बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सरकारको लागि आन्तरिक ऋण उठाउन सोमबार ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ९ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब ३३ करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी साउन २ गते, ९१ दिन अवधिको ट्रेजरी असोज २ गते, १८२ दिन अवधिको पुस ३ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ असार ५ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ८ अर्ब ५० करोड रुपैयाँ, १८२ दिन अवधिको ४ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल २८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।
बैंकका अनुसार कूल ट्रेजरी मध्ये २३ अर्ब ८६ करोड रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको हो । कूल निष्कासित बिलमध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत बिना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया