रवि लामिछाने कारागारबाट निस्कनु फौजदारी अपराधः मानव अधिकार आयोग


काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट बाहिर निस्किएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। सो कार्य मानव अधिकारको हनन मात्र नभइ कारागार ऐन २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको’ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आमनेपाली नागरिकहरुको मानव अधिकार उल्लंघन हुने कार्यमा लामिछाने र नख्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको अनुसन्धानबाट देखिएको प्रतिवेदनमा उल्लेख छ। यसलाई आयोगले मानव अधिकार उल्लंघन मात्र नभई फौजदारी अपराधसमेत भएको जनाएको छ।

‘रवि लामिछाने कारागारबाट बाहिर निस्कनुमा को कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नख्खु कारागारका प्रशासक (जेलर) सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छुटाउन भनी ठूलो समूह सहित गएका तत्कालीन सांसद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरु मनिष झा, हरि ढकाल समेतलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानुनबमोजिम कारबाही गर्न’ सिफारिस गरेको छ।