काठमाडौं – नेपालमा लागु औषध कारोबार र दुर्व्यसनको समस्या भयावह बन्दै गएको प्रहरी तथ्यांकले गरेको छ। पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै ३७ हजार १ सय ७९ जना लागु औषध कारोबार तथा सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। यस अवधिमा प्रहरीमा लागु औषधसम्बन्धी उजुरीको संख्या पनि लगातार बढ्दो क्रममा रहेको छ।
प्रहरीका अनुसार दैनिक औसत १५ देखि २० जनासम्म लागु औषधसहित पक्राउ पर्ने गरेका छन्। युवापुस्तालाई लक्षित गर्दै फैलिएको लागु औषधको सञ्जालले समाजमा अपराध, असुरक्षा र स्वास्थ्य सङ्कट थप गम्भीर बनाएको छ। विद्यालय कलेजका विद्यार्थी, बेरोजगार युवा तथा विदेश जाने तयारीमा रहेका युवाहरू सबैभन्दा बढी जोखिममा रहेको प्रहरीको निष्कर्ष छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ३७ हजार १ सय ७९ जना लागु औषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये १ हजार ४ सय २ जना भारतीय नागरिक छन् भने अन्य विभिन्न मुलुकका १ सय ३ जना विदेशी नागरिक पनि पक्राउ परेका छन्। यसले नेपालमा लागु औषध कारोबारमा नेपाली मात्र नभई सीमा पार तथा अन्तर्राष्ट्रिय सञ्जालको समेत संलग्नता रहेको देखाएको छ ।वर्षगत रूपमा पक्राउ परेका व्यक्तिको सङ्ख्या निरन्तर बढ्दो देखिन्छ। तथ्यांकले प्रत्येक वर्ष पक्राउ पर्ने सङ्ख्या बढिरहेको देखाउँछ। यसले लागु औषध कारोबारको फैलावट र प्रहरीको निगरानी दुवै बढेको देखिन्छ।
सीमावर्ती नाकाबाट बढ्दो ओसारपसार
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार पछिल्ला वर्षहरूमा सीमावर्ती क्षेत्र हुँदै विभिन्न प्रकारका लागु औषध नेपाल भित्रिने क्रम बढेको छ। उनका अनुसार प्रहरीले सीमा क्षेत्रमा निगरानी र गस्ती बढाएको छ। साथै, लागु औषध नियन्त्रणलाई लक्षित गर्दै विशेष कार्य योजना लागू गरिएको छ।यो अभियान गत चैतको अन्तिम सातादेखि सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
प्रहरीले अब कारोबारीलाई पक्राउ गर्ने मात्र नभई दुर्व्यसनमा फसेका व्यक्तिलाई पुनः स्थापना तथा सुधार केन्द्रसम्म पुर्याउने अभियानलाई पनि प्राथमिकता दिएको छ। प्रहरीले देशका विभिन्न भागबाट गाँजा, चरेश, अफिम, हेरोइन, कोकिन, एम्फेटामिन, इफिड्रिनलगायत विभिन्न प्रकारका लागु औषध नियमित रूपमा बरामद गर्दै आएको छ। त्यस्तै, डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, नाइट्रोभेट, स्पास्मो, कोरेक्स, ट्रामाडोल तथा अन्य मनोप्रभावी औषधिको अवैध कारोबारसमेत नियन्त्रणमा लिँदै आएको छ।
कतिपय जिल्लामा गाँजा र अफिम खेतीलाई आम्दानीको स्रोतका रूपमा प्रयोग गर्ने प्रवृत्ति अझै कायम रहेको प्रहरीको भनाइ छ। यस्तो खेती फेला परेमा फडानी गरिने र खेतीमा संलग्न व्यक्तिसँगै जग्गाधनीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी प्रहरीले दिएको छ।
भारतीय र अन्य विदेशी नागरिक पनि पक्राउ
लागु औषध कारोबारमा विदेशी नागरिकको संलग्नता पनि उल्लेखनीय देखिएको छ। पाँच वर्षको अवधिमा पक्राउ परेका भारतीय नागरिकको संख्या १ हजार ४ सय २ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै ३०५ भारतीय नागरिक पक्राउ परेका थिए भने चालु आर्थिक वर्षमा हालसम्म २ सय ७८ जना पक्राउ परिसकेका छन्। त्यसैगरी भारतबाहेक अन्य मुलुकका १ सय ३ जना विदेशी नागरिक पनि विभिन्न वर्षमा पक्राउ परेका छन्।
अपराध र आत्महत्यासँग सम्बन्ध
