काठमाडौं – दसैं नजिकिएसँगै रोजगारी तथा विभिन्न कामका सिलसिलामा सहर बजारमा बस्दै आएका मानिसहरू गाउँघर फर्किन थालेका छन्। चाडपर्व मनाउन घर फर्किने यात्रुको संख्या बढेसँगै राजमार्ग तथा मुख्य सडकमा सवारीसाधनको चाप पनि बढ्न थालेको छ। यात्रुको चापसँगै अन्य विभिन्न कारणले प्रत्येक वर्षका दसैंका समयमा सडक दुर्घटनाको जोखिम बढ्ने गरेको प्रहरी बताउँछन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार दसैंका बेला यात्रु तथा सवारीसाधनको चाप बढ्नु, तीव्र गतिमा सवारी चलाउनु र मादक पदार्थ सेवन गरेर सवारी चलाउनु दुर्घटनाका प्रमुख कारण हुन्। चाडपर्वको रमाइलो गर्ने क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिले पनि दुर्घटनाको जोखिम बढाउने गरेको छ।
गत वर्षका दसैं तथा चाडपर्वका समयमा भएका सवारी दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले यस वर्ष दुर्घटना न्यूनीकरणका लागि विभिन्न सुरक्षा योजना अघि सारेको छ। लामो दूरीको यात्रा, यात्रुको भीड, तीव्र गति र ट्राफिक नियमको उल्लंघनलाई दुर्घटनाको जोखिम बढाउने प्रमुख पक्षका रूपमा हेरिएको छ। गाउँघर तथा सहर बजारमा दसैंको रमाइलो गर्ने भन्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हरेक वर्ष चाडपर्वको समयमा सडक दुर्घटना बढी हुने गरेको छ।
प्रहरीका तथ्यांक अनुसार, बर्सेनिको चाडपर्वको समयमा हुने दुर्घटनाका घटनाहरू बढी रहेको छ। आर्थिक वर्ष २०८१/०८२ को चाडपर्वको तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा २ हजार ४१ वटा बढी दुर्घटनाका घटना भएका छन्। गत आर्थिक वर्ष २०८२/०८३ को असोजमा २ हजार ७५७ र कात्तिकमा ३ हजार ८५ वटा सवारी दुर्घटना भएका थिए। आर्थिक वर्ष २०८१/०८२ को असोजमा १ हजार ८७३ र कात्तिकमा १ हजार ९२८ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पर्ने सवारी साधनमध्ये मोटरसाइकलको संख्या सबैभन्दा धेरै रहेको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्ष २०८२/०८३ को असोजमा २ हजार ४६७ वटा र कात्तिकमा २ हजार ७८५ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए। आर्थिक वर्ष २०८१/०८२ को असोजमा १ हजार ७४३ वटा र कात्तिकमा १ हजार ७६३ वटा मोटरसाइकल दुर्घटनामा परेको छन्।
प्रवक्ता सुवेदीका अनुसार दसैंमा हुन सक्ने सवारी दुर्घटनाका लागि सुरक्षा योजनामा सडक सुरक्षा र नागरिकको सहज यात्रालाई प्राथमिकतामा राखिएको छ। दसैंका समयमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण यात्रु तथा सवारीसाधनको चाप बढ्नु, छिटो गन्तव्यमा पुग्ने क्रममा तीव्र गतिमा सवारी चलाउनु र मादक पदार्थ सेवन गरी सवारी चलाउनु रहेको प्रवक्ता सुवेदीले बताए।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिमाथि निगरानी तथा कारबाहीलाई प्राथमिकतामा राखेको छ। दसैंको समयमा नागरिकले सुरक्षित, सहज र व्यवस्थित रूपमा यात्रा गर्न सकुन् भन्ने उद्देश्यले सुरक्षा योजना कार्यान्वयन गरिएको छ। दसैंमा क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, सवारीसाधनको उचित मर्मत सम्भार नहुनु पनि दुर्घटनाका कारण बन्ने गरेका छन्।
विशेष गरी मोटरसाइकल तथा निजी सवारीसाधन चलाउँदा हेल्मेट र सिटबेल्टको प्रयोग नगर्नु दुर्घटना हुँदा गम्भीर चोटपटकको जोखिम बढाउने कारण बन्ने गरेको छ। साथै, नेपालमा प्रत्येक वर्ष दसैंको समयमा वर्षा हुने गरेको छ। वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा यातायात सञ्चालनमा कठिनाइ उत्पन्न हुने गरेको छ। विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा खोला नजिक निर्माण गरिएका सडक र कमजोर भौगोलिक बनावटका कारण पहिरो तथा बाढीको जोखिम बढी हुने गरेको छ।
नेपालका धेरै सडकको अवस्था अझै पनि सुधार हुन सकेको छैन। साँघुरा सडक, खाल्डाखुल्डी, कमजोर सडक संरचना र उचित मर्मत सम्भारको अभावले गर्दा सडक दुर्घटनाको जोखिम बढ्ने गरेको छ। दसैंमा यात्रुको संख्या धेरै हुने, तर त्यसलाई थेग्न सक्ने सवारी साधन र सडक नहुँदा दुर्घटना हुने गरेको छ। सडकको दुरावस्था, सवारी साधनको नियमित मर्मत सम्भार नहुनु, यात्रुको संख्या बढी हुनु, नियमित रूपमा एक जना मात्रै चालक हुनु। दसैंको बेलामा यात्रुको अत्यधिक चाप हुन्छ।
तर, गाडी थपिएका हुँदैनन्। सडक पहिलेकै जति मात्रै हो। जहाँ सवारी चाप बढ्छ, त्यहाँ दुर्घटनाको सम्भावना यसै पनि बढ्छ। यातायात कम्पनी र चालकहरूको थोरै बढी कमाउने लोभले क्षमताभन्दा बढी यात्रु बोक्न तयार हुने कारणले पनि दुर्घटना निम्तिने गरेको छ।
प्रहरीले दसैंलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका मुख्य १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्नेछ। ती कक्षमा देशभर लागू हुने भाडा दरको सूची राखिनेछ। अनधिकृत व्यक्तिले टिकट काटेको, यात्रुसँग बढी भाडा लिएको, सिट क्षमताभन्दा बढी टिकट काटेको वा एउटै सिटमा क्षमताभन्दा बढी यात्रु राखेको जस्ता गुनासो आए तत्काल सम्बोधन गरिने प्रहरीले जनाएको छ।
दसैंका क्रममा ५० किलोमिटरभन्दा लामो दूरीमा चल्ने सवारीसाधनमा अनिवार्य रूपमा दुई चालक राख्ने व्यवस्था कार्यान्वयन गरिने, मादक पदार्थ तथा लागु औषध सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न सम्बन्धित स्थानमै ब्रेथलाइजर तथा लागु औषध परीक्षण किटमार्फत परीक्षण गरिने लगायतको तयारी प्रहरीको छ।
ट्राफिक प्रहरीले सडकमा गुड्ने सवारीसाधन व्यवस्थित, सुरक्षित र प्राविधिक रूपमा ठिक अवस्थामा छन्, भन्ने सुनिश्चित गर्न चेकजाँचलाई तीव्रता दिएको छ। तीव्र गति नियन्त्रणलगायतका विषयमा पनि चाडपर्वलाई केन्द्रित गरेर विशेष निगरानी बढाइएको छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिमाथि निगरानी तथा कारबाहीलाई प्राथमिकतामा राखेको छ। दसैंको समयमा नागरिकले सुरक्षित, सहज र व्यवस्थित रूपमा यात्रा गर्न सकुन् भन्ने उद्देश्यले सुरक्षा योजना कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया