काठमाडौं – अविरल वर्षा, बाढी पहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। प्राकृतिक विपद्का कारण विद्युत् आपूर्ति प्रभावित हुनुका साथै विभिन्न जलविद्युत् आयोजनाको उत्पादनसमेत प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत समस्या आएको छ। प्रसारण लाइनमा आएको समस्याका कारण कालीगण्डकी करिडोरमा जोडिएका करिब ३५८ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्य मर्स्याङ्दी, मर्स्याङ्दी र मोदीलगायतका जलविद्युत् केन्द्रको उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ।
बाढी पहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी तथा ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन, वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ। सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
भारी वर्षा, बाढी पहिरो र अवरुद्ध सडकका कारण केही क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ। सडक तथा पहुँच मार्ग खुल्नासाथ थप टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा विद्युत् आपूर्ति पुनः स्थापनाको कार्य तीव्र बनाइने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकताका साथ सबै उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको छ।






About Us
प्रतिक्रिया