प्रवक्ता काफ्लेका अनुसार लागु औषध दुर्व्यसन स्वास्थ्य समस्या मात्र नभई अपराधको प्रमुख कारणसमेत बनेको छ। उनले लागु औषध प्रयोग गर्ने व्यक्तिहरू चोरी, हिंसा तथा अन्य आपराधिक गतिविधिमा बढी संलग्न हुने गरेको बताए। लागु औषध प्रयोगकर्तामाझ आत्महत्याको जोखिम पनि उच्च रहने प्रहरीको भनाइ छ।

उजुरीको संख्या पनि बढ्दो प्रहरीका अनुसार देशभर लागु औषध दुर्व्यसन तथा कारोबारसँग सम्बन्धित उजुरीको संख्या वर्षेनि बढ्दै गएको छ। घटनामा संलग्न व्यक्तिको संख्या बढेसँगै प्रहरीमा आउने सूचनाहरू पनि बढिरहेका छन्। प्रहरी अधिकारीहरूका अनुसार लागु औषधको समस्या अब केवल कानुन कार्यान्वयनको विषय मात्र नभई सामाजिक, शैक्षिक र सार्वजनिक स्वास्थ्यसँग जोडिएको राष्ट्रिय चुनौतीका रूपमा देखा परेको छ। यही कारण नियन्त्रण अभियानसँगै रोकथाम, जनचेतना र पुनः स्थापनामा पनि समान रूपमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
लागु औषध दुर्व्यसन र कारोबारसँग सम्बन्धित घटनाले प्रहरी प्रशासनमाथि दबाब बढाइरहेको छ। देशभरका प्रहरी कार्यालयमा दैनिक रूपमा लागु औषध सेवन, ओसारपसार तथा कारोबारसम्बन्धी उजुरी दर्ता हुने गरेका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा लागु औषधसम्बन्धी ३ हजार १३ वटा मुद्दा दर्ता भएका थिए। यो संख्या आर्थिक वर्ष २०७८/७९ मा बढेर ३ हजार ८५६ पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा ४ हजार १ सय २, आर्थिक वर्ष २०८०/८१ मा ४ हजार ३९८ र आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ६१ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममै ३ हजार ७ सय ६० वटा उजुरी परिसकेको छ। यसले लागु औषधसम्बन्धी अपराध वर्षेनि बढ्दो क्रममा रहेको देखाउँछ ।
प्रहरीले विभिन्न अभियानमार्फत गाँजा, चरेश, अफिम, हेरोइन, कोकिन, एम्फेटामिन, इफिड्रिन तथा विभिन्न मनोप्रभावी औषधि बरामद गर्दै आएको छ। तर बरामद हुने लागुऔषधमध्ये गाँजाको मात्रा सबैभन्दा बढी छ।
आर्थिक वर्ष २०७७/७८ मा ८ हजार २३४ किलो ७७४ ग्राम गाँजा बरामद भएको थियो। त्यसपछि यो मात्रा लगातार बढ्दै गयो। आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ११२ किलो, २०७९/८० मा २० हजार ६६९ किलो, २०८०/८१ मा २६ हजार ४५ किलो र २०८१/८२ मा ५१ हजार ७८३ किलो गाँजा बरामद भएको प्रहरीको तथ्यांक छ। चालु आर्थिक वर्षको हालसम्ममै ४० हजार ३७८ किलोभन्दा बढी गाँजा बरामद भइसकेको छ।
चरेश दोस्रो ठूलो समस्या
गाँजापछि प्रहरीले सबैभन्दा धेरै चरेश बरामद गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा ५११ किलो चरेश बरामद भएको थियो भने २०७८/७९ मा ४७० किलो, २०७९/८० मा ६२९ किलो, २०८०/८१ मा ५०७ किलो र २०८१/८२ मा ८२९ किलो चरेश बरामद भएको छ। चालु आर्थिक वर्षको हालसम्म ४५७ किलोभन्दा बढी चरेश बरामद भइसकेको छ। विशेषगरी पहाडी जिल्लाबाट उत्पादन भई सीमावर्ती क्षेत्र हुँदै भारततर्फ तस्करी हुने चरेश नियन्त्रण प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको छ।

सिन्थेटिक तथा उच्च मूल्यका लागुऔषधको कारोबार पनि बढ्दो देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा ९ किलो २३६ ग्राम हेरोइन बरामद भएको थियो। यो मात्रा आर्थिक वर्ष २०८१/८२ मा पुग्दा ४७ किलो ४४६ ग्राम पुगेको छ। चालु आर्थिक वर्षमा हालसम्म ३४ किलो ९११ ग्राम हेरोइन बरामद भइसकेको छ।
त्यस्तै कोकिन बरामदीमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा ३२ ग्राम कोकिन बरामद भएकोमा २०७९/८० मा १४ किलो ५७० ग्राम र २०८१८२ मा १८ किलो ९९४ ग्राम बरामद भएको थियो। चालु आर्थिक वर्षमा हालसम्म ५ किलो ३०८ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया