आगामी वर्षको बजेट सन्तुलित नदेखिएको सांसदहरूको टिप्पणी

आगामी वर्षको बजेट सन्तुलित नदेखिएको सांसदहरूको टिप्पणी


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलित नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनीहरूले वर्तमान आर्थिक समस्याको दीर्घकालीन समाधान खोज्ने र वितरणमुखी कार्यक्रमलाई निरुत्साहित हुनेगरि बजेटमा समेट्न सुझाए ।

सांसद महेन्द्रबहादुर शाहीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नरहेको बताए । उनले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नदेखिएको जिकिर गरे । सांसद शाहीले भने, ‘बजेट असन्तुलित छ । नीति तथा कार्यक्रम र बजेटमा तालमेल देखिदैन । बजेट मन्त्री र पहुँचवालाको क्षेत्रमा बढी वितरण भएको देखिन्छ । यो प्रवृत्ति रोकिनुपर्छ ।’

सांसद शाहीले विकास पूर्वाधारमा पछि परेको कर्णाली क्षेत्रमा बजेट कम भएको गुनासो गरे । कर्णालीको विकास र समृद्धिका लागि बजेटले प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । सांसद शिशिर खनालले बजेटमा वातावरणीय प्रभाव स्थिर, वनमा सहजिकरण, ‘स्टार्टअप र इन्नोभेसन’ लाई प्राथमिकता, वैदेशिक लगानी भित्र्याउनेजस्ता कार्यक्रम समेटिए पनि केही अपुग विषयलाई समेट्न सकेका खण्डमा बजेट प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनले यस वर्षको राजस्व संकलन लक्ष्यमा पुग्न नसक्ने देखिएको र अर्थतन्त्र सुधारका प्रभावकारी कार्यक्रम आउन नसकेको उल्लेख गर्दै संघीयता सरलीकरणका लागि बजेटले प्राथमिकता नदिएको बताए। उनले गुणस्तरीय शिक्षा, सहरमा ठूला विद्यालय निर्माण, सहरी व्यवस्थापनलगायत कार्यक्रमलाई बजेटले ध्यान नदिएको बताए ।