नेप्सेमा उतारचढावबिच १६.४२ अंकको दोहोरो वृद्धि, कारोबार रकम पनि उल्लेख्य बढेर ५ अर्ब माथि पुग्यो

नेप्सेमा उतारचढावबिच १६.४२ अंकको दोहोरो वृद्धि, कारोबार रकम पनि उल्लेख्य बढेर ५ अर्ब माथि पुग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज उतारचढावका बिच दोहोरो अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से १६.४२ अंकले बढेर २ हजार ३७ दशमलब ०६ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से ३४.१७ अंकले बढेर २ हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा सामान्य अंकको वृद्धि भएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भई ५ अर्ब भन्दा माथि पुगेको छ । आज नेप्सेमा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ भने ९१ कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर ९४५.४० रुपैयाँ पुगेको छ भने सिटी होटल्सको शेयरमूल्य ९.९५ प्रतिशतले बढेर १६२.५० रुपैयाँ पुगेको छ ।

आज राष्ट्रिय बीमा कम्पनी र मोलुङ्ग हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढिले घटेको छ । 

त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज २८ करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।