काठमाडौं – विदेशमा बसोबास गर्ने व्यक्तिहरूको फेसबुक आईडी ह्याक गरी नेपालमा रहेका आफन्तसँग रकम मागेर ठगी गरेको आरोपमा दुई भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, बेतियाका ताहिर हुसेन र कटिहार जिल्लाका मोहम्मद सावुदिन (गुड्डु) मोरङका जफर आलम र फैयाज खान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विदेशमा रहेका व्यक्तिको फेसबुक आईडी ह्याक गरी नेपालमा बस्ने आफन्त तथा परिवारका सदस्यलाई विभिन्न समस्या परेको बहाना बनाई रकम माग्ने गरिएको थियो। उनीहरूले पीडितलाई विभिन्न बैंक खाताका क्यूआर कोड पठाएर रकम जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
यसरी पीडितबाट कुल ४ लाख ४५ हजार रुपैयाँ ठगी तथा स्क्याम गरिएको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०८३ मंसिर ४ गते विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया