काठमाडौं – छिटो पैसा कमाउने लोभमा आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा सर्वसाधारण नै कानुनी झमेलामा फस्ने क्रम पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको छ। ‘मनी म्युल’ नामले चिनिने यस्तो गतिविधिमा आपराधिक समूहहरूले अवैध रूपमा कमाएको रकम वैध देखाउन सर्वसाधारणको बैंक खाता प्रयोग गर्ने गरेका छन्।
प्रहरीका अनुसार ठग समूहले सामान्य जागिर खोजिरहेका वा आर्थिक अभावमा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै ‘तपाईँको खातामा आएको पैसा अर्को खातामा पठाइदिनुहोस्, सट्टामा पैसा पाइन्छ’ भन्ने प्रस्ताव राख्छन्। कतिपयलाई ‘अनलाइन काम’ वा ‘ट्रान्सफर जब’ को नाममा प्रलोभन दिइन्छ। यसरी लोभमा पारेर उनीहरूको बैंक खाता प्रयोग गरी अवैध रकम ओसारपसार गरिन्छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रविण धितालका अनुसार, पछिल्लो समय यस्ता घटनामा उल्लेख्य वृद्धि भएको छ। उनका अनुसार धेरैजसो व्यक्तिलाई आफ्नो खाताबाट भइरहेको अवैध कारोबारबारे जानकारी समेत हुँदैन। तर, कानुनले आफ्नो नाममा खोलिएको बैंक खाता अरूलाई प्रयोग गर्न दिनुलाई गैरकानुनी मान्ने भएकाले ‘थाहा थिएन’ भन्ने बहानाले उन्मुक्ति नपाइने उनी बताउँछन्।
धिताल भन्छन्, ‘कुनैपनि खातामा शंकास्पद कारोबार देखिएमा सबैभन्दा पहिले खाताधनी नै अनुसन्धानको दायरामा आउँछन्। पछि मुख्य योजनाकार पत्ता लागे पनि प्रारम्भिक जिम्मेवारी खातावालाकै हुन्छ।’ उनका अनुसार दैनिक जसो ‘केही समयका लागि रकम राखिदिनुहोस्’ वा ‘खाताबाट ट्रान्सफर गरिदिनुहोस्’ भन्ने प्रस्तावका उजुरी आउने गरेका छन् । जसमा सानो रकमको प्रलोभनले धेरैलाई फसाउने गरेको छ।
प्रहरीको अनुभवमा ठगी, अनलाइन स्क्याम र जालसाजीका घटनामा प्रयोग भएका अधिकांश बैंक खाता ‘म्युल खाता’ हुने गरेका छन्। यस्ता खाताले वास्तविक अपराधीसम्म पुग्न अनुसन्धानलाई जटिल बनाउने गरेको पनि प्रहरीले जनाएको छ। यसैबीच गत वर्ष वैशाखमा प्रहरीले मनी म्युलमा संलग्न २१ जनालाई पक्राउ गरेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध वित्तीय कारोबारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा उनीहरूले भन्सार छली, सुनको अवैध कारोबार र कर छली जस्ता गतिविधिमा संलग्न रही सर्वसाधारणका बैंक खातामार्फत रकम चलाएको खुलेको थियो।
उनीहरूले डिजिटल वालेट कम्पनीहरूको नाममा बैंक खातामा रकम जम्मा गरी विभिन्न मनि ट्रान्सफर कम्पनीमार्फत ‘इ–मनी’ बनाएर विदेशबाट आउने रेमिटेन्स जस्तो देखिने गरी रकम स्थानान्तरण गर्ने गरेको पाइएको छ। यसरी विदेशमा रहेका नेपाली कामदार र विद्यार्थीका परिवारलाई रकम पठाइएको देखाएर हिसाब मिलाइन्थ्यो। प्रहरीका अनुसार उक्त समूहले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।
प्रहरीका अनुसार ती व्यक्तिहरूले विभिन्न व्यक्तिको बैंक खाता र डिजिटल वालेट प्रयोग गरेर करिब १० करोड रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको तथ्य अनुसन्धानका क्रममा खुलेको छ।
प्रहरीले सर्वसाधारणलाई आफ्नो बैंक खाता, एटिएम कार्ड, पासवर्ड वा ओटीपी कसैलाई पनि नदिन आग्रह गरेको छ। ‘सामान्य देखिने प्रस्तावले पनि ठुलो कानुनी जोखिम निम्त्याउन सक्छ,’ भन्दै प्रहरीले सचेत रहन सबैलाई आग्रह गरेको छ। पछिल्लो समय प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने क्रमसमेत तीव्र पारेको छ।
