निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क ३२ अर्बमाथि, शिखर इन्स्योरेन्स सबैभन्दा अब्बल

निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क ३२ अर्बमाथि, शिखर इन्स्योरेन्स सबैभन्दा अब्बल


बैंकिङ्ग समाचार, काठमाडौं ।
निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाखसम्ममा ३२ अर्बमाथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कम्पनीहरुले यस अवधिसम्मा ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । 

यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीले यस त्रैमाससम्मको अवधिमा ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा प्राधिकरणका अनुसार यस अवधिमा नेको इन्स्यारेन्सले २ अर्ब ४५ करोड ९३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २ करोड ५१ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्स कम्पनीले १ अर्ब ९८ करोड ८० लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्यारेन्स कम्पनीले १ अर्ब ८२ करोड ५ लाख रुपैयाँ र अजोड इन्स्यारेन्स कम्पनीले १ अर्ब ७१ करोड २६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड १० लाख रुपैयाँ र नेपाल इन्स्यारेन्स कम्पनीले १ अर्ब २७ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यसका साथै युनाइटेड इन्स्योरेन्सले १ अर्ब १५ करोड ५४ लाख बीमाशुल्क संकलन गरेको छ भने दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब १६ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १५ करोड ८९ लाख रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यी दुई कम्पनी एक आपसमा मर्ज भई बैशाख २६ गतेदेखि आईजीआई प्रुडेसिन्यल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गरिसकेका छन् । एकीकृत कारोबार पछि बनेको यस कम्पनीले २ करोड ९१ लख ८२ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा कमजोर नेशनल इन्स्योरेन्स कम्पनी देखिएको छ, यस कम्पनीले बैशाख मसान्तसम्म ८२ करोड ४२ लाख बीमा शुल्क संकलन गरेको छ ।