पक्राउ पर्दा खुल्छ अपराधको इतिहास: प्रहरीको सिस्टमले देखाउँछ पटके अपराधीको पुरै कुण्डली


काठमाडौं – कुनै व्यक्ति पक्राउ परेपछि प्रहरीले अब तत्कालको अपराध मात्रै हेर्दैन, उसको विगतको आपराधिक इतिहास पनि एकै क्लिकमा हेर्छ। कसरी, कहाँ, कति पटक, कुन कुन मुद्दामा पक्राउ परेको थियो भन्ने सबै विवरण क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा देखिन्छ। यही प्रणालीका आधारमा प्रहरीले एउटै व्यक्ति पटक पटक अपराधमा संलग्न भएको पाइए ‘पटके अपराधी’ भनेर छुट्टै निगरानीमा राख्ने गरेको छ।

प्रहरीले पछिल्लो समय यस्ता व्यक्तिहरूलाई पक्राउ गर्दा उनीहरूको पुरानो अपराध इतिहाससमेत सार्वजनिक गर्न थालेको छ। यसले एउटै व्यक्ति बारम्बार अपराधमा संलग्न भएको तथ्य सर्वसाधारणसमक्ष पुग्ने र प्रहरीले निरन्तर कारबाही गरिरहेको सन्देश जाने प्रहरीको भनाइ छ। प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार आर्थिक अवस्था, गलत संगत, लागूऔषध दुर्व्यसन र आपराधिक मानसिकताका कारण केही व्यक्तिहरू बारम्बार अपराधमा फर्किने गर्छन्।

प्रहरीले प्रयोग गर्दै आएको यो प्रणाली राष्ट्रिय अपराध अभिलेखालयसँग जोडिएको छ। कुनै व्यक्ति पक्राउ परेपछि प्रहरी कार्यालयले उसको नाम, विवरण र परिचयका आधारमा सीआरएसमा खोजी गर्छ। त्यसपछि उक्त व्यक्ति विगतमा कति पटक पक्राउ परेको, कुन-कुन कसुरमा अनुसन्धान भएको, अदालतमा मुद्दा विचाराधीन छ कि छैन, कैद वा जरिवाना बाँकी छ कि छैन भन्ने सम्पूर्ण विवरण देखिन्छ। प्रहरीले त्यसैका आधारमा व्यक्ति पटके अपराधी हो कि होइन भन्ने छुट्याउँछ।

हालै जिल्ला प्रहरीले कार्यालय कास्कीले स्याङ्जाकी अम्बिका पुलामी मगरलाई बालबालिकालाई फकाएर सुनका मुन्द्रा चोरी गरेको आरोपमा पक्राउ गर्याे। सामान्य चोरी घटनाजस्तो देखिएको यो प्रकरणमा प्रहरीले सीआरएस जाँच गर्दा उनको पुरानो रेकर्ड खुलेको थियो। प्रहरीका अनुसार उनीविरुद्ध चोरी तथा डाँका सम्बन्धी १८ वटा कसुरमा कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेको भेटियो। अर्थात्, नयाँ पक्राउसँगै पुरानो आपराधिक इतिहास पनि खुल्यो।

यस्तै, तनहुँका सन्तोष रानाभाट वैशाख १५ गते फेरि पक्राउ परे। प्रहरीको अभिलेख अनुसार उनी २०६१ सालदेखि विभिन्न अपराधमा संलग्न हुँदै आएका छन्। हालसम्म उनीविरुद्ध ३७ वटा मुद्दा दर्ता भइसकेका छन्। तीमध्ये २२ वटा अभद्र व्यवहारका, १३ वटा चोरीका, एक हातहतियार खरखजना र एक लागु औषधसम्बन्धी मुद्दा रहेका छन्। एउटै व्यक्तिविरुद्ध यति धेरै मुद्दा दर्ता हुनु प्रहरीले उनलाई उच्च जोखिम समूहमा राख्नुको मुख्य आधार बनेको छ।

गत कात्तिकमा पक्राउ परेका कृष्णबहादुर खड्काको रेकर्ड झन् चकित पार्ने खालको थियो। चोरी र लुटपाटका घटनामा उनी ३८ पटक पक्राउ परिसकेका थिए। प्रहरी अभिलेखले पटक पटक पक्राउ परे पनि उनी फेरि उही प्रकृतिको अपराधमा फर्किरहने गरेको देखाएको छ। यस्तो इतिहासले प्रहरीलाई कुनै अभियुक्तको प्रवृत्ति बुझ्न सहयोग पुग्ने बताइन्छ। 

प्रहरी प्रवक्ता काफ्लेका अनुसार एउटै व्यक्ति बारम्बार कानुनी दायरामा आउँदा उसको मानसिकता र आपराधिक प्रवृत्ति बुझ्न सजिलो हुन्छ। यस्ता व्यक्तिलाई सामान्य अभियुक्तभन्दा बढी गम्भीर रूपमा हेरिन्छ। किनकि उनीहरू पुनः अपराध दोहो¥याउने सम्भावना बढी हुने जोखिम समूहमा पर्छन्। उनी भन्छन्, ‘सीआरएसले अपराधको संख्या मात्र होइन, व्यक्तिको चरित्रगत ढाँचा पनि देखाउँछ।’

प्रहरीले यो प्रणाली अपराधमा पक्राउ परेकाहरूका लागि मात्र प्रयोग गर्दैन। आवश्यक परे कुनै व्यक्तिको चारित्रिक पृष्ठभूमि बुझ्न पनि प्रयोग गरिन्छ। अनुसन्धानका क्रममा अन्य कुनै उजुरी, बाँकी सजाय, अदालतमा विचाराधीन मुद्दा वा फरार स्थिति भए नभएको जाँच पनि यही प्रणालीबाट हुन्छ। यदि अभियुक्तले पुरानो मुद्दामा सजाय बाँकी राखेको छ भने पुनः पक्राउसँगै बाँकी प्रक्रिया अघि बढाइन्छ। सीआरएस अहिले देशभरका सबै जिल्ला प्रहरी कार्यालयमा प्रयोगमा छ। यसले प्रहरीलाई अभियुक्तको सम्पूर्ण इतिहास तुरुन्तै उपलब्ध गराउँछ। परिणामतः कुनै व्यक्ति पक्राउ परेपछि त्यो एक दिनको घटना मात्रै हुँदैन, प्रहरीको कम्प्युटरमा उसको विगतका सबै फाइल खुल्छन्। 

अपराधको रेकर्डले तय गर्छ विदेश यात्रा पनि, क्रिमिनल रेकर्ड हेरेरै बन्छ चारित्रिक प्रमाणपत्र

प्रहरीले क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अपराधी पहिचानका लागि मात्र भने प्रयोग गर्दैन। यसकै आधारमा सर्वसाधारणलाई दिइने चारित्रिक प्रमाणपत्र दिने गरिएको छ। प्रहरीले विभिन्न प्रयोजन विशेष गरी वैदेशिक रोजगारी, अध्ययन, भिसा प्रक्रिया वा सरकारी सेवाका लागि माग गरिने चारित्रिक प्रमाणपत्र यही प्रणालीमा भएको अभिलेख जाँच गरेर जारी गर्ने गरेको जनाएको छ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार चारित्रिक प्रमाणपत्र जारी गर्नु अघि सम्बन्धित व्यक्तिको विवरण राष्ट्रिय अपराध अभिलेखालयमा रहेको सीआरएसमा प्रविष्ट गरिन्छ। त्यसपछि उक्त व्यक्तिविरुद्ध कुनै मुद्दा दर्ता छ कि छैन, उजुरी परेको छ कि छैन, आपराधिक गतिविधिसँग जोडिएको रेकर्ड छ कि छैन भन्ने सबै विवरण जाँचिन्छ। सोही आधारमा मात्र प्रमाणपत्र जारी गरिन्छ। यसको अर्थ कुनै व्यक्ति सामान्य नागरिक भए पनि प्रहरीको अभिलेखमा उसको नाम कुनै आपराधिक गतिविधि, उजुरी वा अनुसन्धानसँग जोडिएको छ भने त्यसले चारित्रिक प्रमाणपत्रमा असर पार्न सक्छ। 

पछिल्ला वर्षमा विशेष गरी युवा पुस्ता वैदेशिक रोजगारीका लागि विदेश जाने क्रम बढेसँगै चारित्रिक प्रमाणपत्रको माग पनि उल्लेख्य रूपमा बढेको प्रहरीले जनाएको छ। विदेश जानुअघि विभिन्न देशका दूतावास, रोजगारदाता वा सम्बन्धित निकायले चारित्रिक प्रमाणपत्र अनिवार्य माग गर्ने भएकाले यो कागजातको महत्त्व बढेको हो।

प्रहरीका अनुसार अहिले भिसा प्रक्रियामा पनि चारित्रिक प्रमाणपत्र निर्णायक बन्न थालेको छ। कतिपय मुलुकले भिसा स्वीकृत गर्ने वा नगर्ने निर्णय गर्दा आवेदकको चारित्रिक रिपोर्टलाई आधार बनाउने गरेका छन्। यसैले व्यक्तिको विगतको कानुनी अवस्था विदेश जाने अवसरसँग प्रत्यक्ष जोडिएको देखिन्छ।

सीआरएस प्रणाली प्रहरी भर्ती प्रक्रियामा पनि प्रयोग हुने गरेको छ। कुनै व्यक्ति प्रहरीमा भर्ना हुनुअघि पनि सोही प्रणालीबाट उसको आपराधिक र चारित्रिक पृष्ठभूमि जाँच गरिन्छ। यसले प्रहरीमा प्रवेश गर्ने व्यक्तिको विगतमा कुनै मुद्दा, उजुरी वा कानुनी विवाद छ कि छैन भन्ने छुट्याउन सहयोग गर्छ। सीआरएसले व्यक्ति अपराधमा संलग्न छ वा छैन भन्ने मात्र देखाउँदैन, उसले आफ्नो कानुनी दायित्व कत्तिको पूरा गरेको छ भन्ने जानकारी दिने प्रहरीको भनाइ छ। प्रहरी अधिकारीहरूका अनुसार आफ्नो समाजमा चारित्रिक रिपोर्ट राम्रो राख्न व्यक्ति आपराधिक गतिविधिबाट टाढा रहन र कानुनी दायित्व पूरा गर्नुपर्ने परिपाटी विकास हुँदै गएको छ।