‘बैंक स्टेटमेन्ट’देखि सबैजसो नक्कली कागजात बनाउनेको बिगबिगी, समूह नै बनाएर बनाउँछन् ‘फेक डकुमेन्ट’


काठमाडौं – प्रहरीले तारकेश्वरबाट गत जेठमा नक्कली कागजात बनाउने तीन जनालाई पक्राउ गर्यो। उनीहरू विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात सक्कली जस्तै बनाएर बेच्ने गर्थे। पक्राउ परेपछि उनीहरूले विगत ८ वर्ष अघिदेखि नै नक्कली कागजात बनाउँदै आएको खुल्यो।

साथै, अनुसन्धानमा सङ्लन प्रहरी अधिकृतले सो समूहले बनाएको नक्कली कागजात सक्कली बराबरकै हुने गरेको पाए। विशेष गरी त्यो समूहले अस्ट्रेलिया जानेहरूका लागि नक्कली लाइसेन्स बनाउने गरेका थिए।

त्यस्तै गत साउनमा विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गरेको अभियोगमा काठमाडौं महानगरपालिका– १० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई प्रहरीले पक्राउ गर्याे। सफराजले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू बनाउने गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको थियो।

साथै, अनुसन्धानमा सङ्लन प्रहरी अधिकृतले सो समूहले बनाएको नक्कली कागजात सक्कली बराबरकै हुने गरेको पाए। विशेष गरी त्यो समूहले अस्ट्रेलिया जानेहरूका लागि नक्कली लाइसेन्स बनाउने गरेका थिए।

उनले विगत २ वर्ष देखि आफ्नै पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय तथा राजनैतिक पार्टीहरूको नक्कली छाप, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको लेटर प्याड, बैंकिङ्ग कारोबारको विवरण र नक्कली रबर स्ट्याम्प समेत तयार गर्ने गरेको खुलेको थियो। 

यसैगरी, २०८० सालको पुसमा पनि नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा काभ्रेपलान्चोक तेमाल गाउँपालिका– ८ घर भई काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबि भन्ने दिल बहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङलाई प्रहरीले पक्राउ गर्यो।

प्रहरीले वर्षीनी यस्ता कयौं व्यक्तिहरूलाई पक्राउ गर्दै आइरहेको छ। पछिल्लो समय देशभर नक्कली कागजात बनाएर सक्कली काम गर्नेहरूको संख्या तीव्र रूपमा बढ्दै गइरहेको छ। प्राविधिक दक्षता र प्रिन्टिङ प्रविधिको दुरुपयोगका कारण अब नक्कली र सक्कली कागजात छुट्याउनै कठिन बन्न थालेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्। वैदेशिक रोजगारीका लागि किर्ते कागजात बनाएर पासपोर्ट, भिसा र श्रम स्वीकृति लिनेहरू बढ्दै गएका छन्।

त्यस्तै, नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी सरकारी वा निजी निकायमा रोजगारी पाउने प्रवृत्ति समेत तीव्र बनेको छ। यसले वास्तविक शैक्षिक योग्यता प्राप्त गरेर रोजगारी खोज्ने व्यक्तिहरूलाई गम्भीर असर परेको सरोकारवालाहरू बताउँछन्। नक्कली प्रमाणपत्र निर्माणमा संलग्न गिरोहहरू अत्याधुनिक प्रविधिको प्रयोग गर्ने गर्छन्। जसले गर्दा सक्कली र नक्कली कागजात छुट्याउन सम्बन्धित निकायका लागि पनि चुनौतीपूर्ण बनेको छ। यो प्रवृत्तिले देशको शैक्षिक तथा प्रशासनिक विश्वसनीयता नै संकटमा पारिरहेको छ।

पछिल्ला दिनहरूमा अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका मुलुकमा अध्ययन वा रोजगारीका लागि जाने युवाहरूले आफ्नो आर्थिक स्तर राम्रो देखाउनका लागि किर्ते कागजातको प्रयोग गर्ने गर्छन् । युवाहरू किर्ते कागजात बनाउनेहरूको भ्रममा परी नक्कली प्रमाणपत्र तयार गराएर विदेश जान्छन् । ती कागजातहरूमा शैक्षिक योग्यता, कार्य अनुभव वा बैंक स्टेटमेन्टसमेत फर्जी बनाइने गरेको पाइन्छ । नक्कली कागज पत्रको नै प्रयोग गरी सरकारी जागिरसम्म खानेहरू पक्राउ पर्ने गरेका छन् ।

