गर्नुकासाथै ४ सय २ जना कैदीबन्दीहरुलाई आवश्यक स्वास्थ्य सम्बन्धी परामर्श समेत प्रदान गरेको हो। सशस्त्र प्रहरी बल नेपालको चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले विरामीको उपचारमा मात्र सिमित नरही वातावरणीय स्वच्छता कायम तथा विपद् पश्चात फैलन सक्ने महामारी नियन्त्रणको लागि नुवाकोटको देवीघाट बजार क्षेत्र, देवीघाट माध्यमिक विद्यालय परिसर र केन्द्रीय कारागार नुवाकोट क्षेत्रमा किटनाशक औषधी छरेको थियो।






About Us
प्रतिक्रिया