महावाणिज्यदूतको सक्रियताः सेवाप्रवाह सुधारका लागि नेपाली समुदायसँग छलफल


काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली महावाणिज्यदूतावासले कार्य सञ्चालनको एक वर्ष पूरा हुन लागेको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए),नेपाली समाज तथा विभिन्न नेपाली संघ–संस्थाका नेतृत्वसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण, आपत्कालीन सहायता तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा सुझाव आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ।

छलफलमा सहभागीहरूले सेवाप्रवाहलाई अझ प्रभावकारी, सहज र समुदायमैत्री बनाउन विभिन्न सुझाव दिएका थिए। महावाणिज्यदूतावासले प्राप्त सुझावहरूको स्वागत गर्दै सहभागी सबैप्रति आभार व्यक्त गरेको छ। साथै, नेपाली समुदायसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

कार्यभार सम्हालेको करिब एक वर्षको अवधिमा महावाणिज्यदूतको सक्रिय पहलले नेपाली समुदायसँगको समन्वय र संवादलाई थप मजबुत बनाएको भन्दै सहभागीहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए। महावाणिज्यदूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमसम्बन्धी सेवा तथा आपत्कालीन कन्सुलर सहायता उपलब्ध गराउँदै आएको छ।