राष्ट्र उत्थान लघुवित्तको साधारणसभा असार १६ मा, आशा लघुवित्तसँगको मर्जर पारित गर्ने

राष्ट्र उत्थान लघुवित्तको साधारणसभा असार १६ मा, आशा लघुवित्तसँगको मर्जर पारित गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा असार १६ गते गर्ने भएको छ । सभा होटल अरनिको धुलिखेल, काभ्रेपलाञ्चोकमा अपराह्न १ बजे सुरु हुने जानकारी कम्पनीले दिएको छ ।

सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ । मर्जर प्रयोजनका लागि हालसम्म भएको सहमति र सम्झौता पनि सभाले अनुमोदन गर्नेछ ।

त्यस्तै सभाले मर्जर प्रयोजनका लागि तय भएको १ः१ शेयर स्वाप रेसियो पनि पारित गर्नेछ । मर्जरपछि ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रीय कार्यालय काभ्रेको बनेपा-१३ साँगामा रहने विशेष प्रस्ताव पनि पारित गर्नेछ । 

संस्थाको चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँबाट वृद्धि गरी २६ करोड रुपैयाँ र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ । 

साधारणसभा प्रयोजनार्थ संस्थाले असार ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको आधारमा असार ४ गतेसम्म कायम शेयरधनी साधारणसभामा भाग लिन पाउनेछन् ।