गत वर्ष कात्तिकमा प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको थियो। उनीहरूले वीरगन्ज महानगरपालिका–८ क्षेत्रबाट सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर बैंक खाताहरू खोलाउन लगाउने र ती खातामार्फत ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। सामाजिक सञ्जालमार्फत ‘फिसिङ’, ओटीपी ठगी, ‘जव स्क्याम’, नक्कली अनलाइन व्यवसाय तथा एआई प्रयोग गरेर विभिन्न कम्पनीका कागजात र अर्डर बिल तयार गरी ठगी गर्ने उनीहरूको शैली रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती व्यक्तिहरूले विभिन्न व्यक्तिको बैंक खाता र डिजिटल वालेट प्रयोग गरेर करिब १० करोड रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको तथ्य अनुसन्धानका क्रममा खुलेको छ। पछिल्लो समय यस्ता घटनाका उजुरीहरू उल्लेख्य रूपमा बढेको प्रहरी अधिकारीहरू बताउँछन्। तर, मनी म्युलसम्बन्धी छुट्टै तथ्यांक नराखिने र यी घटनाहरू बैंकिङ्ग कसुरअन्तर्गत समेटिने प्रहरी स्रोतको भनाइ छ। नेपाल राष्ट्र बैंकले पनि मनी म्युलका जोखिमबारे पटक–पटक चेतावनीमूलक विज्ञप्ति जारी गर्दै आएको छ।
प्रहरीका विभिन्न निकायले पनि मनी म्युलसम्बन्धी सचेतना बढाउन अभियान सञ्चालन गरिरहेका छन्। नेपाल प्रहरी साइबर ब्युरोले सार्वजनिक गरेको भिडियो सन्देशमा सानो कमिसनको लोभमा आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा व्यक्ति नै अवैध कारोबारको माध्यम बन्ने र कानुनी कारबाहीमा पर्न सक्ने चेतावनी दिइएको छ। प्रहरीका अनुसार कतिपय घटनामा व्यक्तिहरू आफू मनी म्युल बनेको थाहा नपाई नै कानुनी दायरामा पर्ने गरेका छन्। बैंकिङ्ग कसुर, ठगी र जालसाजीजस्ता मुद्दामा यस्ता खाताहरू प्रयोग हुने र अनुसन्धानको दायरामा आउने गरेको छ।
खातावालकै नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य गर्ने, पहिचान प्रमाणीकरण प्रक्रिया कडा बनाउने लगायतका उपाय लागू गर्न थालिएको छ। यसले नक्कली खाता खोल्ने तथा दुरुपयोगका घटनामा कमी आउने अपेक्षा गरिएको छ।
यससँगै, संगठित समूहहरूले व्यक्तिको नागरिकता विवरण, फोटो र मोबाइल नम्बर दुरुपयोग गरेर नक्कली बैंक खाता खोल्ने प्रवृत्ति पनि बढ्दो छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रविण धितालका अनुसार कतिपय अवस्थामा वास्तविक व्यक्तिलाई आफ्नै नाममा खाता खोलिएको जानकारीसमेत हुँदैन। बैंकहरूमा यस्ता खाताबारे समयमै सूचना नपुग्दा समस्या थप जटिल बन्ने गरेको उनले बताए।

धितालका अनुसार खाता खोल्दा प्रयोग हुने कागजात र पहिचानका आधारमा खातावाल व्यक्ति नै कानुनी रूपमा जिम्मेवार ठहरिने भएकाले व्यक्तिगत विवरण सुरक्षित राख्न अत्यन्त आवश्यक छ। यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले खाता खोल्ने प्रक्रियामा थप कडाइ गर्ने नीति अघि सारेका छन्। खातावालकै नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य गर्ने, पहिचान प्रमाणीकरण प्रक्रिया कडा बनाउने लगायतका उपाय लागू गर्न थालिएको छ। यसले नक्कली खाता खोल्ने तथा दुरुपयोगका घटनामा कमी आउने अपेक्षा गरिएको छ।



About Us
प्रतिक्रिया