अन्य सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना र माथि लेखिएदेखि बाहेक अन्य कुरा किर्ते गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।

प्रहरीले किर्ते कागजात बनाउने समूहमाथि लगातार कारबाही गर्दै आएको छ। पछिल्ला वर्षहरूमा यस्ता कागजात बनाउने थुप्रै व्यक्ति पक्राउ परेका छन्। तर, ती किर्ते कागजात प्रयोग गर्नेहरू भने अत्यन्तै सानो संख्यामा मात्र पक्राउ पर्ने गरेको पाइएको छ। प्रायजसो अवस्थामा नक्कली कागजात प्रयोग गरी जागिर, नागरिकता, जग्गा र बैंकिङ्ग कारोबारमा ठगी गर्ने व्यक्तिहरू सजिलै बच्ने गरेको तथ्यांकले देखाउँछ।

प्रत्येक वर्ष पक्राउ पर्छन् सयौँ

आर्थिक वर्ष (आव) २०७५/७६ मा नेपालभरबाट प्रहरीमा कागजात किर्ते गर्ने सम्बन्धी १२२ वटा मुद्दा दर्ता भएको थियो। सो आवमा २२४ जना स्वदेशी र ३ जना विदेशी नागरिक पक्राउ परेका थिए। भने आव २०७६/२०७७ मा प्रहरीमा कागजात किर्ते गर्ने सम्बन्धी १ सय ७ वटा मुद्दा दर्ता भएको थियो। सो आवमा १ सय ६ जना स्वदेशी एक जना विदेशी नागरिक उक्त केसमा पक्राउ परेका थिए। त्यस्तै, आव २०७७/२०७८ मा कागजात किर्ते गर्ने सम्बन्धी प्रहरी ५२ वटा मुद्दा दर्ता भएको थियो। सो आव उक्त केसमा ४८ जना पक्राउ परेका थिए। साथै, आव २०७८/७९मा प्रहरीमा ६३ वटा मुद्दा दर्ता भएको थियो। भने सो आवमा ५७ जना पक्राउ परेका थिए। 

त्यस्तै, आव २०७९/८० मा प्रहरीमा कागजात किर्ते गर्ने सम्बन्धी ७७ वटा मुद्दा दर्ता भएको थियो, भने ५ जना विदेशी र ६६ जना स्वदेशी पक्राउ परेका थिए। आव २०८०/८१मा प्रहरीमा कागजात किर्ते गर्ने सम्बन्धी ५१ वटा मुद्दा भएको थियो। सो आवमा १ जना विदेशी र २९ जना स्वदेशी पक्राउ परेका थिए। साथै, गत आव २०८१/२०८२ मा प्रहरीमा कागजात किर्ते गर्ने सम्बन्धी ३९ वटा मुद्दा दर्ता भएको थियो। त्यस वर्ष १८ जना उक्त केसमा पक्राउ परेका थिए। 

किर्ते गर्नेलाई के हुन्छ कारबाही ?

कागजात किर्ते गर्नेहरू लाई लिखित कसुर मा मुद्दा दर्ता गर्ने गरिन्छ। किर्ते कागजात तयार पार्ने वा प्रयोग गर्ने व्यक्तिहरूमाथि नेपालको फौजदारी संहिता, २०७४ अनुसार कडा सजायको व्यवस्था गरिएको छ। सो संहिताको दफा २७६ अनुसार किर्ते कागजात बनाउने, प्रयोग गर्ने वा अरूलाई त्यस्तो कार्य गर्न सहयोग गर्ने व्यक्ति प्रमाणित दोषी ठहरिएमा १० वर्षदेखि ३ वर्षसम्म कैद जरिवाना हुन सक्छ।

साथै, राष्ट्रपतिबाट प्रमाणीकरण भएको लिखत किर्ते गर्नेलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना, प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको लिखत किर्ते गर्नेलाई खण्डमा दश वर्षसम्म कैदको व्यवस्था छ। साथै, एक लाख रुपैयाँसम्म जरिवाना, अदालतको फैसला वा आदेश किर्ते गर्नेलाई आठ वर्षसम्म कैद र असी हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। अन्य सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना र माथि लेखिएदेखि बाहेक अन्य कुरा किर्ते गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।