काठमाडौं – जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका ठगी तथा बैंकिङ्ग कसुरसम्बन्धी मुद्दाका प्रतिवादी रबिन्द्र बज्राचार्य र गौरी प्रभा श्रेष्ठ पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भक्तपुरको कमलबिनायक क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार वज्रयान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना तथा ठगी गरेको आरोपमा उनीहरु फरार रहेका थिए। बज्राचार्य विभिन्न ठगी तथा बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा फरार रहेको र श्रेष्ठ ठगीसम्बन्धी कसुरमा फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त कालीमाटीमा वज्रयान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ५ करोड २८ लाख ७२ हजार रुपैयाँ रकम हिनामिना तथा ठगी गरेको आरोपमा उनीहरुविरुद्ध उजुरी दर्ता भएको थियो। यस्तै, सोही वृत्तमा परेको अर्को जाहेरीअनुसार रोशनी तारा बज्राचार्यलाई २ करोड १० लाख रुपैयाँ ठगी गरेको आरोपमा पनि उनीहरु फरार रहेका थिए।
त्यसैगरी, बज्राचार्यमाथि प्रहरी वृत्त जनसेवामा बैंकिङ्ग कसुर मुद्दामा २५ लाख १६ हजार रुपैयाँ बिगो कायम भएको प्रहरीले जनाएको छ।
पक्राउपछि बज्राचार्यलाई पुनः केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं पठाइएको छ, भने श्रेष्ठलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहल पठाइएको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया