पटक-पटक राष्ट्र बैंकलाई अटेरी गर्दै प्रभु बैंक, तत्कालिन सीईओ शेरचनले तिरे ५ लाख जरिवाना


काठमाडौं – प्रभु बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले प्रभुलाई गत आर्थिक वर्षको चौथो त्रैमासमा कारबाही गरेको हो ।

प्रभु बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा देखिएका गम्भीर प्रकृतिका कमजोरीहरु समयमै सुधार गर्न बैंक अग्रसर नभएकोले उक्त बैंकको सञ्चालक समितिलाई यस अघि सचेत गराएको थियो । त्यतिबेला देखिएको कैफियत समयमै सुधार गर्न सुधारको योजना तर्जुमा गरी लागू गर्न समेत बैंकको सञ्चालक समितिलाई निर्देशन दिएको थियो ।

तर, २०८१ चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा २०८२ मा गरिएको उक्त बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा समेत उल्लेखित कैफियतहरुमा अपेक्षित सुधार नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन समेत) को दफा १०० को उपदफा १ को खण्ड (ख) बमोजिम सुधारात्मक कदम चाल्नका लागि प्रभु बैंक लिमिटेडको सञ्चालक समितिलाई कबुलियतनामा गराएको हो ।

यस्तै, प्रभुले विगतमा समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनहरुमा कर्जाका सम्बन्धमा दिइएका अधिकांश निर्देशनहरुको समेत पालना नगरेको पाइएको छ । बैंकले राष्ट्र बैंकबाट जारी भएका निर्देशनहरु पटक–पटक उल्लंघन गरेको केन्द्रीय बैंकले जनाएको छ । बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार अघिल्लो निरीक्षण प्रतिवेदनमा उल्लिखित अधिकांश कैफियतहरु सुधार नगरेको, यस बैंकबाट जारी एकीकृत निर्देशन, २०८१ को इ.प्रा.निर्देशन नं २ बमोजिम कर्जाहरुको वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

यता, बैंकले राष्ट्र बैंकमा पेश गरेको कर्जा सम्बन्धी विवरण बैंकको कोर बैंकिङ्ग सिस्टमबाट प्राप्त हुनेकर्जा विवरण भन्दा फरक हुने गरी पेश गरेको थियो । यो सरासर नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन उल्लंघन हो । यही कारण केन्द्रीय बैंकले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसमेत) को दफा १०० उपदफा २(ग) बमोजिम ५ लाख रुपैँया नगद जरिवाना गराएको हो ।