४९ जना जुवाडे पक्राउ, १४ लाख ६३ हजार बरामद 


काठमाडौं – देशभरका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४९ जना पक्राउ परेका छन्। काठमाडौंको महानगरपालिका– १६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको ग्राउण्डमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्याम समेत २४ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली ९ लाख ६० हजार ५ सय रुपैयाँ, ४ सय ६० अमेरिकी डलर, भारतीय ५ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो। 

यसैगरी, काठमाडौं महानगरपालिका– १६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका–३ घर भएका ३० वर्षीय कृष्ण गुरूङ समेत १३ जनालाई शुक्रवार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९३ हजार १ सय ८५ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। 

सर्लाहीको ईश्वरपुर नगरपालिका– १ शंकरपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका– ६ बस्ने ६३ वर्षीय पदम बहादुर लामा समेत ७ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ४ सय २५ रुपैयाँ र ६ थान कौडासहित पक्राउ गरेको हो। 

नुवाकोटको लिखु गाउँपालिका– ४ चौघडाबाट जुवातास खेलिरहेको अवस्थामा सूर्यगढी गाउँपालिका– ५ बिंगोर बस्ने ४३ वर्षीय बिबेक पाण्डे समेत ५ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७५ हजार ४ सय ३५ रुपैयाँ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।